Trending
Prev Story
Next Story

कोपमा नेपालसहितका पर्वतीय देशका मुद्दा कम प्राथमिकतामा

Ekantipur •
November 12, 2026 • 01:32 PM
1
1 reads 0 reactions

जलवायु परिवर्तनबाट भएको क्षतिबापत् प्राप्त हुने हानी तथा नोक्सानी कोषको वित्तिय सहयोगमा छिटो पहुँच पुर्‍याउने र हिमालसँग सम्बन्धित जोखिमका मुद्दाहरुलाई कोप ३१ मा उठाएर विश्व समुदायमा दबाब सिर्जना गर्ने लक्ष्य नेपालको छ

कोपमा नेपालसहितका पर्वतीय देशका मुद्दा कम प्राथमिकतामा

जलवायु परिवर्तनबाट भएको क्षतिबापत् प्राप्त हुने हानी तथा नोक्सानी कोषको वित्तिय सहयोगमा छिटो पहुँच पुर्‍याउने र हिमालसँग सम्बन्धित जोखिमका मुद्दाहरुलाई कोप ३१ मा उठाएर विश्व समुदायमा दबाब सिर्जना गर्ने लक्ष्य नेपालको छ

काठमाडौँ — अन्ताल्यमा जारी कोप ३१ सम्मेलनका दौरान बिहीबार नेपाल, भुटान, किर्गिज गणतन्त्र, ताजकिस्तान र पाकिस्तानले संयुक्त रूपमा एक विशेष कार्यक्रम आयोजना गरे । जलवायु संकटबाट उच्च  प्रभावित पर्वतीय देशहरूको एजेन्डालाई बहसको केन्द्रमा ल्याउनु यस कार्यक्रमको प्रमुख उद्देश्य थियो ।

सम्मेलनको अध्यक्षता आयोजक टर्कीले गरेको छ भने वार्ताको नेतृत्व अष्ट्रेलियाले गरिरहेको छ । विगतका जलवायु प्रतिबद्धताहरूलाई कार्यान्वयनमा लैजाने र विकासशील देशहरूका लागि सहयोग बढाउने कुरामा नै अहिलेका वार्ताहरु केन्द्रित छन् । नेपाललगायत पर्वतीय देशहरुले अघि सारेका हिमाली–पहाडी क्षेत्रसँग सम्बन्धित मुदहरु भने कम प्राथमिकतामा परेका छन् ।

जलवायु परिवर्तनका लागि संयुक्त राष्ट्रसंघीय अवधारणाको दायराभित्र पर्वतीय एजेन्डालाई अगाडि बढाउने, हिमाली–पहाडी समुदाय र पारिस्थितिक प्रणालीको लचिलोपनप्रति राजनीतिक प्रतिबद्धता सुदृढ गर्ने, हिमनदी र हिमक्षेत्रको संरक्षण गर्ने तथा अनुकूलन, विपद् जोखिम न्यूनीकरण र पूर्वसूचना प्रणालीमा स्रोतसाधन जुटाउने लक्ष्यका साथ नेपाल, भूटानसहितका पर्वतीय देशहरुले साझा लक्ष्य तय गरेका हुन् ।

जलवायु परिवर्तनबाट भएको क्षतिबापत् प्राप्त हुने हानी तथा नोक्सानी कोषको वित्तिय सहयोगमा छिटो पहुँच पुर्‍याउने र हिमालसँग सम्बन्धित जोखिमका मुद्दाहरुलाई कोप ३१ मा उठाएर विश्व समुदायमा दबाब सिर्जना गर्ने लक्ष्य नेपालको छ ।

नेपालको एजेन्डामा छलफल भइ नै रहेकाले अन्तिम घोषणापत्र जारी हुँदासम्म यस विषयमा केही न केही सम्बोधन हुने विशेषज्ञहरुको आशा छ । सम्मेलनभर नेपाली प्रतिनिधिमण्डलसँग निरन्तर संवाद गर्ने आश्वासन टर्कीले नेपाललाई दिएको परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन् ।

