Trending
Prev Story
Next Story

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

Nagarik News •
November 13, 2026 • 01:31 PM
1
1 reads 0 reactions

वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए।

सरकारको आलोचनामा कांग्रेस, एमाले: कार्यशैलीमाथि प्रश्न

नेपाली कांग्रेसका सहमहामन्त्री अजयबाबु शिवाकोटी र नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले वर्तमान सरकारको कार्यशैलीमाथि प्रश्न उठाएका छन्। उनीहरूले अभिव्यक्ति स्वतन्त्रता, लोकतान्त्रिक संस्था, सरकारको स्थायित्व तथा शासकीय क्षमताका विषयमा सरकारको आलोचना गरेका हुन्।

रिपोर्टर्स क्लब नेपालले शुक्रबार आयोजना गरेको कार्यक्रममा बोल्दै कांग्रेस सहमहामन्त्री शिवाकोटीले सरकारको आलोचना गर्नेहरूलाई नियन्त्रण गर्ने प्रयास भइरहेको आरोप लगाए।

उनले आफू विदेशमा रहेका बेला साइबर ब्युरोमा उजुरी परेको र सोही उजुरीका आधारमा प्रहरीले बोलाएर प्रधानमन्त्री, उनका सल्लाहकार तथा उनीनिकट व्यक्तिहरूबारे लेखिएको सामग्री हटाउन दबाब दिएको दाबी गरे।

‘म काठमाडौंमा नभएको, नेपालबाहिर रहेको बेलामा साइबर ब्युरोमा मविरुद्ध उजुरी परेको थियो। त्यही उजुरीका आधारमा प्रहरीले बोलाउँछ र प्रधानमन्त्री, उनका सल्लाहकार तथा वरिपरिका मानिसका सन्दर्भमा लेखिएको सामग्री हटाउन भन्छ। त्यसमा राजनीतिक रूपमा अडान लिँदा पनि सम्झौता गर्न दबाब दिन्छ,’ उनले भने।

राजनीतिक दलका पदाधिकारीमाथि नै यस्तो व्यवहार भइरहेको अवस्थामा आम नागरिकले कस्तो परिस्थिति भोगिरहेका होलान् भन्ने प्रश्न उनले गरे। सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुग्ने र पत्रकारलाई नियन्त्रणमा लिने घटनाले अभिव्यक्ति स्वतन्त्रताको अवस्थाबारे गम्भीर प्रश्न उठाएको उनको भनाइ थियो।

‘राजनीतिक दलको पदाधिकारी तहकै व्यक्तिमाथि सरकारले यस्तो गरिरहेको छ भने आम नागरिकमाथि के भइरहेको होला, सजिलै अनुमान गर्न सकिन्छ,’ उनले भने।

शिवाकोटीले लोकतन्त्र निर्वाचनमार्फत सरकार गठन गर्ने र सत्ता हस्तान्तरण गर्ने प्रक्रियामा मात्र सीमित नहुने बताए। राज्यका निकाय, संवैधानिक अङ्ग, सञ्चारमाध्यम तथा कर्मचारीतन्त्रमाथि हस्तक्षेप बढिरहेको आरोप लगाउँदै उनले सरकारको कार्यशैलीले लोकतान्त्रिक मूल्य र मान्यतामाथि प्रश्न उठाएको बताए।

उनले सरकार र सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीबीच समेत पर्याप्त समन्वय नभएको टिप्पणी गरे। सञ्चारमाध्यमसम्बन्धी घटनामा सरकार र सत्तारूढ दलका तर्फबाट आएका धारणा एकअर्कासँग मेल नखाएको उनको भनाइ थियो।

‘सरकार र सरकार सञ्चालन गरिरहेको दलबीच समन्वय हुनुपर्ने थियो, तर त्यो भएको देखिँदैन। मिडियाका साथीहरूको कार्यालयबाट पत्रकार उठाइँदै गर्दा सरकारको तर्फबाट आएको स्पष्टीकरण र पार्टीका प्रवक्ताले जारी गरेको वक्तव्यमा कतै तादात्म्यता छैन,’ उनले भने।

