गाउँपालिकाले कात्तिक ११ गते रकम पठाए पनि बढैयाताल ८ र ९ का लाभग्राहीलाई बैंकले मंसिर १ गतेदेखि मात्र वितरण गर्ने बताएको छ।
बर्दिया — ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, अपांगता भएका व्यक्ति तथा दलित बालबालिकाले पाउने सामाजिक सुरक्षा भत्ता वितरण गर्न हिमालयन बैंक लिमिटेडले आनाकानी गरेको छ। बढैयाताल गाउँपालिका–८ र ९ का लाभग्राहीका लागि गाउँपालिकाले बैंकमा पठाइसकेको भत्ता वितरण नगरी बैंकले तिहारपछि मात्रै दिने जनाएको हो।
असोज मसान्तसम्म सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण गर्ने अवधि भएकाले कात्तिक ११ गते नै लाभग्राहीका लागि बैंकमा रकम पठाइसकेको बढैयाताल गाउँपालिकाका वरिष्ठ लेखा अधिकृत नारायणराज त्रिपाठीले बताए। ‘बढैयाताल गाउँपालिकाले पालिकाभित्रका चारवटा बैंकमार्फत सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ,’ उनले भने, ‘अन्य बैंकले लाभग्राहीलाई भत्ता वितरण गरिरहेका छन्। हिमालयन बैंकले भने तिहारपछि वितरण गर्ने खबर आइरहेको छ।’
गाउँपालिकाका अन्य वडाका लाभग्राहीले सामाजिक सुरक्षा भत्ता पाए पनि वडा ८ र ९ का लाभग्राहीले भने पाउन सकेका छैनन्। हिमालयन बैंकले मंसिर १ गतेदेखि मात्रै भत्ता वितरण गर्ने अडान लिएपछि चाडपर्वका बेला बैंकमा पुगेर पनि खाली हात फर्किनुपर्दा ज्येष्ठ नागरिक चिन्तित छन्। ‘भत्ता पाउने आसैआसमा दसैं गयो,’ बढैयाताल गाउँपालिका–८ का ७३ वर्षीय रामजी घर्तीले भने, ‘बैंकमा आइसकेको भत्ता पनि खोइ के कारणले बैंकले वितरण गर्न मानेको छैन।’
चाडपर्वका बेला मिठोमसिनो खान खर्च आवश्यक पर्ने भए पनि आइसकेको रकम बैंकले रोक्दा दुःख लागेको उनले बताए। ‘आइसकेको भत्ताको रकम बैंकमा होल्ड नगरी चाडपर्वका बेला दिनुपर्ने हो,’ सोही वडाका ८१ वर्षीय ओमबहादुर थापा क्षेत्रीले भने, ‘हामी ज्येष्ठ नागरिकले केही गर्न नसक्ने भएर बैंकले हेला गरेको होला।’
बैंकले सामाजिक सुरक्षा भत्ता वितरण नगर्दा लाभग्राहीले आफूलाई सोधेर हैरान पारेको बढैयाताल गाउँपालिकाकी कार्यवाहक वडाध्यक्ष ममता कुमारी घर्ती मगरले बताइन्।
यता, हिमालयन बैंक लिमिटेडको शीतलाबजार शाखाका प्रबन्धक त्रिलोक चन्द्र उपाध्यायले गाउँपालिकाले बैंकसँग समन्वय नगरी भत्ताको रकम पठाउँदा समस्या भएको बताए। बैंकमा कारोबारको चाप रहेको उल्लेख गर्दै उनले कात्तिक ११ गते रकम प्राप्त भए पनि तिहारपछि कार्यालय खुलेसँगै वितरण गर्ने जानकारी दिए। तर, भत्ता तत्काल वितरण नगर्नुको कारण भने उनले खुलाउन चाहेनन्।
रामप्रसाद रामप्रसाद कान्तिपुरका बर्दिया संवाददाता हुन् । उनी समसामयिक विषयमा रिपाेर्टिङ गर्छन् ।