नाका खुलेको दुई वर्ष चार महिना बित्दा पनि टिपतालाबाट चिनियाँको आवागमन शून्य हुँदा ओलाङचुङगोलाका बासिन्दासँगको सीमापार व्यापार र पुरानो सम्बन्ध पुनःस्थापित हुन सकेको छैन।
ताप्लेजुङ — कोरोना संक्रमणका कारण २०७६ माघ ५ देखि बन्द भएको टिपताला भन्ज्याङ नाका २०८१ जेठ ११ मा खुल्यो। नाका खुलेपछि फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाका ३३ जना नेपाली गलैंचा, छुर्पीलगायत व्यापारिक सामग्री लिएर पहिलो चरणमा चीनको रिउ बजार पुगे । त्यसपछि क्रमशः अरू नेपाली पनि जान थाले।
यस वर्ष सीमावर्ती क्षेत्रका बासिन्दा मात्रै होइन, सदरमुकाम फुङलिङका नागरिकसमेत रिउ पुगेर फर्किएका छन् । झन्डै पाँच वर्षपछि नाका खुल्दा चीनको डिङजे काउन्टीमा रहेका आफन्त भेट्न नेपालमा विवाह गरेर आएका चेलीहरू पनि पुगे । नेपाल र डिङजे काउन्टीका अधिकारीबीच सीमा बैठकसमेत भयो । तर नाका खुलेको दुई वर्ष चार महिना बितिसक्दा पनि चिनियाँ अधिकारीदेखि सर्वसाधारणसम्म कोही नेपाल आएका छैनन् । सीमावर्ती ओलाङचुङगोला, याङमा, घुन्सा र पापुङका बासिन्दाले यसको कारण खोजिरहेका छन् ।
चीनको तिब्बतमा ५० वर्षदेखि व्यापार गर्दै आएका दावा शेर्पाका अनुसार कोरोना संक्रमणअघि नेपाल आउने चिनियाँ र चीन जाने नेपालीको संख्या हाराहारी हुन्थ्यो । चिनियाँ अधिकारीदेखि सर्वसाधारणसम्म ओलाङचुङगोला र याङमासम्म आउँथे । चिनियाँ व्यापारी महिनादिनसम्म नेपालका बस्तीमा बसेर जडीबुटीलगायत सामग्री खरिद गरी लैजान्थे । पशुचौपायाको पनि उत्तिकै व्यापार हुन्थ्यो । नेपाली पशुचौपाया किनेर लैजाने र चिनियाँ पशुचौपाया किनेर नेपाल ल्याउने चलन थियो । अहिले चिनियाँ नागरिक नआउँदा ती सबै गतिविधि ठप्पप्रायः छन् । नेपालीहरू भने त्यहाँ रहेका आफन्त भेट्न जाने र फर्कने गरिरहेका छन् ।
फक्ताङलुङ गाउँपालिका–७ का वडाध्यक्ष एवं नेपाल र चीनका सरकारी अधिकारीबीच समन्वय गराउँदै आएका छेतेन लामा शेर्पा पनि चिनियाँ नागरिकको आवागमन शून्य रहेको बताउँछन् । ‘हामीले ओलाङचुङगोलामा विदेशी नागरिकको तथ्यांक पनि राख्ने गरेका छौं, चिनियाँहरू चाहिँ एक जना पनि आएका छैनन्,’ उनले भने ।
चिनियाँ नागरिक किन नआएका हुन् भन्नेबारे आफू पनि जानकार नरहेको उनले बताए । यसबारे डिङजे काउन्टीका प्रशासन प्रमुखदेखि प्रहरी प्रमुखसम्मलाई पटकपटक सोध्ने गरेको उनको भनाइ छ । ‘मैले तिमीहरू चाहिँ किन नआएको भनेर बारम्बार सोध्ने गरेको छु । टिपताला मा इमिग्रेसन नभएकाले छोड्न मिल्दैन भन्थे पहिला । मैले २० किलोमिटर ओलाङचुङगोला आउनलाई इमिग्रेसन किन चाहिन्छ र भनेर पनि सोधें । त्यसबेला जान्छु भन्ने मान्छे नै छैन भनेर जवाफ दिए,’ छेतेनले थपे, ‘खासमा उताबाट त्यहाँका नागरिकलाई परमिट दिएको छैन । परमिट नदिएका कारण नछोडेको चाहिँ बुझ्न सकिन्छ ।’
