Trending
Prev Story
Next Story

विचार | पीडा नबुझी सकारात्मकताको उपदेश

Ekantipur •
November 13, 2026 • 01:31 AM
1
1 reads 0 reactions

समाजमा विद्यमान असमानता, गरिबी, विभेद र अन्यायलाई यथावत् राखेर व्यक्तिलाई सकारात्मक बन्न प्रेरित गरेर मात्र न्यायपूर्ण समाज निर्माण हुन सक्दैन।

विचार | पीडा नबुझी सकारात्मकताको उपदेश

समाजमा विद्यमान असमानता, गरिबी, विभेद र अन्यायलाई यथावत् राखेर व्यक्तिलाई सकारात्मक बन्न प्रेरित गरेर मात्र न्यायपूर्ण समाज निर्माण हुन सक्दैन।

हाम्रो समाज वा परिवारमा कोही व्यक्ति रिसाहा, झगडालु, भावुक वा उदास स्वभावका हुन्छन् । उनीहरूको व्यवहार र मनोदशा सधैं व्यक्तिगत स्वभावको उपज मात्र हुँदैन । आर्थिक, सामाजिक, पारिवारिक तथा मानसिक दबाब, जीवनमा भोगेका पीडा र विगतका अप्रिय अनुभवले मानिसको सोच, व्यवहार र आनीबानीमा प्रभाव पारेको हुन सक्छ । त्यसैले कसैको व्यवहारलाई नकारात्मकको संज्ञा दिनुअघि त्यसको पृष्ठभूमि र कारण बुझ्न आवश्यक हुन्छ ।

तर जीवनका आधारभूत आवश्यकता पूरा भएका, आर्थिक तथा सामाजिक रूपमा सुविधासम्पन्न कतिपय मानिसहरू अरूलाई सहजै उपदेश दिन्छन्– ‘मानिस सधैं सकारात्मक हुनुपर्छ ।’ सकारात्मक सोचको महत्त्व आफ्नै ठाउँमा छ । तर सबै मानिसको जीवनको परिस्थिति, अवसर र चुनौती समान हुँदैनन् । जसले अभाव, विभेद, हिंसा र अनेकौं कठिनाइ भोगिरहेको छ, उसलाई उसको परिस्थितिको कारण नखोतली सकारात्मक बन्न आग्रह गर्नु कति उचित होला ?

हामीले काम गर्ने ठाउँ होस् वा कुनै समूहमा हुने अन्तरक्रिया र छलफल, कसैले आलोचनात्मक विचार राख्दा उसलाई नकारात्मक सोच भएको व्यक्ति भन्ने गरिन्छ । हुन सक्छ, कतिपयले विवाद सिर्जना गर्नकै लागि पनि आलोचना गरिरहेका हुन्छन् । तर सबै आलोचना खराब हुँदैनन् । व्यक्ति, समाज र समुदायमा विद्यमान समस्या पहिचान गर्न, गलत अभ्यासप्रति प्रश्न उठाउन र सुधारका सम्भावना खोज्न आलोचनात्मक दृष्टिकोण आवश्यक हुन्छ । असहमति, प्रश्न र प्रतिवादलाई नकारात्मकताको रूपमा बुझ्ने हो भने समाजमा खुला बहस र परिवर्तनको सम्भावना नै कमजोर हुन्छ ।

आज हामी आफ्नो जीवन र वरिपरिको वातावरण नकारात्मक भयो भन्दै सकारात्मक ऊर्जा खोजिरहेका छौं । यसका लागि धार्मिक अनुष्ठान, योग, ध्यानलगायतका विधि अपनाउनु आफैंमा गलत होइन । यस्ता अभ्यासले व्यक्तिलाई मानसिक शान्ति र आत्मचिन्तनका लागि सहयोग पुर्‍याउन सक्छन् । तर व्यक्तिगत शान्तिको खोजी र सामाजिक समस्याको समाधान एउटै कुरा होइनन् । समाजमा विद्यमान असमानता, गरिबी, विभेद र अन्यायलाई यथावत् राखेर व्यक्तिलाई सकारात्मक बन्न प्रेरित गरेर मात्र न्यायपूर्ण समाज निर्माण हुन सक्दैन ।

विश्वमा भइरहेका युद्ध, नरसंहार, धार्मिक तथा जातीय द्वन्द्व र मानवताविरोधी गतिविधिलाई पनि जीवनको सामान्य प्रक्रियाका रूपमा स्विकारेर सकारात्मक बन्ने कि त्यस्ता गतिविधिविरुद्ध आवाज उठाउने ? मानिसले निर्माण गरेका हातहतियार मानिसकै विनाशमा प्रयोग भइरहेका छन् । यस्ता विषयमा मौन रहेर सकारात्मकताको प्रवचन दिनुको साटो त्यसको कारण र समाधानबारे बहस गर्न आवश्यक छ । सकारात्मक सोचको अर्थ अन्याय र हिंसालाई चुपचाप स्वीकार गर्नु होइन ।