त्यस्तै, नेकपा एमालेका पोलिटब्युरो सदस्य ठाकुरप्रसाद गैरेले दुई तिहाइ बहुमतको सरकार बनेको केही महिनामै सरकार ढल्ने चर्चा चल्नु गम्भीर विषय भएको बताए। सरकारको स्थायित्वबारे उठिरहेका प्रश्नको जवाफ सत्तारूढ दल र सरकारले दिनुपर्ने उनको भनाइ थियो।

‘सरकार बनेको सात–आठ महिना पनि बित्न पाएको छैन, सरकार ढल्ने चर्चा किन भइरहेको छ? एउटै राजनीतिक दलको दुई तिहाइ बहुमतको सरकार भएका बेला आजै वा भोलि सरकार ढल्छ भन्ने कुरा राष्ट्रिय बहसको प्रमुख विषय बन्नुपर्ने कारण के हो?’ उनले प्रश्न गरे।

गैरेले वर्तमान सरकार ढलेमा त्यसको मुख्य कारण स्वयं राष्ट्रिय स्वतन्त्र पार्टी र सरकारकै कार्यशैली हुने दाबी गरे। एमाले वा कांग्रेसको सिट सङ्ख्याका कारण सरकार नढल्ने उल्लेख गर्दै उनले सरकार आफ्नै कमजोरी र अक्षमताका कारण संकटमा पर्न सक्ने बताए।

‘आज यदि यो सरकार ढल्यो र प्रधानमन्त्री बदलियो भने त्यसको मुख्य कारण स्वयं रास्वपा र स्वयं सरकार हुनेछ। उसको आफ्नै कारणले सरकार ढल्ने र प्रधानमन्त्री बदलिने अवस्था आउन सक्छ,’ उनले भने।

उनले वर्तमान सरकार राष्ट्रियता, लोकतन्त्र, जनजीविका, शान्ति–सुरक्षा तथा न्यायालयको स्वतन्त्रताका सवालमा कमजोर देखिएको आरोप लगाए। दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि, सडक तथा यातायातको अव्यवस्था र विपद्प्रभावित नागरिकले भोगिरहेका समस्यासमेत उनले सरकारको कार्यशैलीसँग जोडेर आलोचना गरे।

भोटेकोसी बाढीबाट प्रभावित नागरिकको घर तथा सम्पत्ति बगिसक्दा पनि बिजुलीको बिल आइरहेको उल्लेख गर्दै उनले पीडितहरू आफ्ना समस्या समाधानका लागि आन्दोलन गर्न बाध्य भएको बताए।

गैरेले प्रधानमन्त्रीको आसन्न भारत भ्रमणको प्रसङ्ग पनि उठाउँदै राष्ट्रिय स्वाभिमान र सीमा विवादका विषयमा स्पष्ट धारणा बनाएर मात्र भ्रमणमा जानुपर्ने बताए।

‘प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि संसद्मा उहाँले बोल्नुभएको नेपालले पनि भारतका धेरै ठाउँमा सीमा मिचेको छ भन्ने कुरा फिर्ता लिएर जानुहुन्छ कि? वा नेपालको कुनै भूमि भारतले मिचेको हो र त्यो फिर्ता ल्याइदिएको छु भनेर कसैले लिएर जानुहुन्छ?’ उनले प्रश्न गरे।

नेपालको भूमि, सीमा र राष्ट्रिय स्वाभिमानका विषयमा सरकारको स्पष्ट धारणा हुनुपर्ने उनको भनाइ थियो।

प्रकाशित: २७ कार्तिक २०८३ १९:१६ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

६ महिनामै सरकारको पारदर्शीतामाथि प्रश्न उठ्यो : कांग्रेस उपसभापति आचार्य

काठमाडौं : नेपाली कांग्रेसका उपसभापति मधु आचार्यले वर्तमान सरकार प्रतिशोध, क्रोध, भय र भ्रमबाट सञ्चालन भइरहेको आरोप लगाएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा आचार्यले सरकार गठन भएको ६ महिना नपु...

#कांग्रेस #सरकारको
Compare →
Onlinekhabar
7h ago
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा …

#कांग्रेस
Compare →
Ekantipur
8h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2611