साउदीमा रहेका नेपाली कामदारले कस्तो हैरानी बेहोरिरहेका छन् ? त्यहाँको उडानको अवस्था के छ ? त्यहाँ रहेका श्रमिकहरूबारे नेपालको सरकारी निकायले के गर्दैछ ?
काठमाडौँ — इरान समर्थित यमनका हुथी विद्रोहीहरूले साउदी अरबको हवाई र अन्य पूर्वाधारलक्षित आक्रमणहरू बढाएपछि त्यसको प्रत्यक्ष मारमा परेका छन्, त्यहाँ रहेका नेपाली श्रमिकहरू । यही आक्रमणका कारण अहिले साउदी अरबका विमानस्थलमा उडान रद्द छ । दसैं र तिहारजस्ता चाडपर्व मान्न घर फर्किने योजनामा रहेका नेपालीहरू त्यहीँ अड्किएका छन् । साउदीमा रहेका नेपाली कामदारले कस्तो हैरानी बेहोरिरहेका छन् ? त्यहाँको उडानको अवस्था के छ ? त्यहाँ रहेका श्रमिकहरूबारे नेपालको सरकारी निकायले के गर्दैछ ? हामीले ५ प्रश्नोत्तरमा बुझाउने प्रयास गरेका छौँ ।
१. साउदीमा नेपाली श्रमिक किन घर फर्कन सकेका छैनन्? यमनका हुथी विद्रोहीले साउदीका विमानस्थल, बन्दरगाह र ऊर्जा पूर्वाधारमाथि आक्रमण तीव्र पारेपछि त्यहाँको हवाई यातायात नराम्ररी प्रभावित भएको छ। ११ अक्टोबरको उडानको अघिल्लो दिन रियादको किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा मिसाइल आक्रमण भयो। साउदी अधिकारीका अनुसार त्यसमा १३ जना मारिए र तीन सयभन्दा बढी घाइते भए। विमानस्थल बन्द भयो। अक्टोबर ८ देखि २५ सम्म साउदीका विमानस्थलबाट निर्धारित उडानमध्ये करिब ४५ प्रतिशत रद्द भए। रोयटर्सले उद्धृत गरेको सिरियमको विवरणअनुसार रियादमा ४ हजार ७ सय ३६ मध्ये ४ हजार ७१ उडान (करिब ८६ प्रतिशत) रद्द भए। दमाममा ४२ प्रतिशत र आबामा ४६.७ प्रतिशत उडान रद्द भए।
२. नेपाल–साउदी सिधा उडान र कनेक्टिङ उडानको अवस्था कस्तो छ? नेपाली श्रमिकले सबैभन्दा बढी प्रयोग गर्ने काठमाडौं–दमाम–काठमाडौं रूटमा नेपाल वायुसेवा निगम र हिमालय एयरलाइन्सका उडान अक्टोबर ११ देखि ठप्प छन्। हालसम्म नेपालसँगका १८ वटा सिधा उडान रद्द भएका छन्। हिमालयले ४ नोभेम्बरसम्म पनि उडान रद्द गर्ने सूचना सार्वजनिक गरेको छ। कनेक्टिङ उडान पनि प्रभावित छन्। इन्डिगोले नोभेम्बर १४ सम्म, एयर इन्डिया र एयर इन्डिया एक्सप्रेसले रियाद–दमामका उडान नोभेम्बर ७ सम्म र जेद्दाका उडान अक्टोबर ३१ सम्म रद्द गरेका छन्। इतिहादले केही उडान नोभेम्बर ५ सम्म रद्द गरेको छ भने कतार एयरवेजले रियाद र दमामका उडान स्थगित गरेको छ। साउदीमा झन्डै चार लाख नेपाली कार्यरत छन्।
