थ्रीजी बन्द गर्ने क्रममा एनसेलले निःशुल्क फोरजी सिम अपग्रेड, अपग्रेड गर्दा ७ दिनका लागि २ जीबी बोनस डेटा र तत्काल फोरजीमा जान नसक्नेका लागि टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस तथा एसएमएस सेवा उपलब्ध गराउने भएको छ ।
काठमाडौँ — निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेलले एक महिनाभित्र थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने भएको छ । सरकारी स्वामित्वको नेपाल टेलिकमले पनि चालु आर्थिक वर्षभित्रै १ हजार वटा थ्रीजी साइट बन्द गर्ने लक्ष्य लिएको छ । पुराना र कम प्रभावकारी प्रविधिलाई विस्थापित गर्दै नयाँ पुस्ताको फोरजी र आगामी फाइभजी लगायत प्रविधिमा नेटवर्क स्तरोन्नति गर्ने योजनाअनुसार दुवै सेवा प्रदायकले थ्रीजी सटडाउन प्रक्रिया अघि बढाएको जनाएका छन् ।
एनसेलले आफ्नो नेटवर्कमा रहेका थ्रीजी साइटहरू चरणबद्ध रूपमा हटाउन थालिसकेको छ । हालसम्म एनसेलको कुल नेटवर्कको ३२ प्रतिशत थ्रीजी साइट बन्द भइसकेको जनाएको छ । बाँकी ६८ प्रतिशत थ्रीजी साइटलाई अबको एक महिनाभित्र देशैभरबाट पूर्ण रूपमा हटाउने तय गरेको छ । ‘हाम्रा कुल ३ हजार १ सय थ्रीजी साइटमध्ये करिब ४ सय वटा साइट पूर्ण रूपमा बन्द भइसकेका छन्, यो भनेको कुल साइटको लगभग ३२ प्रतिशत हो,’ एनसेलका प्रमुख सञ्चालन तथा नियामक मामिला अधिकृत डिल्लीराम श्रेष्ठले भने, ‘तिहारपछि, बाँकी रहेका करिब २ हजार १ सय ५० थ्रीजी साइटलाई पनि पूर्ण रूपमा बन्द गर्नेछौँ ।’
एनसेलले गण्डकी, लुम्बिनी, कर्णाली र काठमाडौं उपत्यकामा एक महिनाभित्रै सटडाउन सम्पन्न गर्ने कार्यतालिका बनाएको छ । श्रेष्ठका अनुसार एनसेलका अधिकांश ग्राहक फोरजीमा रूपान्तरण भइसकेका छन् । कुल सक्रिय ग्राहकमध्ये करिब ३ प्रतिशतले मात्र अझै थ्रीजी प्रयोग गरिरहेको उनले जानकारी दिए । ‘हामीले देशैभर फोरजी सेवा विस्तार गरी करिब ९५ प्रतिशत जनसंख्यामा पहुँच पुर्याइसके पनि ४ लाख २० हजारभन्दा बढी ग्राहकले अझै पनि थ्रीजी सिम बोकिरहनुभएको छ,’ उनले भने, ‘पुरानो प्रविधिलाई हटाउँदा हाम्रा विद्यमान सेवाको सुधारमा ध्यान केन्द्रित गर्न हामीलाई मद्दत पुग्नेछ ।’
आउटडेटेड अवस्थामा पुगेका पुराना प्रविधिलाई प्रणालीमा टिकाइराख्दा सञ्चालन लागत बढी हुने कम्पनीहरू औंल्याउँछन् । थ्रीजी बन्द गरेपछि यसले फ्रिक्वेन्सी फ्री गर्ने र फोरजीलाई अझ ‘इन्हान्स’ गर्न सजिलो बनाउने उनीहरूको तर्क छ । थ्रीजी सेवा बन्द हुँदा फोरजी सिम र कम्प्याटिबल हृयान्डसेट भएका ग्राहकलाई कुनै समस्या पर्ने छैन । फोरजी सेट भए पनि थ्रीजी सिम बोकेका ग्राहकले भने फोरजीको अनुभव लिन पाउने छैनन् र उनीहरूको डेटा सेवा टुजीमा सीमित हुने भएकाले कम्पनीले सिम अपग्रेड गर्न आग्रह गरेको छ ।