दुवै मुलुकका सीमावर्ती बासिन्दाको दोहोरा आउजाउ हुन नसक्दा पुस्तौंदेखिको सांस्कृतिक र आर्थिक सम्बन्धमा समेत रिक्तता देखिएको स्थानीयको गुनासो छ । चिनियाँ नागरिक आउँदा ओलाङचुङगोलामा चहलपहल र आम्दानी राम्रो हुने स्थानीय बताउँछन् । ‘उताबाट आएकाहरु दुई/चार दिन बसे भने यहाँ राम्रोगरी ब्यापार चल्थ्यो,’ ओलाङचुङगोलाका स्थानीय तेन्जीङ शेर्पाले भने, ‘गोलाका बिपन्न परिवारका लागि पनि राम्रो सहयोग हुन्थ्यो । जसकोमा भारी बोकाउने याक चौंरी छैनन् उनीहरुले घरमै सामान पाउँथे ।’ अहिले आफुहरुले तिब्बतमै गएर सामान ल्याउनु परेकाले स्रोतसाधन नभएकालाई व्यवस्थापन गर्न महंगो पर्ने उनले सुनाए ।
कोरोनाअघिसम्म ओलाङचुङगोलाको दिकिछ्योलिङ गुम्बा दर्शन गर्न आउनेको सङ्ख्या पनि उल्लेख्य हुने गरेको थियो । वडाध्यक्ष छेतेन शेर्पा लामाले भने, हामीले हरेकवर्षको कात्तिक महिनामा फुटुक पर्व मनाउँछौ । त्यसमा सहभागी हुन ठूलो संख्यामा तिब्बती आउँथे । अहिले त त्यो पनि बन्द भयो ।’ फुटुक पर्व तिब्बतीयन पात्रो अनुसार वर्षको नवौं महिनाको २८ र २९ गते मनाइने ओलाङचुङगोलाका बासिन्दाको ठूलो चाड हो । यसलाई तिब्बती भाषामा बिश आठ, बिश नौ भनिन्छ ।
नेपाली नागरिकलाई समेत पहिलेको जस्तो निर्बाध रूपमा चीनमा घुम्न दिइएको छैन । ‘हाम्रोतर्फबाट जानेले पास देखाएर जानुपर्छ । निश्चित तोकिएको ठाउँमा बस्नुपर्छ । उताबाट आउनेले पनि पास देखाएर मात्रै आउनुपर्छ, नियमकानुन बराबरी हुनुपर्छ भनेको थिएँ,’ वडाध्यक्ष छेतेनले भने, ‘तर खै, एक जना पनि आएनन् । अहिलेसम्म चिनियाँ नागरिक नआएका कारण हाम्रो प्रस्ताव कार्यान्वयनमा आएको छैन । हाम्रो मान्छेलाई चाहिँ गलैंचा, घिउ बेच्ने हतारो पनि थियो । नाका खुल्नासाथ यताका सबैजसो मान्छे गुरुरु गएर आफन्त भेटे ।’
कोरोना संक्रमणअघि डिङजे काउन्टीका जनसरकार प्रमुख र सुरक्षा अधिकारी गाडीसहित ओलाङचुङगोलाका बस्तीमै आउने गरेका थिए । ‘धेरै पटक त उहाँहरू यहीँ ओलाङचुङगोलासम्म आएर गाडीमा चढाएर यताका मान्छे लिएर जानुभयो,’ निवर्तमान वडाध्यक्ष छेतेन शेर्पा भोटेले भने, ‘ताप्लेजुङका सीडीओहरूलाई उताका डीएम नै आएर यहीँ गोलाबाट गाडीमा लिएर पनि गए ।’
ओलाङचुङगोला, याङमा, घुन्सा र तोक्पेगोलाका बासिन्दा बेलाबेला चीन जाने गरेका छन् । गलैंचा, घिउ र जडीबुटी रिउ बजार पुर्याएर बिक्री गर्छन् । रिउबाट नुन, पिठो, कपडालगायत सामान ल्याउँछन् । तर चिनियाँ नागरिकलाई आफ्नै बस्तीमा स्वागत गर्न नपाएकोमा उनीहरू चिन्तित छन् । ओलाङचुङगोलाकी डोङ्गला शेर्पा दुईतर्फी आवतजावत हुनुपर्ने बताउँछिन् । ‘सम्बन्ध चाहिँ दोहोरो हुनुपर्ने रहेछ । हामी गएपछि उहाँहरू पनि आउनुभयो भने मज्जा हुने रहेछ । आफैं मात्रै जान चाहिँ किन होला जस्तो लाग्ने भएको छ,’ उनले भनिन् ।
चिनियाँ ग्राहक नआउँदा यहाँका पशुपालकले चौंरी, याक र नाक बिक्री गर्न पाएका छैनन् । चिनियाँ अधिकारी आए आफ्नो समस्या सुनाउन पाइन्थ्यो र समाधान पनि निस्कन्थ्यो कि भन्ने उनीहरूको अपेक्षा छ । नुपुले विगतमा हुने गरेको भेटघाट र संवाद सम्झिँदै भने, ‘पहिला उहाँहरू आउनुहुन्थ्यो । बस्तीका सबै मानिस भेला भएर खादा लगाइदिएर धुन्ज्याङ (नाचगान) गर्थ्यौं । हाम्रा राम्रा कुरासँगै समस्या पनि सुनाउँथ्यौं । समस्यामा उहाँहरूले एउटा निकास दिनुहुन्थ्यो । अहिले त्यो किसिमको दोहोरो संवाद हुन पाएको छैन ।’
उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष नारान थापाका अनुसार ताप्लेजुङका व्यवसायी सडकको ट्रयाक खुलेपछि आफ्नै सवारीसाधन लिएर सीमासम्म पुगेका थिए । त्यसअघि तत्कालीन माओवादी ताप्लेजुङ इन्चार्ज खेलप्रसाद बुढाथोकी, नेपाली कांग्रेस जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङसहितको टोलीलाई पनि चिनियाँ अधिकारीले आफ्नै प्रशासनिक भवन परिसरमा स्वागत गरेको थिए ।
नाका खुल्नुअघि सीमामा पुगेका तत्कालीन प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेल र गोमादेवी चेम्जोङलाई पनि त्यसैगरी सम्मान गरिएको थियो । २०८१ चैतमा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माको नेतृत्वमा गएको टोलीले चीनको डिङजे काउन्टी पुगेर सीमा बैठक गरेको थियो । नाका बन्द रहेकाले टोली सीमासम्म मात्रै पुगेर फर्किएको थियो । प्रजिअ शर्माकै नेतृत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी प्रमुखको टोलीले रिउमा सीमा बैठक गरेको थियो । नाका भर्खर खुलेको अवस्थामा चिनियाँ अधिकारी किन नेपाल नआएको भन्ने विषयमा भने बैठकमा कुरा नभएको दोभासे छेतेन बताउँछन् ।
टिपताला नाका समुद्री सतहबाट पाँच हजार दुई सय मिटर उचाइमा छ । प्रशासनिक भवन बनाए पनि चिनियाँ अधिकारी त्यहाँ लामो समय बस्दैनन् । सीमामा सीसी क्यामरा राखेर रिउबाटै निगरानी गर्ने गरेका छन् । पक्की सडक भएकाले चिनियाँ अधिकारी रिउबाट आधा घण्टादेखि ४५ मिनेटमा सीमासम्म पुग्ने गरेको सीमावर्ती नेपाली बताउँछन् । जिल्ला प्रशासन कार्यालयले जारी गरेको यात्रा अनुमति पत्र (पास) भएका व्यक्तिले मात्रै सीमा पार गर्न पाउँछन् ।
सवारीसाधनमार्फत टिपताला भन्ज्याङ पुगेर फर्कन ताप्लेजुङ सदरमुकाम फुङलिङबाट कम्तीमा तीन दिन लाग्छ । तर अहिले सडक बिग्रिएकाले यातायात ठप्प छ । फुङलिङबाट फोरह्विल गाडीमा एक दिनमा सीमासम्म पुग्न सकिन्छ । जानेहरू पहिलो दिन सदरमुकामबाट ओलाङचुङगोलाको बस्तीमा पुग्ने, दोस्रो दिन सीमासम्म पुगेर फर्कने र तेस्रो दिन सदरमुकाम फर्कने गरेका छन् ।
वर्षाका कारण सडक बिग्रिएको र ठाडा खोलामा पानीको बहाव नघटेकाले लेलेपको इलाडाँडादेखि माथि गाडी जान सकेको छैन । तमोर नदी दुई ठाउँमा पुलबिना तर्नुपर्ने र खोलामा पानीको सतह नघटेकाले यातायात सञ्चालन गर्न मंसिरसम्मै कुर्नुपर्ने ओलाङचुङगोला वडा कार्यालयका कर्मचारी तेन्जिङ वालुङ बताउँछन् । ‘यहाँ आएपछि बाटो रोकियो भने लामो समय यतै बस्नुपर्ने भएकाले गाडीधनीले हमेसा ल्याउनै मान्दैनन्,’ उनले भने, ‘तमोर नदीमा पनि पानीको सतह नघटेकाले जोङगीन र गोला माथि तार्न समस्या छ ।’ धेरै कठिन हुने सुकेपानीमा भने बेलिब्रिज निर्माण भइसकेको छ ।
आनन्द गौतम कान्तिपुरका ताप्लेजुङ संवाददाता हुन् ।