Trending
Prev Story
Next Story

ट्वीट गरिरहेका बीपी

Ekantipur •
November 05, 2026 • 10:01 AM
1
1 reads 0 reactions

बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ ।

ट्वीट गरिरहेका बीपी

बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ ।

काठमाडौँ — २२ फेब्रुअरी २०१६ मा बीपी कोइराला नामको ह्यान्डलबाट ट्वीट भयो- ‘जनताबाट म विश्वास चाहन्छु, आशा होइन । विश्वासमा सक्रियता, कर्मण्यता, सहउद्यमी, साख्यभाव परिलक्षित रहन्छ । आशा अकर्मण्यता र परमुखापेक्षी भावना हो ।’

नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो मृत्यु भएको ३४ वर्षपछि कसरी यस्तो ट्वीट गरे होलान् भन्ने जिज्ञासा लाग्न सक्छ ।

वास्तवमा उनले आफैं ट्वीटर (एक्स) चलाएर यसो भनेका भने थिएनन् । तर, उनका विचारहरू भने ट्वीटरमा आउन थालेका छन् । बीपीको नाममा ट्वीटर अकाउन्ट चलाउने व्यक्ति हुन्, संवैधानिक कानुनविद्, काठमाडौं विश्वविद्यालयका प्राध्यापक विपिन अधिकारी ।

अधिकारीले २२ फेब्रुअरी २०१६ मा @BPKoirala_ अकाउन्ट खोलेका थिए र माथि उद्धृत गरिएको ट्वीट पहिलो दिनको दोस्रो पोस्ट थियो ।  हालसम्म उक्त ह्यान्डलबाट २५८ ट्वीट पोस्ट भएका छन् । एकाध पोस्ट अधिकारीले बीपीबारे लेखे/बोलेका लिङ्क हुन् भने बाँकी सबै बीपीका विचार ।

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ट्रान्जिट सम्झौता गरी भ्रमण टुंग्याउँदै थिए । २६ मार्च २०१६ मा उक्त ट्वीटर ह्यान्डलले बीपी कोइरालाले सन् १९६० मा दुई साता लामो भ्रमणको अन्त्यमा चिनियाँ समकक्षी चाउ एन लाईलाई दिएको रात्रीभोजका क्रममा व्यक्त विचारको अडियो पोस्ट गरेको थियो ।

‘जब ‘इस्यु’हरू आउँछन् । त्यसबारे बीपीकै पार्टी कांग्रेसले केही बोल्दैन । आफूलाई राष्ट्रवादी दाबी गर्ने वामपन्थीले बोल्दैनन्,’ अधिकारीले भने, ‘त्यस्तोमा बीपीको दृष्टिकोण के थियो भन्ने कुरो खड्किन्छ। एउटा लिडरले यस्ता विषयमा कसरी सोच्छ भन्ने कुरा भन्न मैले उहाँको नामबाट ट्वीटर सुरु गरेको हुँ।’

अधिकारीले बीपीका भनाइहरूको छनोट भने अहिलेको सन्दर्भसँग मिल्नेगरी मात्र गर्छन् । जस्तो, संविधान पुनर्लेखनको माग गर्दै आएको मधेशी मोर्चाले २०१६ को मे महिनामा सिंहदरबार घेराउ गर्ने घोषणा गरेका बखत उक्त ह्यान्डलले १९ मे को राति सवा १२ बजे बीपीका विचार लेख्यो , ‘हामीले पहाडे वा मधिसे भन्ने भावना ल्यायौं भने मुलुकको उन्नति हुँदैन। मुलुक एउटा डुंगा जस्तो हो।  त्यसमा चढेका मानिसहरू आपसमै लड्न थाले भने… डुगा डुब्यो भने को बाँच्छ ?’

राजा महेन्द्रले १ पुस २०१७ मा ‘कु’ मार्फत प्रधानमन्त्री कोइरालालाई अपदस्थ गरी पञ्चायती व्यवस्था सुरु गरेका थिए । बीपीलाई समातिएको छैंठौ दिनमा उनीबाट जवाफ माग्दै पठाइएका प्रश्नमध्ये एक थियो- ‘प्रजातन्त्रका लागि केही पूर्वाधार चाहिन्छ, ती पूर्वाधारहरू कस्ता हुन्…?’

