निर्माण सामग्रीको मूल्यवृद्धि र वर्षात्को कारण देखाउँदै निर्माण कम्पनीले जेठदेखि काम रोकेपछि ५२ किलोमिटर सडकमा यात्रुले सास्ती भोगिरहेका छन्।
सल्यान — मदन भण्डारी राजमार्गअन्तर्गत रोल्पा–सल्यान सडक खण्डको सल्यानतर्फ पर्ने पातिहाल्नादेखि बाग्चौरसम्मको सडक स्तरोन्नति तथा कालोपत्रेको काम चार महिनादेखि रोकिएको छ ।
निर्माण सामग्रीको मूल्यवृद्धि र वर्षात्को समयमा काम गर्न कठिन हुने कारण देखाउँदै निर्माण कम्पनीले गत जेठदेखि काम रोकेको हो ।
माडीचौर–घर्तीगाउँ–सुवाओराल हुँदै पातिहाल्ना–बाग्चौरसम्मको ५२ किलोमिटर सडक स्तरोन्नति तथा कालोपत्रेका लागि सरकारले तीन अर्ब रुपैयाँ बजेट विनियोजन गरी ठेक्का आह्वान गरेको थियो । दुई वर्षअघि कुमार श्रेष्ठ निर्माण सेवा प्रालि, कैलालीले निर्माणको जिम्मा पाएर काम सुरु गरेको थियो ।
निर्माण रोकिएपछि वर्षात्को पानीले सडकमा खाल्डाखुल्डी पारेको छ । भलले माटो बगाउँदा सडक चिराचिरा परेको छ भने ठाउँठाउँमा खसेका पहिरोसमेत हटाइएको छैन । यसले गर्दा स्थानीयलाई आवतजावतमा कठिनाइ भएको छ । यात्रु जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
निर्माण कम्पनीले वैशाख र जेठमा पनि छिटपुटबाहेक काम गर्न नसकेको र असारदेखि कामै रोकेपछि वर्षात्ले सडकमा क्षति पुर्याएको बाग्चौर नगरपालिका–९ पातिहाल्नाका वीरबहादुर ओलीले बताए । पानी परेपछि सडक चिप्लो र हिलाम्मे हुने तथा गाडी चल्न नसक्दा पैदलै आवतजावत गर्नुपर्ने अवस्था आउने उनले सुनाए । ‘निर्माण कम्पनीले सुरु–सुरुमा तीव्र गतिमा काम गरेको थियो । कोटमौलामा बस्ती भएका क्षेत्रमा घरधनीले मुआब्जा नपाउँदासम्म घर फाल्न नदिने भनेपछि र बिजुलीका पोल हटाउन कठिनाइ भए पनि निर्माणको कामले गति लिन सकेको थिएन । अहिले त काम नै रोकिएको छ,’ उनले भने ।
पातिहाल्ना–कोटमौला–बाग्चौर सडक कालोपत्रे हुने भएपछि खुसी भएका अर्का स्थानीय रेसम डाँगीले निर्माण कम्पनीको ढिलासुस्तीले सास्ती थपिएको बताए । फागुनदेखि जेठसम्म धुलाम्मे हुने सडक वर्षात्को समयमा हिलाम्मे हुँदा गाडी तथा दुईपांग्रे सवारीसाधनमा यात्रा गर्न कठिन हुने गरेको उनले बताए । पछिल्लो समय निर्माण कम्पनीले काममा लापरबाही गरेको उनको भनाइ छ ।
निर्माण कम्पनीले वर्षात्को कारण देखाउँदै काम रोके पनि वैशाख र जेठमा समेत सामान्य कामबाहेक केही नगरेको बाग्चौर नगरपालिका–९ का वडाध्यक्ष यज्ञबहादुर डाँगीले बताए । निर्माणको काम अघि बढाउन ठेकेदारलाई पटक–पटक आग्रह गरे पनि ढिलाइ भइरहेको उनले जानकारी दिए । निर्माणमा भएको ढिलाइ र वर्षात्ले सडकमा पुर्याएको क्षतिका कारण आवतजावतमा समस्या भोग्नुपरेको उनको भनाइ छ ।
निर्माण कम्पनीका इन्जिनियर किशोर पाण्डेले वैशाखमा निर्माण सामग्रीको मूल्यवृद्धि भएकाले सोचेअनुसार काम गर्न नसकेको बताए । वर्षात्को समयमा काम गर्दा पानीले निर्माण सामग्री बगाउने र काम गर्नु–नगर्नुको अर्थ नहुने भएकाले काम रोकिएको उनको भनाइ छ । उनले तिहार र छठ पर्वलगत्तै सडक निर्माणको काम अघि बढाउने जानकारी दिए ।
‘अहिले रोल्पादेखि सल्यानको बाग्चौरसम्मको योजना एउटै भएकाले हामीले रोल्पाको सुवाओरालतिर काम गरिरहेका छौँ । कोटमौलामा धेरै घर भत्काउनुपर्नेमा घरधनीले मुआब्जा नदिएसम्म घर भत्काउन नदिने भनेपछि बस्ती भएका स्थानमा सडक चौडा गर्न सकेका थिएनौँ । मुआब्जाको समस्या सरकारले समाधान गरिसकेको छ र बिजुलीका पोल हटाउने सहमति भइसकेको छ । अब छिट्टै काम सुरु हुन्छ,’ उनले भने । वर्षात्का कारण क्षति पुगेका सडकमा नियमित यातायात सञ्चालनका लागि बेलाबेलामा मर्मतसम्भार गरिएको पनि उनले बताए । माडीचौरदेखि बाग्चौरसम्मको ५२ किलोमिटर सडकको हालसम्म ४५ प्रतिशत काम सम्पन्न भएको र आउँदो वर्षभित्र कालोपत्रे गरिसक्नुपर्ने समयसीमा रहेकाले तोकिएकै समयमा रोल्पा र सल्यान दुवै खण्डमा कालोपत्रे सम्पन्न हुने उनको दाबी छ ।
विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।