फिल्मलाई लिएर बहिष्कार अभियान र तोडफोडको धम्की आएको खबरपछि गृहसचिवको चासोमा सञ्चार मन्त्रालयले निर्माण पक्षलाई छलफलमा बोलाएको हो।
काठमाडौँ — शुक्रबारबाट रिलिज हुन लागेको फिल्म पाँच पाण्डवलाई रोक्नका लागि केही समूहबाट दबाब आएपछि सरकारले छलफलका लागि बोलाएको छ । फिल्मका निर्देशक वसन्त निरौलाका अनुसार बिहीबार फिल्मबारे गृहसचिवले सन्चार मान्त्रलयका कर्मचारीलाई फोन गरेर फिल्म विवादबारे चासो दिएका थिए ।
‘सञ्चार मन्त्रालयबाट हाम्रो टिमलाई फोन आएको थियो । छलफलका लागि बोलाइएको थियो । तर मलाई भने अहिलेसम्म आधिकारिक फोन आएकौ छैन,’ निरौलाले भने, ‘हाम्रो टिमबाट छलफलका लागि मन्त्रालय जाँदै हुनुहुन्छ । फिल्म रोक्नेबारे केही पत्र आएको छैन ।’
फिल्म निर्माण टिमका एक सदस्यले नेपालगन्जको हलमा केही व्यक्तिहरू गएर फिल्म रिलिज गरे तोडफोड गर्ने धम्की दिएका भन्ने खबर आफूहरूले पाएकाे र यही खबर गृहसचिवसम्म पुगेपछि उनले सन्चार मन्त्रालयलाई फोन गरेर यसबारे चासो दिएका थिए ।
फिल्मको नाम महाभारतका पात्रबाट लिइएको र रिलिज भएको गीतका केही दृश्यलाई लिएर हिन्दु धर्मको अपमान भएको भन्दै ‘पाँच पाण्डव’ बहिष्कारको अभियान सामाजिक सन्जालमा केही दिनयता चलेको थियो । तर निर्माण टिमले भने यो फिल्मको कथा महाभारतसँग सम्बन्धित नभएको प्रस्ट्याइरहेको छ ।
यो फिल्मले सरकारको आधिकारिक निकाय चलचित्र जाँच पास समितिबाट युनिभर्सल सर्टिफिकेटसहित रिलिज अनुमति पाइसकेको छ ।
समर्पण कान्तिपुर मिडिया ग्रुपमा आबद्ध उनी कला संवाददाता हुन् । उनी फिल्म, नाटक र गीत संगीतका विविध आयाम र सामाजिक मुद्दाबारे रिपोर्टिङ गर्छन् ।