Trending
Prev Story
Next Story

१२ वर्षको प्रतीक्षापछि टिकुलीया पुलमा गुड्यो गाडी

Ekantipur •
November 04, 2026 • 11:31 AM
1
1 reads 0 reactions

बाढी र डुंगा दुर्घटनाको पीडा बोकेका गौर र ईशनाथ नगरपालिकाका बासिन्दाले अब खेत, अस्पताल र सदरमुकाम पुग्न सुरक्षित बाटो पाउने आशा गरेका छन्।

१२ वर्षको प्रतीक्षापछि टिकुलीया पुलमा गुड्यो गाडी

बाढी र डुंगा दुर्घटनाको पीडा बोकेका गौर र ईशनाथ नगरपालिकाका बासिन्दाले अब खेत, अस्पताल र सदरमुकाम पुग्न सुरक्षित बाटो पाउने आशा गरेका छन्।

रौतहट — गौर नगरपालिका–४ टिकुलीयास्थित लालबकैया नदीको पुल निर्माण सुरु भएको १२ वर्षपछि संचालनमा आएको छ । पुलमा सवारी साधन संचालन सुरु भएपछि गौर र ईशनाथ नगरपालिकाका बासिन्दाका लागि लामो समयदेखि नदी वारपार गर्न डुंगाको भर पर्नुपर्ने बाध्यता हटेको छ ।

सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरका अनुसार पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डिभिजन प्रमुख अरुणकुमार लाल कर्णले पुल निर्माणको काम लगभग सकिएर सवारी सुचारु भइसकेको जनाकारी दिए । ‘निर्माणको काम लगभग सकिन लागेको छ । सडक एप्रोज र नदी नियन्त्रणको काम मात्र बाँकी छ,’ उनले भने,‘चाडै सक्ने गरी काम भइरहेको छ ।’

पुल सञ्चालनमा आएपछि लालबकैया नदीपारिका बन्जाराहा, औरैया, मठियालगायतका बासिन्दालाई सदरमुकाम गौर आउजाउ गर्न सहज हुनेछ । विशेषगरी नदीपारि खेतीपाती हुने टिकुलीयाका स्थानीयलाई खेतसम्म पुग्न जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हट्ने अपेक्षा छ । पुलमा अहिले साना चार र दुई पाग्रे सवारी र टिपर समेत चल्न थालेका छन् ।

२०७१ असार २९ मा पप्पु कन्स्ट्रक्सनले लालबकैया नदीमा पक्की पुल निर्माण गर्ने जिम्मेवारी सकारेको थियो । तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले भव्य समारोहका बीच शिलान्यास गरेका थिए । यो पुल १४ करोड ९३ लाख २७ हजार रुपैयाँ लागतमा २०७५ असार २५ गतेभित्र निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो । तर, ठेक्का पाएको कम्पनीका तत्कालीन संचालक हरिनारायण रौनियार २०७४ को निर्वाचनमा जनता समाजवादी पार्टीबाट संघीय सांसद निर्वाचित भए । राजनीतिमा सक्रिय भएपछि उनले कम्पनीको अध्यक्ष पद त छोडे, तर पुल भने अलपत्र नै छाडियो ।

ठेकेदारको मनोमानीका कारण २०७४ सालसम्म पुलको भौतिक प्रगति जम्मा १७ प्रतिशतभन्दा अगाडि बढ्न सकेन । सम्झौता अनुसारको समय सकिए पछि पप्पुले पटक/पटक म्याद थपका लागि सडक कार्यालयमा निवेदन दिएको थियो । कामको प्रगति नदेखिए पछि कार्यालयले म्याद थपको प्रक्रिया अघि बढाएन् ।

अन्ततः सडक विभागले २०८० असार १५ गते पप्पु कन्स्ट्रक्सनलाई कालोसूचीमा राख्दै ठेक्का तोड्यो । ठेक्का तोडिएपछि मात्रै पुल निर्माणको बाकी काम अघि बढाउने बाटो खुलेको थियो । सडक डिभिजनले २०७९ चैत ३ मा पुनः ठेक्का आहृवान गरेको थियो । २०८० असोज ९ गते आजाद दिपु जेभी रौतहटसँग २७ करोड ६६ लाख रुपैयाँमा बाँकी निर्माण कार्य सम्पन्न गर्ने सम्झौता भयो । नयाँ निर्माण कम्पनीले २०८१ चैत १ भित्र काम सक्नुपर्ने सम्झौता गर्‍यो । तर स्रोत सुनिश्चितता र बजेट अभावको समस्या देखाउँदै नयाँ कम्पनीले पनि अपेक्षित गतिमा काम अघि बढाउन सकेन ।

निर्माण कार्य सुस्ताएपछि २०८३  असार ३० मा पहिलो पटक म्याद थप गर्नुपरेको सडक डिभिजन कार्यालयको भनाइ छ । आजाद दिपु जेभीका संचालक रामसागर साउतले बिभिन्न समस्या झेलेर भए पनि पुलको काम सम्पन्न गरेको बताए । ‘अब लगभग सबै काम सकिन लागिसक्यो । अहिले गाडी समेत चल्न थालेको छ,’ उनले भने,‘नदी नियन्त्रणको काम भने ढुंगा अभावले प्रभावित भएको छ । अहिले कतै ढुंगा पाइएको छैन् ।’ भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनील लम्सालले पुल निर्माणमा चासो दिएपछि कामले गति लिएको सडक डिभिजन कार्यालयको भनाइ छ ।

