गत असोज १० को हावाहुरीले जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन् । उत्पादन नष्ट हुँदा उनीहरुलाई परिवारको खर्च र लगानी जुटाउन संकटमा भएको छ।
सल्यान — कपुरकोट गाउँपालिका–१ गैरीबाङका किसान धनबहादुर कँवरले दुई दशकअघिदेखि आफ्नो १५ रोपनी जग्गामा व्यावसायिक रूपमा बेमौसमी तरकारी खेती गर्दै आएका थिए। टमाटरलगायत तरकारी बिक्री गरेर उनले वार्षिक १५ लाख रुपैयाँभन्दा बढी आम्दानी गर्थे। त्यही आम्दानीबाट परिवारको खर्च धान्नुका साथै जग्गाजमिनसमेत जोडेका थिए। तर, गत असोज १० गते आएको हावाहुरीले उनको तरकारी खेती सखाप पार्यो।
चार लाख रुपैयाँ लगानी गरेर लगाएको टमाटरलगायत तरकारीमध्ये पहिलो लटमा एक लाख रुपैयाँको मात्रै बिक्री गर्न पाएका थिए। हावाहुरीले बाँकी उत्पादन नष्ट गरेपछि उनको तीन लाख रुपैयाँ लगानी डुब्यो। आम्दानीको मुख्य स्रोत नै गुमेपछि उनी चिन्तित छन्।
छत्रेश्वरी गाउँपालिका–५ चौरपानीका दीपेन्द्र कँवरले आफ्नो बगैंचामा आठ सयभन्दा बढी सुन्तलाका बोट लगाएका छन्। गत वर्ष सुन्तला बिक्री गरेर उनले १९ लाख रुपैयाँ आम्दानी गरेका थिए। यसपालि बगैंचामा गत वर्षभन्दा राम्रो फल लागेको थियो। २० लाख रुपैयाँभन्दा बढी आम्दानी हुनेमा उनी ढुक्क थिए। तर, असोज १० गतेको हावाहुरीले लटरम्म फलेका सुन्तला झारिदिएपछि उनको अपेक्षा अधुरै रह्यो। सुन्तला झरेपछि मलजल र स्याहारमा गरेको लगानी कसरी उठाउने र आगामी दिनमा परिवारको खर्च कसरी धान्ने भन्ने चिन्ताले उनलाई सताएको छ।
असोज १० गतेको हावाहुरी र त्यसपछिको वर्षात्ले जिल्लाभरका किसान प्रभावित भएका छन्। किसानले लगाएको मकै, धान, सुन्तला, किवीलगायत फलफूल र टिम्मुरमा व्यापक क्षति पुगेको छ। कृषि विकास कार्यालय सल्यानका अनुसार हावाहुरी र वर्षात्ले एक करोड ५० लाख रुपैयाँ बराबरको कृषिजन्य उत्पादन र तरकारी खेतीका लागि बनाइएका टनेलमा क्षति पुर्याएको छ। जीविकोपार्जन र आम्दानीको माध्यम बनेको तरकारी, फलफूल, टिम्मुर, मकै र धानबालीमा क्षति पुगेपछि जिल्लाका तीन हजारभन्दा बढी किसान प्रभावित भएका छन्।
कृषि विकास कार्यालय सल्यानका निमित्त प्रमुख गणेशबहादुर अधिकारीका अनुसार हावाहुरीले कपुरकोटलगायत क्षेत्रमा तरकारी खेतीका लागि बनाइएका २५ वटा फलामे टनेलमा क्षति पुर्याएको छ। त्यस्तै, ४२ लाख रुपैयाँ बराबरको ११५ मेट्रिक टन ताजा तरकारी, ३४ लाख रुपैयाँ बराबरको ५० मेट्रिक टन सुन्तला र ४० लाख रुपैयाँ बराबरको ३४ मेट्रिक टन किवीमा क्षति पुगेको छ। सुन्तला र किवीका १४० बोटमा समेत क्षति पुगेको उनले बताए। हावाहुरी र वर्षात्ले किसानले लगाएको मकै, धानबाली र टिम्मुरमा पनि उत्तिकै क्षति पुर्याएको उनको भनाइ छ।