बीपीको आत्मवृतान्तको अंग्रेजी संकरणबाट उक्त प्रश्नको जवाफ सारेर ‘कु’को ६१ ‍औं वार्षिकीको पूर्वसन्ध्यामा १४ डिसेम्बर २०२१ मा ट्वीट गरियो , ‘प्रजातन्त्रका लागि कुनै पूर्वाधार चाहिँदैन। तर, प्रजातन्त्रलाई समाप्त गर्नसक्ने जसको शक्ति छ, त्यसमा भने प्रजातान्त्रिक आस्था हुनुपर्छ ।’

सेप्टेम्बर २०२३ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल यूएन महासभामा सहाभागी भएर सिधै चीन भ्रमणमा गए। उक्त ह्यान्डलबाट नेपालले अन्तर्राष्ट्रिय सहयोग चाहन्छ तर आन्तरिक मामिलामा दख्खल चाहँदैन भनेर बीपीले १९६० को सेप्टेम्बरमा यूएन महासभामै दिएको मन्तव्य ट्वीट भयो। बीपीले भनेका थिए, ‘भारत, अमेरिका, चीन, ... र अन्य मित्रराष्ट्रले दिइरहेको सहयोगको हामी स्वागत गर्छौं । तर,... आफ्नो आन्तरिक मामिला कसरी सञ्चालन गर्ने भनेर… सिकाओस् भन्ने चाहँदैनौं ।’

‘बीपीलाई ‘पपुलराइज’ गर्ने भन्दा पनि कुनै विषयलाई हेर्ने सही दृष्टिकोण कस्तो हुनुपर्छ र यस्तै परिस्थितिमा बीपीले के सोचेका थिए भन्ने कुरा मैले राख्ने गरेको छु,’ अधिकारीले कान्तिपुर सँग भने ।

तर, सबै ट्वीटहरू राजनीतिक सन्दर्भबारे मात्र छैनन् । तोल्सतोय, चेखब, जर्ज बर्नार्ड श जस्ता साहित्यकारबारे वा हो ची मिन्ह, गान्धी, नेहरू, माओ, चाउ एन लाई, लेनिन, स्टालिन, केनेडीजस्ता विश्वनेताबारे बीपीका दृष्टिकोण पनि ट्वीटमा समेटिएका छन्।

बीपीको आत्मवृत्तान्त, जेल जर्नल, भोला चटर्जीसँगको अन्तर्वार्ता, यूएनमा दिएको भाषण नै ट्वीटका स्रोत हुन् । अधिकारीले भने, ‘मैले बीपीलाई राजनीतिज्ञभन्दा पनि नेपाल बुझेको एउटा स्टेट्सम्यानका रूपमा हेर्छु । उनले देशलाई कसरी बुझेका थिए भन्नेबारे म आफ्नो दृष्टिकोण नदिइकन उनका विचार मात्र राख्न चाहन्छु ।’

गत वर्ष भदौको जेन-जी आन्दोलनका क्रममा ठूलो मानवीय क्षति भयो । त्यसयता पनि राज्यको गोलीबाट नागरिकहरू मारिए । यसै सन्दर्भमा अधिकारीले बीपीले सन् १९७१ मा निर्वासनका बेला तरुण मा लेखेको अंश ट्वीट गरे- ‘अहिले क्रान्तिलाई कसैको प्राणको आहुति चाहिएको छैन। एउटा शिक्षक चाहिएको छ ।’

मृत्यु भएको ४४ वर्षपछि पनि बीपीका विचारको सान्दर्भिकता नसकिएको अधिकारीको भनाइ छ । त्यसैले उनले यो ह्यान्डललाई निरन्तरता दिनेछन् । भन्छन्, ‘हरेकपल्ट क्रान्तिको उद्यमको बाटोबाट हिँड्ने होइन । परिवर्तन आइसकेको छ र त्यसलाई संस्थागत गर्ने शिक्षक चाहिएको छ भनेर अहिलेका ‘मात्तिएका युवाहरूलाई’ बीपीको विचार बुझाउन झनै आवश्यक छ ।’

तुफान न्यौपाने कान्तिपुर दैनिकमा राजनीति, न्याय प्रणाली तथा सुशासनसम्बन्धी रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
ट्वीट गरिरहेका बीपी

ट्वीट गरिरहेका बीपी

ट्वीट गरिरहेका बीपी बीपी कोइराला नामको ट्वीटर ह्यान्डलले एक दशकदेखि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्रीका विचारहरूलाई आजको राजनीतिक सन्दर्भसँग जोडिरहेको छ । कार्तिक १९, २०८३ तुफान न्यौपाने ...

#बीपी #कोइराला #नाम
Compare →
Nagarik News
6d ago
बीपी राजमार्गमा यात्रु आवागमन सहज बनाउन सभापति गजुरेलको निर्देशन

बीपी राजमार्गमा यात्रु आवागमन सहज बनाउन सभापति गजुरेलको निर्देशन

पूर्वाधार विकास समिति सभापति आशिष गजुरेलले बीपी राजमार्गको स्थलगत अनुगमन गरेका छन्।

#बीपी
Compare →

Related Stories

Politics & Governance
Build #2611