नेपाल टेलिकमले पनि थ्रीजी साइट हटाउने कार्यलाई योजनाबद्ध रूपमा अघि बढाएको छ । टेलिकमका अनुसार देशभरि रहेका कुल २ हजार ९ सय थ्रीजी साइटमध्ये १४० वटा साइट बन्द भइसकेका छन् । चालु आर्थिक वर्ष २०८३/८४ भित्र थप १ हजारवटा साइट बन्द गर्ने लक्ष्य राखिएको छ । ‘थ्रीजी साइटमध्ये १४० वटा साइट सटडाउन गरिसकेको अवस्था छ,’ नेपाल टेलिकमका प्रवक्त्ता कमल लामिछानेले भने, ‘यो आवभित्र १ हजार वटा साइट सटडाउन गर्ने योजना छ ।’
टेलिकमले यसअघि चितवन क्लस्टरमा पाइलट प्रोजेक्टको रूपमा थ्रीजी बन्द गरी त्यसको प्रभाव अध्ययन गरेको थियो । त्यसको नतिजा सकारात्मक आएको प्रवक्त्ता लामिछानले बताए । तर, भौगोलिक विविधता र ग्राहकको आर्थिक स्तरका कारण टेलिकमले सावधानीपूर्वक थ्रीजी सटडाउनका लागि कदम चालिरहेको उनको भनाइ छ । ‘हाम्रो उपस्थिति ग्रामिण पहाडी क्षेत्रमा पनि उत्तिकै छ, भौगोलिक विकटताले गर्दा त्यहाँका ग्राहकलाई तुरुन्तै फोरजी चल्ने सेट किन्न समस्या होला,’ उनले भने, ‘त्यसैले हतारमा सबै एकैपटक बन्द गर्नुभन्दा फोरजी विस्तार र सिम परिवर्तन कार्यक्रम सँगसँगै लैजाने सोचेका छौँ ।’ फोरजी चल्ने सेट भएर पनि थ्रीजी सिम चलाउने सक्रिय ग्राहक झन्डै ५ लाख र थ्रीजी मात्रै प्रयोग गर्ने ग्राहक करिब १ लाख ७० हजार रहेको नेपाल टेलिकमले जानकारी दिएको छ ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो एमआईएस प्रतिवेदन अनुसार असोजसम्म नेपालमा फोरजी प्रयोगकर्ताको संख्या २ करोड ६८ लाख ५८ हजार २६७ पुगेको छ । यसमा नेपाल टेलिकमका १ करोड ४७ लाख १४ हजार २७६ र एनसेलका १ करोड २ लाख ४३ हजार ९९१ फोरजी ग्राहक छन् । यसको तुलनामा थ्रीजी प्रयोगकर्ताको संख्या घटेर कुल ७ लाख ३८ हजार ७६१ मा सीमित भएको छ । सो तथ्यांकअनुसार नेपाल टेलिकमका ६ लाख ४२ हजार ७२० र एनसेलका ९६ हजार ४१ जना मात्रै थ्रीजी ब्रोडब्यान्ड ग्राहक बाँकी छन् । नेपालमा कुल ब्रोडब्यान्ड पहुँचमा फोरजीको हिस्सा ९२.०९ प्रतिशत पुग्दा थ्रीजीको हिस्सा २.५३ प्रतिशतमा झरेको छ ।
