जिल्ला प्रशासन कार्यालय संखुवासभाले बिहिबार सूचना जारी गर्दै जिल्लाभित्रका हटिया, बजार तथा पसलहरूमा प्लास्टिकजन्य माला र फूलको भण्डारण तथा बिक्री–वितरण नगर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो।
संखुवासभा — जिल्ला प्रशासन कार्यालयले तिहार तथा अन्य चाडपर्वलाई लक्षित गर्दै संखुवासभामा प्लास्टिकजन्य माला तथा कृत्रिम फूलको बिक्री–वितरण र भण्डारणमा पूर्ण प्रतिबन्ध लगाइएको छ।
जिल्ला प्रशासन कार्यालय संखुवासभाले बिहिबार सूचना जारी गर्दै जिल्लाभित्रका हटिया, बजार तथा पसलहरूमा प्लास्टिकजन्य माला र फूलको भण्डारण तथा बिक्री–वितरण नगर्न व्यवसायीहरूलाई निर्देशन दिएको हो।
वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार, वन तथा वातावरण मन्त्रालयले २०८३ साल साउन १४ गते राजपत्रमा प्रकाशित गरेको सूचनाअनुसार नेपालभर प्लास्टिकजन्य फूलगुच्छाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाइएको प्रमुख जिल्ला अधिकारी डा डिजन भट्टराईले बताए ।
तिहारलगायतका चाडपर्वमा प्लास्टिकका माला तथा कृत्रिम फूलको प्रयोग बढ्दै जाँदा वातावरणमा प्रतिकूल असर पर्ने भएकाले प्राकृतिक फूलको प्रयोगलाई प्रोत्साहन गर्ने र वातावरण संरक्षण गर्ने उद्देश्यले प्रतिबन्धलाई कडाइका साथ कार्यान्वयन गर्न लागिएको उनले बताए ।
जिल्ला प्रशासन कार्यालयले प्रतिबन्धको अवज्ञा गरी प्लास्टिकजन्य माला तथा फूलको उत्पादन, आयात, बिक्री–वितरण वा भण्डारण गरेको पाइएमा वातावरण संरक्षण ऐन, २०७६, वातावरण संरक्षण नियमावली, २०७७ तथा प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिइएको छ।
प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईद्वारा हस्ताक्षरित सूचनामार्फत व्यवसायी, व्यापारी तथा सर्वसाधारणलाई प्रतिबन्धको पूर्ण पालना गर्न आग्रह गरिएको छ।