भारी वर्षापछि लेदोसहितको ढुंगा र माटो बस्तीमा पस्दा केही परिवार विस्थापित भएका छन् भने सडक, खानेपानी र विद्युत् संरचनामा समेत क्षति पुगेको छ।
काभ्रे — रोडा ढुंगा खानी उद्योगबाट निस्किएको ढुंगा, माटो र अन्य फोहोरको उचित व्यवस्थापन नगर्दा बेथानचोक गाउँपालिका–४, खहरेखोलाको बस्ती बाढीपहिरोको चपेटामा परेको छ। उद्योगले अव्यवस्थित रूपमा थुपारेको फोहोर वर्षासँगै बगेर बस्तीमा पस्दा ६ घर पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने अन्य घर तथा संरचना जोखिममा परेका छन्। यससम्बन्धी प्रतिवेदन गाउँपालिकाले बुधबार जिल्ला प्रशासन कार्यालय काभ्रेमा पेस गरेको छ।
गाउँपालिकाले स्थलगत अध्ययनपछि तयार पारेको प्रतिवेदनमा खहरेखोलामा सञ्चालित चालाल गणेशस्थान रोडा ढुंगा उद्योगबाट निस्किएको फोहोरको उचित व्यवस्थापन नहुँदा बस्तीमा विपत्ति निम्तिएको निष्कर्ष निकालिएको छ। सोही प्रतिवेदनका आधारमा जिल्ला विपद् व्यवस्थापन समितिको बुधबार बसेको बैठकले खानी सञ्चालनमा तत्काल रोक लगाउने निर्णय गरेको छ।
जल तथा मौसम विज्ञान विभागले कात्तिक १२ देखि १४ गतेसम्म बागमती प्रदेशका विभिन्न स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरेको थियो। सोही अवधिमा परेको अविरल वर्षाका कारण उद्योग क्षेत्रमा थुपारिएको वेस्ट मटेरियल बगेर कात्तिक १४ गते बिहान ढुंगा र माटोसहितको लेदो बस्तीमा पसेको प्रतिवेदनमा उल्लेख छ।
गाउँपालिकाले कात्तिक १७ गते गरेको स्थलगत निरीक्षण र प्रभावित क्षेत्रका १३ जना स्थानीयसँगको छलफलपछि तयार पारेको प्रतिवेदनले उद्योगको फोहोर व्यवस्थापनमा भएको लापरबाहीलाई विपद्को मुख्य कारणका रूपमा औंल्याएको हो।
प्रतिवेदनअनुसार बाढीपहिरोले ६ घर पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ भने दुई घर उच्च जोखिममा छन्। घरसँगै कटेज, जग्गा तथा निर्माणाधीन संरचनामा समेत क्षति पुगेको छ। केही परिवार घरबारविहीन भएका छन्। प्रभावितमध्ये पोते तामाङ, जगत तामाङ र सेते तामाङ आफन्तको घरमा आश्रय लिएर बसेका छन्। घर तथा संरचनामा क्षति पुगे पनि मानवीय र चौपाया क्षति भने नभएको प्रहरीको सर्जमिन मुचुल्कामा उल्लेख छ।
बाढीले बस्तीका अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको छ। स्थानीय सडकमा क्षति पुगेको छ भने खानेपानीको इन्टेक, ट्यांकी र पाइप पुरिएका छन्। एउटा विद्युत् पोल ढलेको र अन्य पोलसमेत माटोमा पुरिएको प्रतिवेदनमा उल्लेख छ। प्रभावित बस्तीको दीर्घकालीन सुरक्षाका लागि खहरेखोलाको आसपास सिमेन्टको पर्खाल निर्माण गर्नुपर्ने वा जोखिममा रहेका परिवारलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुपर्ने सुझाव गाउँपालिकाको टोलीले दिएको छ।
प्रभावित परिवारका लागि वैकल्पिक आवास निर्माणमा उद्योगले सहयोग गर्नुपर्ने र उनीहरूलाई रोजगारीसमेत उपलब्ध गराउनुपर्ने प्रतिवेदनमा उल्लेख छ। उद्योग सञ्चालकका तर्फबाट विस्थापित परिवारलाई खाद्य तथा गैरखाद्य राहत सामग्री वितरण गरिएको पनि गाउँपालिकाको प्रतिवेदनमा जनाइएको छ।
गाउँपालिकाले विपद् कोषमार्फत प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराएको अध्यक्ष भगवान अधिकारीले बताए। उनका अनुसार प्रभावित बस्तीको दीर्घकालीन व्यवस्थापन गाउँपालिकाको एकल प्रयासबाट मात्रै सम्भव छैन। यसका लागि जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिसँग थप समन्वय र सहयोग आवश्यक छ।
गाउँपालिकाले क्षतिको विवरणसहित जिल्ला प्रशासन कार्यालयमा प्रतिवेदन पेस गरेको थियो। सोही प्रतिवेदनमाथि छलफल गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले उक्त खानी सञ्चालनमा तत्काल रोक लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले बताए।
ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।