Trending
Prev Story
Next Story

के गगन थापा पक्राउ पर्दै छन् ?

Ekantipur •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

सादा पोसाकका प्रहरीले कांग्रेस सभापति गगन थापाको निवास र सम्पर्क कार्यालय वरपर रेकी गरिरहेको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

के गगन थापा पक्राउ पर्दै छन् ?

सादा पोसाकका प्रहरीले कांग्रेस सभापति गगन थापाको निवास र सम्पर्क कार्यालय वरपर रेकी गरिरहेको कांग्रेस नेताहरूले दाबी गरेका छन् ।

काठमाडौँ — कांग्रेस नेताहरूले सभापति गगन थापाको निवास र उनले कार्यकर्तासँग भेटघाट गर्ने ज्ञानेश्वरस्थित कार्यालय वरपर सादा पोसाकका प्रहरीले निगरानी गरिरहेको दाबी गरेका छन् । सभापति थापालाई पक्राउ गर्ने हल्लाका बीच यस्तो गतिविधि बढेको उनीहरुको अनुमान छ ।

कांग्रेस महामन्त्री उदयशमशेर राणाले सभापति थापालाई पक्राउ गर्ने हल्ला मात्रै नभएर सूचना समेत रहेको दाबी गरे । प्रहरी महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाइनुको एउटा कारण थापालाई पक्राउ गर्न नमानेको हुन सक्ने उनको आशंका छ । सरकारले प्रेसदेखि प्रतिपक्षसम्मको आवाज दबाउन खोजेको भन्दै उनले यस्ता घटनाबाट कांग्रेस विचलित नहुने बताए ।

‘प्रेसको मुख थुन्न उनीहरूले मिडिया हाउसहरूमा प्रवेश गरेर पत्रकार पक्राउ गर्ने काम गरे । प्रेसलाई त्रसित बनाए । अब बोल्ने तैं होस् भन्ने हिसाबले हाम्रो सभापतिलाई पक्राउ गरेर प्रतिपक्षको आवाज थुन्ने सरकारको नियत देखिन्छ । सरकार विनाशकाले विपरीत बुद्धिको बाटोमा अघि बढिरहेको हाम्रो ठम्याइ छ,’ राणाले कान्तिपुरसँग भने ।

हामीले यही विषयमा बुझ्न थापा निकट तीन जनासँग अलग-अलग कुराकानी गरेका थियौं । ती तीनै जनाले थापालाई पक्राउ गर्ने विषयबारे आफूले पनि सुनेको र थप बुझ्ने काम भइरहेको बताए । उनीहरूले पनि भनेका छन्- दुई दिनयता थापा निवास र उनका मुख्य सम्पर्क स्थानहरूमा सादा पोसाकका प्रहरीले रेकी गरिराखेका छन् । एक नेताले भने, 'यो कुराले पक्राउको आशंका थप बढाएको छ ।'

यही पृष्ठभूमिमा बुधबारजस्तै कांग्रेस पदाधिकारीको अनौपचारिक बैठक आज सानेपामा बस्दै छ । यो बैठकअघि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा नेतृत्वमा रहेको पार्टीको नीति प्रतिष्ठानको बैठकसमेत बसेको थियो । एक सहमहामन्त्रीका अनुसार बैठकमा सभापतिलाई पक्राउ गर्ने हल्ला, पार्टी नेतृत्वविरुद्ध सार्वजनिक भएका आरोप र सरकारले लिइरहेको ‘निरंकुश’ बाटोका विषयमा छलफल हुनेछ ।

के कांग्रेस सभापति थापालाई पक्राउ गर्न लागिएको हो भनेर हामीले प्रधानमन्त्री सचिवालयका एक सदस्यलाई सोधेका थियौं । उनले नाम उल्लेख नगर्ने सर्तमा यसबारे आफूहरूलाई कुनै जानकारी नभएको बताउँदै भने, ‘सबै कुरा प्रधानमन्त्री कार्यालयलाई जानकारी हुने विषय परेन । यस सम्बन्धमा पनि प्रधानमन्त्री कार्यालयलाई कुनै जानकारी छैन । प्रहरीसँगै बुझ्नु भए राम्रो हुन्छ ।’

हामीले प्रहरी प्रवक्ता अबि नारायण काफ्लेलाई सोध्यौं, 'के तपाईंहरूले कांग्रेस सभापति थापालाई पक्राउ गर्न लाग्नुभएको हो ?' उनले यस विषयमा आफूहरूलाई कुनै जानकारी नभएको बताउँदै भने, 'यसबारे हाम्रो कुनै धारणा छैन ।'

हामीले प्रवक्ता काफ्लेलाई सभापति थापाको निवास र सम्पर्क कार्यलय वरपर सादा पोसाकका प्रहरी परिचालन गरिएको हो भनेर पनि सोध्यौं । उनले भने, 'तपाईंहरुले यस्तो कुरा कहाँबाट थाह पाउनुभयो, थाहा छैन । हामीलाइ यो विषयमा कुनै जानकारी छैन ।'

कांग्रेस महामन्त्री प्रदीप पौडेलले पार्टी नेतृत्वलाई बदनाम गराउन सरकारले सुनियोजित रूपमा गरेका यस्ता प्रचार र कार्यशैलीले नागरिकमा त्रास सिर्जना गराउन खोजिएको बताए ।

