९६ क्यारेटको भन्सार प्रज्ञापनपत्र बोकेको ट्रकमा थप ४४ क्यारेट माछा भेटिएपछि प्रहरीले चालकसहित नियन्त्रणमा लिएको छ।
पर्सा — आवश्यक कागजातमा उल्लेख भएकोभन्दा बढी माछा लोड गरी ल्याइएको एउटा मालवाहक ट्रक प्रहरीले वीरगन्जबाट नियन्त्रणमा लिएको छ ।
विशेष सूचनाका आधारमा बुधबार राति वीरगन्ज महानगरपालिका–२५ स्थित आईसीपी सडकखण्डबाट प्रहरीले प्रदेश २–०३–००१ ख ७०७४ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय श्रीपुरअन्तर्गतको प्रहरी चौकी सिर्सियाबाट खटिएको संयुक्त प्रहरी टोलीले ट्रक जाँच गर्ने क्रममा कागजातमा उल्लेख भएभन्दा ४४ क्यारेट बढी माछा लोड गरिएको फेला पारेको थियो । प्रहरीका अनुसार उक्त ट्रकमा ९६ क्यारेट माछाको मात्र भन्सार प्रज्ञापनपत्र थियो ।
प्रहरीले ट्रक र चालक वीरगन्ज महानगरपालिका–२१ निवासी २३ वर्षीय रविकुमार साहलाई नियन्त्रणमा लिएको छ । ट्रकसहित बरामद माछाको कुल मूल्यांकन ३२ लाख ११ हजार ३ सय ९२ रुपैयाँ गरिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिइएको ट्रक र चालकलाई थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहीबार वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डीएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।