विश्वभर नै पुराना टुजी र थ्रीजी नेटवर्क बन्द गर्ने क्रम तीव्र बनेको छ । ग्लोबल मोबाइल सप्लायर्स एसोसिएसन (जीएसए) को अगस्ट २०२६ को प्रतिवेदन अनुसार सन् २०२६ को मध्यसम्म विश्वका ८९ देश तथा क्षेत्रमा ३१३ वटा टुजी र थ्रीजी स्विच–अफ सम्पन्न भइसकेका वा हुने क्रममा छन् । खासगरी थ्रीजीतर्फ ६७ वटा देशका १७४ सेवा प्रदायकले सेवा बन्द गर्ने प्रक्रिया अघि बढाएकोमा १०२ वटाले बन्द गरिसकेका छन् । टुजीतर्फ ७० देशका १३९ सेवा प्रदायकले बन्द गर्ने योजना बनाएकोमा ५६ वटाले बन्द गरिसकेको प्रतिवेदनमा उल्लेख छ ।
क्षेत्रगत रूपमा युरोपमा सबैभन्दा बढी ४३ प्रतिशत सटडाउन प्रक्रिया भएका छन् भने एसियामा २६ प्रतिशत र ल्याटिन अमेरिकामा ९ प्रतिशत रहेका छन् । अमेरिका, जापान, अस्ट्रेलिया, सिंगापुर र दक्षिण कोरिया जलगायत देशले पुराना नेटवर्क पूर्ण रूपमा हटाइसकेका छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को २०२५ को प्रतिवेदनअनुसार विश्वको ५५ प्रतिशत जनसंख्यामा फाइभजी र ९३ प्रतिशत जनसंख्यामा फोरजी नेटवर्कको पहुँच पुगिसकेको छ । पुराना प्रविधि बन्द गर्दा फ्रिक्वेन्सीको पुनःप्रयोग गरी फोरजी र फाइभजीको क्षमता बढाउन सकिने, ऊर्जा खपत घट्ने र साइबर सुरक्षा बलियो हुने भएकाले विश्वभर नै यसको गति बढेको देखिन्छ ।
नेपालजस्ता विकासोन्मुख देशमा भने एकसाथ थ्रीजी प्रविधि बन्द गर्दा ग्रामीण भेगका बासिन्दा, न्यून आय भएका वर्ग र ज्येष्ठ नागरिकहरू आधारभूत मोबाइल डेटा चलाउनबाट वञ्जित हुने जोखिम रहने कतिपयको चिन्ता छ । यस विषयमा नेपाल टेलिकमका प्रवक्त्ता लामिछानेले पहाडी तथा दुर्गम क्षेत्रका ग्राहकहरूको आर्थिक स्तर र भौगोलिक अवस्थितिलाई विचार गर्दै ग्राहकलाई सेवाबाट वञ्चित हुन नदिन हतार नगरी रणनीतिक रूपमा मात्रै थ्रीजी सटडाउन अघि बढाइएको प्रतिक्रिया दिए ।
उता, एनसेलका प्रमुख सञ्चालन तथा नियामक मामिला अधिकृत श्रेष्ठले पनि दुर्गम र आर्थिक रूपमा विपन्न समुदायका ग्राहक सेवाबाट वञ्चित नहुन् भनेर फोरजीमा तत्काल जान नसक्नेका लागि टुजी नेटवर्कमार्फत आधारभूत भ्वाइस कल र एसएमएस सेवा निरन्तर खुला राखिने बताए । ‘पुराना सिम कार्ड प्रयोग गरिरहनुभएका ग्राहकले निःशुल्क रूपमा फोरजी सिममा अपग्रेड गर्न सक्नुहुनेछ र यसरी सिम परिवर्तन गर्दा ७ दिनका लागि दुई जीबी डेटा निःशुल्क प्राप्त गर्नुहुनेछ,’ उनले भने, ‘थ्रीजीबाट नयाँ प्रविधिमा हुने रूपान्तरणलाई सकेसम्म सहज र व्यवस्थित बनाउने हाम्रो उद्देश्य छ ।’
सजना बराल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सञ्चार,सूचना प्रविधि बिटमा कलम चलाउँछिन् ।