सिदिङ्वा गाउँपालिकाका १० जना किसानले १६ हजार बिरुवा हुर्काएर उत्पादन गरेको फूल फुङलिङमा प्रतिकिलो दुई सय रुपैयाँमा बेच्ने तयारी गरेका छन् ।
ताप्लेजुङ — सिदिङ्वा गाउँपालिका–४ साब्लाखु भन्ज्याङकी सावित्रा गौतमले यस वर्ष आफ्नो कोदो फल्ने टारबारीमा सयपत्री फुलाएकी छन् । त्यही सयपत्रीका थुँगा समाउँदै टिकटक बनाउने र सामाजिक सञ्जालमा पोस्ट गर्ने गरेकी छन् । उनको टिकटक र फेसबुकमा ‘आहा ! कति राम्रो’ भन्ने प्रतिक्रिया आइरहेका छन् । लाइक पनि उत्तिकै छन् । तर, सावित्राको मनमा भने एउटा चिन्ता छ– तिहारसम्म आफ्नो टारबारीमा फुलेका फूल बिक्लान् कि नबिक्लान् ? कोदोले जति आम्दानी गर्लान् कि नगर्लान् ?
उनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘सयपत्री फूलको सुगन्ध, तिहारको उमङ्ग, चारैतिर ढकमक्क फुलेका सयपत्री फूलको मनमोहक प्राकृतिक सौन्दर्य । नजिकिँदै गरेको नेपालीहरूको महान् चाड शुभ दीपावली तथा छठ पर्वमा सयपत्री फूल आवश्यक परेमा हामीलाई सम्पर्क गर्न सक्नुहुनेछ ।’
यस वर्ष सिदिङ्वा गाउँपालिकाका १० जना किसानले १६ हजार बिरुवा हुर्काएर सयपत्री फुलाएका छन् । किसानको चाहनालाई सम्बोधन गर्दै गाउँपालिकाको आर्थिक विकास शाखाले बाहिरबाट फूलका बिरुवा आयात गरिदिएको हो । फूल आकर्षक देखियोस् र कुनै पनि फूल नबिग्रियोस् भनेर थाइजनिक जातको सयपत्री भित्र्याइएको थियो । सिँचाइ र जैविक विषादीमा पनि गाउँपालिकाका प्राविधिकले सहयोग गरेका थिए । आर्थिक विकास शाखाका प्रमुख विकास थेवे सोचे र लगानी गरेअनुसार नै फूल फुलेको बताउँछन् । तर, अब उनलाई पनि बजारकै चिन्ता छ ।
बजार खोज्न चार जना किसानसँगै विकास पनि बिहीबार सदरमुकाम फुङलिङ पुगे । सदरमुकाममा सञ्चालित चारवटा तरकारी पसलमा सम्पर्क गरेर आफूहरूले उत्पादन गरेको फूल खरिद तथा बिक्री गरिदिन अनुरोध गरे । पसलेहरूले पहिलो अभ्यास भएकाले तत्कालका लागि थोरै मात्र खरिद गर्न सकिने प्रतिक्रिया दिएको वसन्त बताउँछन् । ‘कृषि ज्ञान केन्द्र ताप्लेजुङ र व्यापारीहरूको समेत रायअनुसार शनिबार एक क्विन्टल फूल बिक्रीका लागि ल्याउँछौं,’ वसन्तले भने, ‘त्यसपछि अर्को दिन थप ल्याउने योजना छ ।’ सिदिङ्वामा ठूला थुँगा मात्रै टिप्दा कम्तीमा ४० क्विन्टल हुने वसन्त बताउँछन् ।
अर्का किसान देसाङ लिम्बूका अनुसार सदरमुकाम फुङलिङमा प्रतिकिलो दुई सय रुपैयाँमा फूल बिक्री गर्ने तयारी छ । ‘झापाको बिर्तामोड पुर्याउँदा चार सय रुपैयाँ किलोमा बिक्री हुने रहेछ,’ देसाङले भने, ‘तर आफ्नै बजारलाई दिगो बनाउनु राम्रो हुने भएकाले हामीले ताप्लेजुङकै बजार रोजेका छौं ।’
तिहारमा सबै फूल बिक्री नभए पाथीभरा पुर्याएर माला बनाई बिक्री गर्ने मनस्थिति किसानले बनाएका छन् । ‘दुई सय रुपैयाँमा बिक्री गर्दा सायदै तिहारपछिका लागि रहला भन्ने लागेको छैन,’ अर्का किसान दयाराम गौतमले भने, ‘यदि रह्यो भने विकल्प खोज्छौं ।’
फूल बिक्री भइसकेपछि मात्रै लागत र प्रतिफलका विषयमा यकिन गर्न सकिने किसानले बताएका छन् । सिदिङ्वा गाउँपालिकाले यसअघि देखि नै निगुरोलगायतका तरकारी पनि उत्पादन र बिक्री गर्दै आएको छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।