महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा कात्तिक २९ देखि हुने भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र विकास सहकार्यबारे अनुभव आदानप्रदान तथा छलफल हुने बताइएको छ ।
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा २० सदस्यीय टोली आगामी २९ कात्तिकदेखि चीन भ्रमणमा जाने भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपा टोली चीन जान लागेको हो ।
रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायत विषयमा अनुभव आदानप्रदान तथा छलफल हुनेछ ।
नेपाल र चीनबीच राजनीतिक संवाद, आपसी समझदारी र विकास सहकार्यलाई थप सुदृढ गर्ने अवसरका रूपमा दुवै दलले यस भ्रमणलाई लिएको विज्ञप्तिमा उल्लेख छ ।
२० सदस्यीय प्रतिनिधिमण्डलमा रास्वपाका सांसदहरू गणेश पराजुली, हरि ढकाल, कवीन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैद्यिक, रिमा विश्वकर्मा, रमेशकुमार सापकोटा र गजला शमीम मिकरानी छन् ।
त्यस्तै धनञ्जय रेग्मी, श्रीराम न्यौपाने, राम लामा, पूनमकुमारी अग्रवाल, आनन्दबहादुर चन्द, सुजाता तामाङ, पुष्पाकुमारी चौधरी, अरविन्द शाह र रत्न थापा पनि टोलीमा छन् ।
प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारले आर्थिक तथा कूटनीतिक सम्बन्ध सुदृढ गर्ने प्रयासस्वरूप चीनलगायत नेपालका प्रमुख विकास साझेदार मुलुकसँग सम्बन्ध विस्तार गर्न खोजिरहेका बेला यो भ्रमण हुन लागेको हो ।