कृषिजन्य उत्पादनमा क्षति पुगेपछि किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरिएको अधिकारीले बताए। कृषि पेसाबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्दै आएका किसानको जीविकोपार्जनमा समेत क्षतिले असर पारेको छ। कृषि उत्पादनबाट किसानको आयस्तर बढ्नुका साथै परिवारको आवश्यकता पूरा गर्न सहज भएको थियो। तर, हावाहुरीले उत्पादन नष्ट गरेपछि उनीहरूको आम्दानीको आधार नै कमजोर बनेको छ। कपुरकोट, बागचौर र छत्रेश्वरीमा सबैभन्दा बढी क्षति पुगेको अधिकारीले बताए।
कपुरकोट गाउँपालिका–१ का वडाध्यक्ष बालाराम खड्काका अनुसार हावाहुरीले तीन सयभन्दा बढी किसानले लगाएको ताजा तरकारी र टनेलमा क्षति पुर्याएको छ। तरकारी बिक्री गरेर राम्रो आम्दानी गर्दै आएका किसान बढी प्रभावित भएको उनले बताए। तरकारी नष्ट हुँदा किसानको रोजीरोटीमै असर परेको उनको भनाइ छ।
छत्रेश्वरी गाउँपालिकाका कृषि प्राविधिक दीपक पुनका अनुसार हावाहुरी र वर्षात्ले वडा १, २, ४ र ५ मा सुन्तला, टिम्मुर, मकै र किवीमा क्षति पुर्याएको छ। यसबाट तीन सयभन्दा बढी किसान प्रत्यक्ष प्रभावित भएका छन्। कृषिजन्य उत्पादनमा भएको क्षतिको विवरण संकलन गरी कृषि विकास कार्यालय सल्यानमार्फत क्षतिपूर्तिका लागि पठाइएको उनले बताए।
बागचौर नगरपालिकाका कृषि शाखा प्रमुख घनश्याम केसीले हावाहुरी र वर्षात्ले वडा ३, ८ र ९ लगायतका क्षेत्रमा किसानले लगाएको सुन्तला र टिम्मुरमा लाखौँ रुपैयाँ बराबरको क्षति पुगेको बताए। सुन्तला र टिम्मुरमा क्षति पुग्दा सात सयभन्दा बढी किसान प्रभावित भएका छन्। उनका अनुसार बागचौरबाट वार्षिक २५ करोड रुपैयाँभन्दा बढीको सुन्तला निकासी हुँदै आएको थियो। सुन्तला खेतीले किसानको जीवनस्तरमा परिवर्तन ल्याएको थियो। घरपरिवारका सदस्यले गाउँमै रोजगारी पाएका थिए भने कतिपयले घरजग्गा र सवारीसाधनसमेत जोडेका थिए। वैशाख–जेठमा परेको असिना र अहिलेको हावाहुरीले उत्पादनमा ठूलो गिरावट आउने देखिएपछि किसान निराश बनेका छन्।
कपुरकोट गाउँपालिका अध्यक्ष दुर्गाबहादुर पुनका अनुसार हावाहुरीले पालिकाका विभिन्न स्थानमा तीन हजार रोपनीभन्दा बढी क्षेत्रफलमा लगाइएको तरकारी, मकैबाली र फलफूलमा क्षति पुर्याएको छ। हुरीले दुई दर्जनभन्दा बढी सर्वसाधारणका घर र तीन विद्यालयमा पनि क्षति पुर्याएको छ। हावाहुरीका कारण पालिकाभरका चार हजारभन्दा बढी परिवार प्रभावित भएको उनले बताए। तरकारी, फलफूल, टनेल, विद्यालय भवन, सर्वसाधारणका घर र बिजुलीका पोलमा गरी एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको उनको भनाइ छ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।