सधैं आलोचना र गुनासोमा मात्र अल्झिरहँदा मानिसको सिर्जनशीलता र प्रगतिशील सोच कमजोर हुन सक्छ । तर सामाजिक असमानता, गरिबी, पीडा, दुव्र्यवहार र वर्गीय विभाजनलाई बेवास्ता गरेर सकारात्मक जीवनको कल्पना गर्नु पनि यथार्थपरक हुँदैन । त्यसैले सकारात्मक सोचको चर्चा गर्दा मानिस बाँचेको सामाजिक तथा आर्थिक परिवेशलाई पनि उत्तिकै महत्त्व दिनुपर्छ ।

यसको प्रभाव लैंगिक भूमिकामा पनि देखिन्छ । हाम्रो समाजमा महिलालाई हेरचाहकर्ता बन्न, संयमित रहन, आफ्ना इच्छा दबाउन र सामाजिक तथा धार्मिक मूल्य–मान्यतामा अडिग रहन विभिन्न माध्यमबाट दबाब दिइन्छ । पारिवारिक जिम्मेवारी पूरा गर्दागर्दै आफ्ना चाहना र स्वतन्त्रताका आकांक्षा दबाउनुपर्ने अवस्थाले उनीहरूमा एक्लोपन, निराशा र असन्तुष्टि पैदा गर्न सक्छ । तर त्यही समाजले उनीहरूलाई फेरि सकारात्मक, खुसी, मायालु र संस्कारी देखिन आग्रह गर्छ । यसरी मानिसको वास्तविक पीडा र असन्तुष्टिको कारण नबुझी उसको व्यवहार परिवर्तन गर्न खोज्नु समस्याको समाधान होइन ।

पुरुषहरू पनि सामाजिक तथा लैंगिक भूमिकाका कारण विभिन्न दबाबमा बााचेका हुन्छन् । जोखिमयुक्त श्रम, परिवारको आर्थिक जिम्मेवारी र पुरुषले सधैं बलियो तथा भावनात्मक रूपमा संयमित देखिनुपर्छ भन्ने सामाजिक अपेक्षाले उनीहरूको मानसिक तथा शारीरिक स्वास्थ्यमा असर पार्न सक्छ । त्यस्तै, गरिबी, अभाव, अवसरको कमी र सामाजिक पछौटेपनले विभिन्न सामाजिक समस्यालाई जन्म दिन सक्छ । यस्ता समस्याको जरो पहिल्याउनुभन्दा व्यक्तिलाई आदर्श जीवन र सकारात्मक सोचको उपदेश दिनु समस्यालाई सतही रूपमा बुझ्नु हो ।

मानिसले आफ्ना निराशा, डर र पीडालाई लुकाएर होइन, व्यक्त गरेर, अरूसँग बाँडेर र आवश्यक पर्दा सहयोग मागेर अघि बढ्न सक्नुपर्छ । समस्या पहिचान गरी प्राथमिकताका आधारमा समाधान खोज्दा सकारात्मक परिवर्तन सम्भव हुन्छ । आफ्ना असन्तुष्टि र पीडा व्यक्त गर्न पाउनु पनि व्यक्तिको स्वतन्त्रता र आत्मसम्मानसँग जोडिएको विषय हो । त्यसैले मानिसलाई सधैं खुशी र सकारात्मक देखिन बाध्य पार्नुको सट्टा उसको कुरा सुन्ने, परिस्थिति बुझ्ने र आवश्यक सहयोग गर्ने वातावरण बनाउनुपर्छ ।

हामीमा व्यक्तिको जीवनपरिस्थितिलाई बुझ्ने, समस्याका कारण पहिल्याउने, अन्यायविरुद्ध प्रश्न उठाउने र समाधानका सम्भावना खोज्ने आलोचनात्मक दृष्टिकोण आवश्यक छ । समस्या स्वीकार गर्नु, त्यसबारे प्रश्न गर्नु र परिवर्तनका लागि सक्रिय हुनु पनि सकारात्मकताको एउटा महत्त्वपूर्ण पक्ष हो । हामीलाई यथास्थिति स्विकारेर चुप बस्ने सकारात्मकता होइन, अन्याय र असमानताप्रति सचेत हुँदै तिनको अन्त्यका लागि सक्रिय हुने सकारात्मकता चाहिएको हो ।

सुशीला शर्मा कान्तिपुरमा लैंगिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Related Stories

Opinion & Editorial
Build #2611