रौतहटको चन्द्रपुरमा करिब तीन वर्ष बसेको यमगज पछिल्लो साता आधाभार–अमलेखगन्ज क्षेत्रमा देखिएको छ, उपचारपछि यसको आचरण शान्त बन्दै गएको छ।
पर्सा — रौतहटको चन्द्रपुर आसपासको राष्ट्रिय वन क्षेत्रमा करिब तीन वर्षदेखि बस्दै आएको जंगली हात्ती ‘यमगज’ पछिल्लो एक सातादेखि पर्सा राष्ट्रिय निकुञ्जको आधाभार–अमलेखगन्ज क्षेत्र आसपास देखिन थालेको छ ।
विगतमा मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पुर्याउने र अत्यन्त आक्रामक व्यवहार देखाउने यमगजको गतिविधि पछिल्लो समय भने तुलनात्मक रूपमा शान्त हुँदै गएको छ ।
रौतहटमा बस्दै गर्दा अगाडिको दाहिने खुट्टामा गोली लागेर गम्भीर घाइते भएको यमगज संक्रमणका कारण झन्डै मृत्युको मुखमा पुगेको थियो । राष्ट्रिय प्रकृति संरक्षण कोषको सौराहा कार्यालयका चिकित्सक टोलीले पटकपटक उपचार गरेपछि अहिले उसको घाउ धेरै हदसम्म निको भएको छ ।
पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामका अनुसार पाँच वर्षअघिको तुलनामा यमगजको आचरणमा निकै परिवर्तन आएको छ । उमेर बढ्दै जाँदा मत्ता हात्तीको आक्रामकता पनि क्रमशः कम हुँदै जाने भएकाले यमगजको व्यवहारमा आएको परिवर्तनमा उमेरको प्रभाव रहेको उनको बुझाइ छ ।
‘पाँच वर्षअघिको यमगज र अहिलेको यमगजको आचरणमा निकै परिवर्तन आइसकेको छ,’ राम भन्छन्, ‘यो परिवर्तनमा उसको उमेर पनि एउटा कारण हो । उग्र स्वभावका हात्ती पनि उमेर बढ्दै जाँदा प्रायः शान्त हुँदै जान्छन् ।’
सन् २०२१ मा पूर्वी नेपालको झापाबाट पर्सा र चितवन राष्ट्रिय निकुञ्जको वन क्षेत्रमा आइपुगेका तीन जंगली हात्तीमध्ये यमगज पनि एक हो । त्यतिबेला यमगजसँगै मकुना र दारे नामका हात्ती पनि आएका थिए । तीमध्ये मकुनालाई दुई वर्षअघि चितवनमा सेनाले गोली हानी मारेको थियो भने दारे अर्को हात्तीको समूहमा मिसिएर बसेको संरक्षण अधिकृत राम बताउँछन् ।
सामान्यतया मत्ता हात्ती सहवासका लागि ढोईको खोजीमा, पुर्खाले हिँडेको बाटो पछ्याउँदै वा समूह ठूलो भएपछि छुट्टिएर एक्लै विचरण गर्ने गर्छन् । हात्तीले विनाकारण मानिसमाथि आक्रमण नगर्ने र मानव बस्ती वा सडक आसपास पुगेको अवस्थामा पनि प्रायः दिनको समयमा लुकेर बस्ने गरेको राम बताउँछन् । तर, आफूलाई दुःख दिने वा आक्रमण गर्ने मानिसलाई लामो समयसम्म सम्झिराख्ने हात्तीको स्वभाव हुन्छ । मानिसलाई दुःख दिएको १५ देखि २० वर्षपछि पनि चिनेको आधारमा हात्तीले आक्रमण गरेका घटना रहेको उनी बताउँछन् ।
पर्सा राष्ट्रिय निकुञ्ज, यससँग जोडिएको राष्ट्रिय वन तथा आसपासका क्षेत्रमा विचरण गर्ने क्रममा यमगजले बारा, पर्सा, रौतहट र मकवानपुरमा गरी आधा दर्जन सर्वसाधारणको ज्यान लिइसकेको छ । तर, पछिल्लो तीन वर्षयता यमगजको आक्रमणबाट सर्वसाधारणको ज्यान गएको घटना सार्वजनिक भएको छैन ।
हाल करिब १२–१३ वर्षको वयस्क यमगजले पाँच वर्षअघि निकुञ्जको आधाभार कार्यालय नजिकै अमलेखगन्जमा यमपञ्चकका दिन एक महिलाको ज्यान लिएको थियो । त्यस घटनापछि उक्त जंगली हात्तीलाई ‘यमगज’ नाम दिइएको हो ।
रौतहटदेखि मकवानपुरसम्मका चार जिल्लाका निकुञ्ज तथा राष्ट्रिय वन क्षेत्रमा तीव्र गतिमा विचरण गर्ने यमगजको गतिविधिले लामो समयसम्म स्थानीयलाई त्रसित बनाएको थियो । निकुञ्जको मध्यवर्ती क्षेत्र तथा राष्ट्रिय वन आसपासका बस्तीमा प्रवेश गरेर बालीनाली नष्ट गर्ने, घर भत्काउने र अन्न राखिएका भकारी फुटाएर खाने जस्ता गतिविधि उसले गर्दै आएको थियो ।
यमगजकै गतिविधिका कारण निकुञ्जको अमलेखगन्जस्थित हात्तीसारमा रहेका आठवटा पोथी हात्तीलाई चार वर्षअघि रामभौरीभाठा सारिएको थियो । यमगजले ती ढोईको पछि लाग्न नछाडेपछि करिब २५ किलोमिटर पश्चिम निकुञ्जकै रामभौरीभाठा पोस्टमा स्थानान्तरण गरिएको थियो । तर, त्यहाँ पनि यमगज पुगेर दुःख दिन थालेपछि ती हात्तीलाई थप करिब ३७ किलोमिटर पश्चिम मकवानपुरको प्रतापपुर रेन्ज पोस्टमा सारिएको थियो।
प्रतापपुर पोस्ट आसपास अर्को मत्ता हात्तीसँग यमगज दुई पटक भिडेको थियो । उक्त हात्तीले खेदेपछि यमगज पुनः पर्सा, बारा, मकवानपुर र रौतहटका विभिन्न वन क्षेत्रमा विचरण गर्न थालेको हो ।
यमगजको उग्रता कम हुने अपेक्षासहित राष्ट्रिय प्रकृति संरक्षण कोष, जैविक विविधता संरक्षण केन्द्र सौराहाको प्राविधिक टोलीले २०७९ कात्तिकको पहिलो साता डार्ट गरी उसका दुवै दारा काटेको थियो । तर, दारा काट्दा पनि तत्काल उसको आक्रामक व्यवहारमा अपेक्षित कमी आएको थिएन । अहिले भने उपचारपछि खुट्टाको घाउ निको हुँदै जानु र उमेर बढ्नुका साथै उसको व्यवहारमा समेत परिवर्तन देखिन थालेको राम बताउँछन् ।
शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।