आफ्नै खेतबारीमा उब्जाएका वस्तु बिक्री गरेर परिवारले पर्व खर्च जुटाइरहेका छन्, तर बढ्दो महँगीले उनीहरूको चाडपर्व कठिन बनाएको छ।
सल्यान — जिल्लाका ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा आफ्नै खेतबारीमा उत्पादित कृषिजन्य वस्तु बिक्री गरेर तिहार खर्च जुटाउँदै आएका छन् । बेरोजगारी र कमजोर आर्थिक अवस्थाका कारण जयतपानी, सीमखर्क, मार्के, मधाना, बागचौर, सापमारा र कजेरीका महिला स्थानीय उत्पादन बोकेर सदरमुकाम खलङ्गा र श्रीनगर बजार पुग्ने गरेका छन् ।
एकदेखि दुई घण्टासम्म पैदल हिँडेर बजार पुग्ने उनीहरूले अदुवा, बदाम, हलुवाबेद, विभिन्न किसिमका तरकारी, भटमास, तिल, गेडागुडी, कोदो र गहुँ बिक्री गर्दै आएका छन् । तिहार खर्च जुटाउन कतिपयले पाक्न नपाउँदै सुन्तलासमेत बिक्री गरिरहेका छन् ।
घरका सबै बेरोजगार रहेको र कृषि पेसाबाटै जीविकोपार्जन गर्नुपर्ने भएकाले पाखोबारीमा उत्पादित बदाम बिक्री गरेर तिहार खर्च जुटाइरहेको शारदा नगरपालिका–८ की ५० वर्षीया पिरमी बोहराले बताइन् । घरबाट दैनिक डेढ घण्टा पैदल हिँडेर खलङ्गा बजार आउने उनले प्रतिमाना १०० रुपैयाँमा बदाम बिक्री गरिरहेको जानकारी दिइन् ।
‘रोटी पकाउनु पर्यो, मासु खानु पर्यो, अन्य सामग्री किन्नु पर्यो । घरमा आएका छोरीबेटीलाई खुवाउनु पर्यो । महँगी बढिरहेको छ । थोरै रकमले पुग्दैन । त्यही भएर घरमा उत्पादित बदाम बिक्री गरिरहेको छु,’ उनले भनिन् । चार दिनमा चार हजार रुपैयाँको बदाम बिक्री गरेको उनको भनाइ छ ।
‘श्रीमान् मजदुरी गर्छन् । उनको कमाइले ६ जनाको परिवारको घरखर्च चलाउन धौ छ । पैसा आउने अन्य बाटो छैन । वर्ष दिनमा एकपटक आउने तिहार पर्व जसोतसो भए पनि मनाउनु पर्यो । त्यही भएर आफ्नै पाखोबारीमा उत्पादित भटमास, तिल र ताजा तरकारी बिक्री गर्दै आएको छु,’ शारदा नगरपालिका–६ सापमाराकी ४० वर्षीया सावित्रा बस्नेतले भनिन् ।
लगातार केही दिनयता विभिन्न सामग्री बिक्री गरेर १० हजार रुपैयाँ जम्मा गरेको उनले बताइन् । गत वर्ष १० हजार रुपैयाँले तिहार खर्च पुगेको भए पनि यसपालि महँगी बढेकाले २५ हजार रुपैयाँभन्दा बढी लाग्ने उनको अनुमान छ । दैनिक बढिरहेको महँगीका कारण पर्व मनाउन निकै गाह्रो भएको उनले बताइन् ।
बेरोजगारीका कारण कृषि पेसा अँगाल्न बाध्य भएका बागचौरका किसान रुद्र बुढाले बढ्दो देखासिकीले दसैं–तिहारजस्ता पर्व महँगिँदै गएको बताए । आम्दानीको स्रोत नै कृषिजन्य वस्तु भएकाले राम्रोसँग पाकेका सुन्तला र टिम्मुरसमेत बिक्री गर्नुपरेको उनको भनाइ छ । महँगी बढ्दै जाँदा पहिलाभन्दा बढी मेहनत र दुःख गर्नुपरेको उनले बताए ।
बागचौरकी निर्मला नेपालीले आयस्रोत केही नभएको र बिक्री गर्न सक्ने अन्य वस्तु पनि नभएकाले दाउरा बेचेर तिहार खर्च जुटाइरहेको बताइन् । एउटा भारी दाउरा ३/४ सय रुपैयाँमा बिक्री गर्ने गरेको उनले जानकारी दिइन्। ५० देखि ७० किलोसम्मको दाउराको भारी बोकेर दुई घण्टा हिँडेर खलङ्गा पुर्याउँदा पनि मेहनतअनुसारको आम्दानी नहुने उनको भनाइ छ । बढ्दो महँगीका कारण कमजोर आर्थिक अवस्था भएका परिवारलाई चाडपर्व मनाउन निकै गाह्रो भएको उनले बताइन् ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।