कांग्रेसले सार्वजनिक अडियोलाई पार्टी नेतृत्व बदनाम गर्ने नियोजित र प्रायोजित प्रचार भन्दै त्यसको राजनीतिक र कानुनी दुवै रूपमा प्रतिवाद गर्ने निर्णयसमेत बुधबारको पदाधिकारीको अनौपचारिक बैठकले गरेको थियो ।

अधिवेशनयता सभापति थापाले सरकारका कामकारबाहीप्रति निरन्तर प्रश्न उठाउँदै आएको देखिन्छ । गत आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बोल्दै उनले सरकार निरंकुश बाटोमा अघि बढ्न खोजेको भन्दै त्यसको कडा प्रतिवाद गर्ने बताएका थिए ।

सञ्चारगृहमा प्रहरी प्रवेश गरेर पत्रकार पक्राउ गरिएको घटना र मरिण डाइभर्सन आयोजनाका अधिकारीहरूलाई नियन्त्रणमा लिएर ठेक्का प्रक्रिया रद्द गराउन दबाब दिइएको भनिएको घटनालाई उनले गम्भीर रूपमा उठाएका थिए । राज्यका अधिकारी र सुरक्षा निकायलाई राजनीतिक स्वार्थअनुसार परिचालन गर्न खोजिएको थापाको आरोप थियो ।

गत सोमबार न्यायालय र उच्चपदस्थ सरकारी अधिकारीसँग बिचौलियाको भूमिका खेलिरहेका इनम सापकोटाले प्रहरीमा दिएको बयान भन्दै एउटा अडियो सार्वजनिक भयो । जसमा कांग्रेसको आधिकारिकता गगन थापा नेतृत्वलाई दिलाउन १८ करोड रुपैयाँ आर्थिक लेनदेन भएको दाबी छ । त्यस्तै निर्वाचन आयोगदेखि सर्वोच्च अदालतका न्यायाधीशसम्मलाई मिलाउन रकमको डिल भएको र त्यसको सबै प्रबन्ध पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाबाट गरिएको भन्ने आशयका संवाद पनि उक्त अडियोमा छन् ।

तर उक्त अडियो कहाँ रेकर्ड गरिएको थियो, त्यो आधिकारिक बयान हो कि होइन भन्ने पुष्टि भइसकेको छैन । अडियो सार्वजनिक भएपछि थापाले सोमबार साँझ ६ बजे फेसबुकमा लेखे, ‘अहिले ठिक १८ बजेको छ । तर्साउने धेरै आए, तर्सिने बानी परेन ।’ अडियोमा उल्लेख भएको १८ करोड रुपैयाँको दाबीलाई लक्षित गर्दै थापाले यस्तो टिप्पणी गरेका थिए ।

बुधबारको पदाधिकारी बैठकपछि वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले निर्वाचन आयोग र अदालतले विधि तथा पद्धतिअनुसार गरेको निर्णयलाई लेनदेनको विषय बनाएर बदनाम गर्न खोजिएको बताएका थिए ।

कांग्रेसले २०८२ पुसमा विधानअनुसार सम्पन्न विशेष महाधिवेशनलाई निर्वाचन आयोगले अद्यावधिक गरेको र सर्वोच्च अदालतबाट समेत वैधानिकता कायम भइसकेको भन्दै त्यसलाई लेनदेनको विषयसँग जोडेर अदालत, निर्वाचन आयोग र आफ्ना पार्टीका प्रतिनिधिहरूको बदनाम गर्न खोजिएको शर्माको भनाइ थियो । शर्माले कानुनी उपचारका प्रक्रिया अघि बढाउन उपसभापति पुष्पा भुसाललाई जिम्मेवारी दिएको बताएका छन् ।

महामन्त्री पौडेलले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री र उच्चपदस्थ अधिकारीको नाम जोडिएर सार्वजनिक भएका विषयको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको संलग्नता र निर्देशनमा अनधिकृत व्यक्तिबाट मोबाइल नियन्त्रणमा लिने, प्रमाण नष्ट गर्ने तथा संवाद गर्ने काम भएकाले त्यसको स्वतन्त्र र निष्पक्ष छानबिन हुनुपर्ने पौडेलले बताए ।

कुलचन्द्र कान्तिपुर मिडिया ग्रुपका राजनीतिक संवाददाता हुन् । उनी राजनीतिक दल, संसदीय मामिलासँग सम्बन्धित बिषयमा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
5d ago
गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

गगन थापाद्वारा तिहार, नेपाल संवत् र छठको शुभकामना, कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Hamro Patro News
1d ago
भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

भीमफेदी माइक्राेबस दुर्घटनाको खबरले मर्माहत बनाएको छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।

#गगन-थापा #कांग्रेस #गगन
Compare →
Onlinekhabar
1d ago
भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

भीमफेदी दुर्घटनाप्रति कांग्रेस सभापति गगन थापाद्वारा दुःख व्यक्त

२६ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । काठमाडौंँबाट सर्लाहीको सुन्दरपुरतर्फ जाँदै गरेको यात्रुवाहक गाडी दुर्घटना हुँदा १० जनाको मृत्यु …

#गगन-थापा #गगन #थापा
Compare →

Related Stories

Politics & Governance
Build #2611