३. श्रमिकहरूले व्यवहारमा के–कस्ता समस्या भोगेका छन्? खोटाङका राजेश राई तीन वर्षपछि दसैं मनाउन फर्कँदै थिए। रियादको उडान रद्द भएपछि उनी १३ घण्टा बस चढेर जेद्दा पुगे, तर घर जाने टुंगो लागेन। अहिले साथीको कोठामा बसेका उनको बिदा सकिन लागेको छ। इलामका महेन्द्र राईका अनुसार विमान कम्पनीले पैसा फिर्ता होइन कुपन दिने भन्छ। उनका अनुसार एकतर्फी टिकट मात्रै एक लाख रुपैयाँ पुगेको छ। गणेश राईले एयरलाइन्सको फोन नउठेकाले विमानस्थल पुगेर फर्कँदा प्रत्येक पटक करिब २ हजार रुपैयाँ खर्च हुने बताए। दमामका उमेश पाण्डे १८ दिनदेखि पर्खिरहेका छन्। नजरानका हेमन्त थापाको टिकट रद्द भइसकेको छ र एक्जिट परमिटको म्याद सकिन लागेको छ। म्याद सकिए फेरि बनाउन करिब तीन महिना लाग्ने र खर्च आफैँ तिर्नुपर्ने उनले बताए।
४. एयरलाइन्स र सरकारी निकायले के भनेका छन्? नेपाल एयरलाइन्सकी प्रवक्ता अर्चना खड्काका अनुसार सुरक्षाका कारण उडान बन्द गरिएको हो र साउदीको स्थिति सहज भएपछि सुचारु हुनेछ। टिकटको मिति निःशुल्क परिवर्तन गर्न वा पूरा रकम फिर्ता लिन सकिने व्यवस्था गरिएको छ। हिमालय एयरलाइन्सका एक अधिकारीले उडान कहिलेदेखि सुरु हुन्छ भन्न नसकिने बताए, किनकि यो साउदीको हवाई सुरक्षामा निर्भर छ। रियादस्थित नेपाली दूतावासले रोजगारदातालाई फर्कन तयारी गरेकाहरूको खानबस्ने व्यवस्था मिलाइदिन अनुरोध गरेको छ। तर स्वदेश फर्कन रोकिएकाको विवरण भने राखिसकेको छैन। श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार सहजीकरण भइरहेको छ। परराष्ट्र प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले आवश्यकताअनुसार उचित कदम चालिने बताए।
५. श्रमिकहरूले सरकारसँग के माग गरेका छन्? नेपाली श्रमिकले उद्धारका लागि वैकल्पिक व्यवस्था गर्न माग गरेका छन्। साउदीमा कार्यरत शैलेस उपाध्यायले कुवेत, कतार र बहराइनबाट उड्ने व्यवस्था गर्नुपर्ने र बहराइन सबैभन्दा उचित हुने बताए। गैरआवासीय नेपाली संघ साउदीका अध्यक्ष बलराम थापाका अनुसार दमामबाट बहराइन नजिक छ र बस वा ट्याक्सीबाट पुग्न सकिन्छ। आफैँ सक्नेहरू बहराइन पुगेर नेपाल गइरहेका छन् र बोर्डरमा रोकिएको छैन। उनले सरकार वा एयरलाइन्सले दमामदेखि बहराइनसम्म बसको व्यवस्था गरी त्यहीँबाट सिधा उडान गराउनुपर्ने माग गरे। तर उमेश पाण्डेका अनुसार सडकमार्गबाट जान एक्जिट भिसाबाहेक सीमा अध्यागमनले जान दिन्छ कि दिँदैन भन्ने सूचना नै पाइँदैन।
होम दुई दशकदेखि पत्रकारिता गरिरहेका कार्कीले श्रम तथा आप्रवासन मामिलामा दख्खल राख्छन् । उनले खाडी क्षेत्र तथा मलेसियामा कार्यरत आप्रवासी श्रमिकमाथि रिपोटिङ गर्दै आएका छन् । उनकाे श्रम र आप्रवासनमा केन्द्रीत गैरआख्यान पुस्तक 'सनैया' प्रकाशित छ ।