यसअघि कोप ३१ को आयोजक राष्ट्र टर्कीको अनादोलु न्युज एजेन्सीलाई दिएको अन्तर्वार्तामा खनालले नेपाल र भुटानले छुट्टै पर्वतीय एजेन्डाको प्रस्ताव पेस गरे पनि प्रारम्भिक वार्तामा त्यो औपचारिक रूपमा स्वीकृत नभएको बताएका थिए ।

वैश्विक तापक्रम वृद्धि र पर्वतीय क्षेत्रमा यसका परिणामहरूबारे अध्ययनका लागि नेपालले अनुसन्धान र प्राविधिक सहयोगको माग गरिरहेको छ । जसले प्रभावित समुदायहरूलाई भविष्यका विपद्हरूमा अझ राम्रो तयारी गर्न सहयोग पुर्‍याउनेछ ।

‘हामी अनुसन्धान चाहन्छौँ, हामी प्राविधिक सहयोग चाहन्छौँ,’ मन्त्री खनालले भने ।

‘यो विषय वार्ताको प्रक्रियामा छ र हामी आफ्नोतर्फबाट सक्दो प्रयास गरिरहेका छौ“,’ अन्ताल्याबाट कान्तिपुरसँग कुरा गर्दै कृषि, वन तथा वातावरण मन्त्रालयका सहसचिव महेश्वर ढकालले भने, ‘घोषणापत्रमा केही न केही कुरा झल्किनेछ र हामी अहिले विभिन्न प्रस्तावहरूमाथि वार्ता गरिरहेका छौ“ ।’

सम्मेलनमा नेपाल, भुटानलगायत पर्वतीय देशहरूले महत्वाकांक्षी न्यूनीकरणको माग गरेका छन् । जसमा १.५ डिग्री सेल्सियसको तापक्रम सीमासँग मेल खाने गरी तीव्र रूपमा उत्सर्जन कटौती गर्ने, कालो कार्बनजस्ता अल्पकालीन जलवायु प्रदूषकहरूलाई नियन्त्रण गर्न र संवेदनशील पर्वतीय पारिस्थितिक प्रणालीको रक्षा गर्ने प्रतिवद्धता विश्व समुदायबाट चाहेका छन् । त्यस्तै, दिगो वित्तपोषण, हानी तथा नोक्सानीको प्रभावकारी व्यवस्थालगायत विषय छलफलमा छन् ।

तर, नेपालजस्ता हिमाली–पहाडी देशहरुका मागलाई केही विकसित र उन्नत राष्ट्रहरुले असफल बनाउने प्रयास गरिरहेको अन्ताल्यामा रहेका एक नेपाली अधिकारीले बताए ।

‘केही विकसित र उन्नत राष्ट्रहरूले हाम्रा प्रयासहरूलाई असफल पार्ने प्रयास गरिरहेका छन्,’ उनले भने, ‘हाम्रा माग र एजेन्डालाई अन्तिम परिणाम दस्तावेजमा समेट्न हामीलाई निकै कठिन भइरहेको छ ।’ यसअघि अन्ताल्यामै रहेका सांसद् सागर ढकालले पनि नेपालका मागहरुलाई टेबुलमा राख्न र पास गराउन हरसंभव प्रयास गरेपनि सफल हुन नसकेको बताएका थिए । ‘दुर्भाग्यवश, सोमबार उद्घाटनअघि मध्यरात २ बजेसम्म पनि हामी वार्तामै थियौं । तर, विकसित देशहरूले यो प्रस्ताव बारम्बार अस्वीकार गरे । अन्ततः यो एजेन्डा वार्ताको कागजातबाटै हटाइयो ।’