पुल निर्माणको जिम्मा पाएको कम्पनीको लापरबाही, ठेक्का तोड्न भएको ढिलाइ, पुनः ठेक्का प्रक्रिया, बजेट अभाव र पटकपटक म्याद थपिँदा स्थानीयले वर्षौंसम्म प्रतीक्षा गर्नुपरेको स्थानीय बताउँछन् । स्थानीय रामबाबु साहले पुल बनेपछि अब कसैले जोखिम मोलेर डुंगा चढ्नुपर्ने छैन भन्ने आशा पलाएको सुनाए । २०७४ भदौ ९ गते साझ टिकुलीया घाटमा डुंगा पल्टिँदा साहकी आमा शान्तीदेवीको पनि मृत्यु भएको थियो । ‘टिकुलीयाका बासिन्दाका लागि यो पुल सडक र नदी जोड्ने संरचनामात्र होइन, वर्षौंदेखिको पीडा र प्रतीक्षापछि प्राप्त हुन लागेको राहत पनि हो,’ उनले भने,‘पुलको कथा विकास निर्माणमा हुने ढिलाइको नमुना मात्र होइन, सार्वजनिक पूर्वाधार निर्माणमा हुने लापरबाहीले नागरिकको जीवनमा पार्ने गम्भीर असरको कथा पनि हो ।’

स्थानीय संजय सहनीले पुल नहुँदा नदीको दुवैतर्फका बस्तीबीच रहेको सामाजिक, आर्थिक र पारिवारिक सम्बन्धमा पारेको बाधा हट्ने बताए । लालबकैया नदीको वारि गौर नगरपालिका र पारि ईशनाथ नगरपालिका पर्छ ।

टिकुलीयाका अधिकांश स्थानीयको खेतीपाती नदीपारिको ईशनाथ नगरपालिकामा पर्छ । खेती गर्न जान र फर्किन उनीहरुलाई नदी तर्नैपर्ने बाध्यता थियो । बन्जाराहा, औरैया, मठियालगायतका बस्तीका नागरिकलाई गौर पुग्न पनि नदीको अवस्था हेर्नुपर्ने हुन्थ्यो । नदीमा पानीको सतह बढेका बेला डुंगा यात्रा जोखिमपूर्ण बन्थ्यो । वर्षायाममा आवागमन प्रभावित हुँदा बिरामीलाई अस्पताल पुर्‍याउन, र किसानलाई खेतीपाती गर्नसमेत कठिनाइ हुन्थ्यो । अब पुल सञ्चालनमा आएपछि यी समस्या धेरै हदसम्म समाधान हुने गौर नगरपालिकाका प्रमुख शम्भु साहले बताए । ‘पुल बनेपछि किसानलाई खेतसम्म पुग्न सहज हुनेछ । बिरामी र दैनिक कामकाजका लागि सदरमुकाम आवतजावत गर्ने पनि राहत पाउनेछन्,’ उनले भने,‘तीन/चार वर्षमा बन्नुपर्ने पुल १२ वर्ष लाग्यो । यो दुःखद् हो ।’

२०७४ भदौ ९ मा लालबकैया नदीमा ठूलो बाढी आएको थियो । खेतीपातीको काम सकेर २९ जना स्थानीय डुंगामा चढेर नदी वारि फर्किंदै थिए । साझको करिब ७ बज्न लागेको थियो । नदीमा पानीको बहाव तीव्र थियो । निर्माणाधीन पुलका पिल्लरबीचबाट डुंगा अघि बढिरहेको थियो । अचानक डुंगा अनियन्त्रित भयो । निर्माणाधीन पुलको पिल्लरमा ठोक्किएपछि पल्टियो । नदीमा खसेका यात्रुमध्ये २४ जना पौडिएर ज्यान जोगाउन सफल भए । तर ५ जनाले ज्यान गुमाएका थिए ।

शिव उनी कान्तिपुरका संवाददाता हुन् । रौतहटलाई केन्द्र बनाएर उनले मधेश प्रदेशको राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
18h ago
झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

झोलुङ्गे पुल निर्माणपछि दुई पालिकाका स्थानीयलाई आवतजावत सहज

सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका र त्रिपुरासुन्दरी गाउँपालिकालाई जोड्ने १६४ मिटर लामो झोलुङ्गे पुल निर्माण सम्पन्न भएको छ।

#पुल #नगरपालिका
Compare →
Hamro Patro News
4d ago
सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो पुल

सम्झौता अवधिभन्दा १० महिना अगाडि नै बन्यो पुल

मोरङको रतुवामाई नगरपालिकामा कटनुखोला पुल निर्माण सम्झौता अवधिभन्दा १० महिनाअघि नै सम्पन्न भएको छ । रतुवामाई नगरपालिका–८ स्थित जनता बाँध क्षेत्रमा पर्ने डाम्राभित्ता बजार पूर्व भुल्काडोवा जोड्ने सड...

#पुल #नगरपालिका
Compare →
Onlinekhabar
10h ago
दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएपछि होटल व्यवसाय प्रभावित

२७ कात्तिक, महेन्द्रनगर । दोधारा चाँदनी झोलुङ्गे पुल भत्किएर आवामन रोकिएपछि पुल वारिपारितर्फका होटल व्यवसाय धरासायी बनेका छन् । गत असोज दोस्रो साता महाकाली नदीमा आएको बाढीले दोधारा चाँदनी र भीमदत्त नगरपालिका जोड्ने उक्त पुल धरासायी …

#पुल
Compare →
Bizshala
13h ago
१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

१५ वर्षपछि कमला पुल खुलाउने तयारी, मंसिर पहिलो सातादेखि सवारी चलाउने लक्ष्य

काठमाण्डौ । धनुषा र सिरहा जोड्ने कमला नदीमाथिको पुलमा करिब १५ वर्षको प्रतीक्षापछि सवारीसाधन सञ्चालन गर्ने तयारी भएको...

#पुल
Compare →

Related Stories

Technology
Build #2611