ब्रिट्नीले इन्स्टा पोष्टमा आफुविरूद्ध परिवारकै मान्छेहरूले पर्दा पछाडी अनेकौं षड्यन्त्र बुनेको दाबी गरेकी छन् ।
काठमाडौँ — अमेरिकी पपगायिका ब्रिट्नी स्पियर्सले आफ्नै परिवारका सदस्य तथा पूर्वपतिविरुद्ध तितो पोखेकी छन् । उनिहरुले आफूलाई ‘कमारा’ (दास) सरह व्यवहार गरेको भन्दै ब्रिट्नीले गम्भीर आरोप लगाएकी छन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट शेयर गर्दै उनले आफ्नै बहिनी जेमी लिन स्पियर्स र पूर्वपति केभिन फेडरलाइनविरुद्ध उक्त आक्रोश पोखेकी हुन् ।
आफ्ना सन्तान भेट्न जाँदा वा पारिवारिक आउजाउका क्रममा आफूमाथि मानसिक र व्यावहारिक शोषण भएको भन्दै ब्रिट्नीले अब ‘नयाँ परिवार खोज्ने’ घोषणासमेत गरेकी छन् । सन् २००३ को फिल्म ‘अपटाउन गर्ल्स’ को दृश्यमा बालकलाकार डकोटा फानिङले माझी औंला (अश्लीलता) देखाएको एक तस्बिर शेयर गर्दै ब्रिट्नीले इन्स्टा पोष्टमा आफ्नै मान्छेहरूले पर्दा पछाडी अनेकौं षड्यन्त्र बुनेको दाबी गरेकी छन् ।
इन्स्टाग्राम पोस्टमा ब्रिट्नीले कोभिड महामारीका बेला आफ्नै घरमा भोगेका तीता अनुभवहरूको खुलासा गरेकी छन् । ‘कोभिड महामारीको समयमा लुइजियाना जाँदा बहिनी जेमी लिनले मलाई उनकी छोरी आइभीलाई एकपटक पनि समात्न दिइनन् । यता पूर्वपति केभिनले छोराहरूलाई लिन जाँदा उनीहरूको शौचालयसम्म प्रयोग गर्न दिएनन्,’ ब्रिटनिले लेखेकी छन्, ‘उनीहरूले मलाई दास जस्तो अनुभव गराए । मेरो पछाडि उनीहरूका थुप्रै रहस्यमय गतिविधि हुन्थे, जबकि मैले जीवनभर केवल बुबाका लागि काम मात्र गरिरहें ।’
पारिवारिक सम्बन्ध पूर्ण रूपमा चिसिएपछि तनावमा रहेकी पपस्टार ब्रिट्नीले आफ्ना समर्थकहरूमाझ ढिलो–चाँडो आफूले नयाँ परिवार रोज्ने दृढता व्यक्त गरेकी छन् ।
ब्रिट्नी स्पियर्सको जीवनमा पारिवारिक हस्तक्षेप र नियन्त्रणको इतिहास लामो छ । सन् २००८ देखि सुरु भएको उनको बहुचर्चित र विवादित १३ वर्षे ‘कन्जर्भेटरसिप’ (कानुनी संरक्षकत्व) सन् २०२१ को नोभेम्बरमा मात्रै अन्त्य भएको थियो । उक्त अवधिमा उनका बुबा जेमी स्पियर्सले ब्रिट्नीको व्यक्तिगत जीवन, वित्तीय मामिला र सांगीतिक करियरमाथि पूर्ण नियन्त्रण कायम राखेका थिए । संरक्षकत्वबाट मुक्त भए पनि परिवारसँगको उनको आन्तरिक कलह भने अझै साम्य हुन सकेको छैन ।
विवाद, कानुनी झमेला र सांगीतिक यात्रा
पछिल्ला केही वर्ष ब्रिट्नीका लागि सांगीतिक भन्दा पनि व्यक्तिगत जीवनका उतारचढावले भरिएका छन् । पछिल्लो समय उनले आफ्ना सम्पूर्ण सांगीतिक क्याटलगको अधिकार ‘प्राइमरी वेभ’ नामक कम्पनीलाई बिक्री गरेकी थिइन् । त्यसबाहेक, मादक पदार्थ सेवन गरी गाडी चलाएको अभियोगमा उनी कारबाहीमा समेत परेकी थिइन् । अदालतले उनलाई १२ महिनाको ‘प्रोबेसन’ (सशर्त छाडिने अवधि), ३ महिनाको सचेतना कक्षा तथा नियमित मनोवैज्ञानिक र मनोचिकित्सकसँगको परामर्शमा रहन आदेश दिएको थियो ।
सांगीतिक तर्फ भने, उनले अक्टोबरमा ‘सी विल नेभर बी मी’ नामको गीत सार्वजनिक गरेकी थिइन्, जुन उनले पूर्वप्रेमी जस्टिन टिम्बरलेकसँग मिलेर लेखेकी थिइन् । यो गीत मूलतः उनको सन् २००१ को आफ्नै नामको चर्चित एल्बम ‘ब्रिट्नी’ का लागि तयार पारिएको थियो । ब्रिट्नीको पछिल्लो सांगीतिक एल्बम ‘ग्लोरी’ सन् २०१६ मा सार्वजनिक भएको थियो ।
विश्वभर करोडौं प्रशंसक कमाएकी यी पप आइकनको निरन्तरको पारिवारिक कलह र संघर्षले संगीत क्षेत्रमा फेरि एकपटक ठूलो बहस सिर्जना गरिदिएको छ ।
(याे विभिन्न सञ्चारमाध्यमका आधारमा तयार पारिएको सामग्री हो ।)