यद्यपी, नेपालले आगामी वर्ष इथियोपियाको आदिस अबाबामा हुने सम्मेलनमा पनि यी विषय उठाउने उनले बताए । ‘हामी यो गतिशीलता कायम राख्नेछौं र इथियोपियाको आदिस अबाबामा हुन कोप ३२ मा यस्तो अवस्था नआओस् भनेर आफ्नोतर्फबाट सक्दो प्रयास गर्नेछौ ।’

कोप३१ अघि, नेपाल र भुटानको तर्फबाट कृषि, वन तथा वातावरण मन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु प्रमुखलाई पत्र लेखेर पर्वतीय देशहरूको एजेन्डा समावेश गर्न आग्रह गरेकी थिइन् ।

आर्थिक सहयोग तथा विकास संगठनले सन् २०३० सम्म जलवायु परिवर्तन न्यूनीकरणका लागि वार्षिक ५ ट्रिलियन अमेरिकी डलर वैश्विक वित्तपोषण आवश्यक पर्ने प्रक्षेपण गरेको छ । यसमध्ये सन् २०३० भित्र  विकासशील अर्थतन्त्रहरूमा मात्रै वार्षिक २.४ ट्रिलियन अमेरिकी डलर आवश्यक पर्ने अनुमान लगाइएको छ ।

‘हाम्रा सामूहिक वातावरणीय लक्ष्यहरू हासिल गर्न, जलवायु परिवर्तनविरुद्ध लड्न र दिगो तथा लचिलो आर्थिक प्रणालीहरू निर्माण गर्नका लागि जलवायु–मैत्री, प्रकृति–सकारात्मक र दिगो मार्गहरूतर्फ निजी लगानीलाई तीव्र पार्नु तथा हानिकारक गतिविधिहरूबाट टाढा हट्नु आवश्यक छ,’ संगठनले भनेको छ ।

अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
17h ago
नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालद्वारा पर्वतीय क्षेत्र तथा जलवायु परिवर्तनको मुद्दालाई संस्थागत एजेन्डा बनाउन आग्रह

नेपालले पर्वतीय क्षेत्र र जलवायु परिवर्तनका मुद्दालाई संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धि (यूएनएफसीसीसी) अन्तर्गतको वार्तामा स्थायी तथा संस्थागत एजेन्डाका रूपमा स्थापित गर्न आग्र...

#जलवायु #पर्वतीय #परिवर्तन
Compare →
Nagarik News
2h ago
पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

पाँच मन्त्री सहभागी कोप-३१ सम्मेलनमा नेपालका मुद्दाको प्रवेश कति ?

सम्मेलनको मूल कार्यक्रम र साइडलाइन छलफलमा नेपालका पाँच मन्त्री सहभागी भएपछि उनीहरूको उपस्थितिसँगै त्यहाँ उठाइएका विषय र सहभागिताको औचित्यबारे पनि चर्चा सुरु भएको छ।

#जलवायु #कोप #मुद्दा
Compare →
Bizshala
6h ago
कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

कोप–३१ मा नेपालको हिमाली एजेन्डामा चुनौती, जलवायु संकटका पाँच मुद्दामा विश्वको साथ जुटाउन कठिन

काठमाण्डौ । जलवायु परिवर्तनको सबैभन्दा बढी मार खेपिरहेका मुलुकमध्ये एक नेपालले अन्तर्राष्ट्रिय जलवायु सम्मेलन...

#जलवायु #कोप #मुद्दा
Compare →
Onlinekhabar
1h ago
कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

कोप–३१ मा सहभागी भएर परराष्ट्रमन्त्री खनाल स्वदेश प्रस्थान

२७ कात्तिक, टर्किए । परराष्ट्रमन्त्री शिशिर खनाल संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी ३१औं सम्मेलन (कोप–३१) मा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरी टर्किएको अन्ताल्याबाट स्वदेश फर्किएका छन् । नोभेम्बर ९ देखि २० सम्म टर्कीमा आयोजना भइरहेको कोप–३१ का विभिन्न …

#जलवायु #कोप
Compare →

Related Stories

World News
Build #2611