Trending
Prev Story
Next Story

समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग

Ekantipur •
November 02, 2026 • 02:02 PM
1
1 reads 0 reactions

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलन घटेको भन्दै संघीय सरकारको कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न आर्थिक मामिलामन्त्रीहरूले माग गरेका हुन् ।

समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न सातै प्रदेशको माग

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलन घटेको भन्दै संघीय सरकारको कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न आर्थिक मामिलामन्त्रीहरूले माग गरेका हुन् ।

सुर्खेत — सातै प्रदेशका आर्थिक मामिलामन्त्रीहरूले संघीय सरकारले प्रदेशलाई उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान बीचैमा कटौती नगरी शतप्रतिशत हस्तान्तरण गर्न माग गरेका छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको सिफारिसमा बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलन घटेको भन्दै कटौती गर्ने प्रवृत्ति अन्त्य गर्न उनीहरूले माग गरेका हुन् ।

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार सम्पन्न प्रदेश आर्थिक मामिला परिषद्को बैठकले संघीयता कार्यान्वयन, वित्तीय सुशासन र प्रदेशबीचको सहकार्यका विषयमा साझा प्रतिबद्धता जारी गर्दै संघीय सरकारसमक्ष विभिन्न माग अघि सारेको हो।

साझा प्रतिबद्धतापत्रमा समानीकरण अनुदानको संवैधानिक सुनिश्चितता, सशर्त अनुदानको हिस्सा घटाएर समानीकरण अनुदान बढाउनुपर्ने, प्रदेशको एकल अधिकार क्षेत्रमा संघले स्थापना गरेका कार्यालय खारेज गरी प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने र प्रदेशको अधिकार क्षेत्रभित्रका आयोजनामा संघीय हस्तक्षेप रोक्नुपर्ने उल्लेख छ । प्रदेशहरूले मूल्य अभिवृद्धि कर र अन्तःशुल्क बाँडफाँटमा आफ्नो तथा स्थानीय तहको हिस्सा बढाउन पनि माग गरेका छन् । नदीजन्य पदार्थ, वन र जलविद्युत्‌को रोयल्टी बाँडफाँटमा प्रभावित प्रदेशको अधिकार न्यायोचित रूपमा सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

ट्राफिक जरिवानाबाट संकलित शतप्रतिशत राजस्व प्रदेशले पाउने कानुनी व्यवस्था गर्न पनि प्रतिबद्धतापत्रमा उल्लेख छ । सवारी साधन दर्ता भएको प्रदेशमै सवारी कर दाखिला हुने र चालक अनुमतिपत्र नवीकरण गर्दा सेवा शुल्क कटाएर बाँकी राजस्व अनुमतिपत्र जारी गर्ने प्रदेशमा दाखिला हुने गरी प्रणाली अद्यावधिक गर्नुपर्ने प्रस्तावसमेत अघि सारिएको छ ।

प्रदेशको एकल अधिकार क्षेत्रभित्र संघीय सरकारले स्थापना गरेका डिभिजन तथा आयोजना कार्यालय तत्काल खारेज गरी प्रदेशलाई हस्तान्तरण गर्नुपर्ने माग पनि सातै प्रदेशले साझा रूपमा उठाएका छन् । संघबाट प्रदेशमा हस्तान्तरण भएका तर बजेट अभावमा अधुरा रहेका आयोजनाका लागि संघीय सरकारले पर्याप्त बजेट विनियोजन गर्नुपर्ने उनीहरूको माग छ । त्यस्तै, नेपाल प्रहरी र प्रदेश प्रहरी ऐनअनुसार प्रदेश प्रहरी समायोजन अविलम्ब गर्न, संघीय निजामती सेवा ऐन जारी गर्न तथा प्रादेशिक पूर्वाधार निर्माणका लागि जग्गा प्राप्ति र वन क्षेत्र प्रयोगको स्वीकृति दिने अधिकार प्रदेशलाई प्रत्यायोजन गर्नुपर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ । प्रदेशका प्राथमिकताप्राप्त आयोजनामा वैदेशिक सहायता र आन्तरिक ऋण लिने प्रक्रिया पनि सरल र पारदर्शी बनाउनुपर्ने माग गरिएको छ ।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेशको वास्तविक खर्च आवश्यकता, जनसांख्यिक अवस्था, मानव विकास सूचकांक र राजस्व क्षमताका आधारमा अनुदान वितरणको सूत्र परिमार्जन गर्नुपर्ने प्रदेशहरूको भनाइ छ । भौगोलिक तथा वातावरणीय विशिष्टतालाई समेत अनुदान वितरणको आधार बनाउनुपर्ने उनीहरूले जनाएका छन् ।

वित्तीय संघीयतासँग सम्बन्धित कानुनलाई संघीयता कार्यान्वयनको करिब एक दशकको अनुभवका आधारमा परिमार्जन गरी तीन तहका सरकारबीच वित्तीय अधिकार र दायित्व स्पष्ट पार्नुपर्ने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

बैठकले प्रदेशहरूबीचको सहकार्य र साझेदारीलाई पनि प्राथमिकतामा राखेको छ । अन्तरप्रदेश व्यापार तथा लगानी प्रवर्द्धनका लागि वस्तु तथा सेवाको आवागमनमा लाग्ने दोहोरो कर, शुल्क र प्रशासनिक झन्झट हटाउने तथा प्रदेशका आर्थिक ऐनहरूमा सामञ्जस्यता कायम गर्ने प्रतिबद्धता जनाइएको छ ।

दुई वा सोभन्दा बढी प्रदेश भएर बग्ने साझा नदीबाट ढुंगा, गिट्टी र बालुवाको अनियन्त्रित दोहन रोक्न दिगो उपयोग नीति बनाउने र राजस्व बाँडफाँटका स्पष्ट मापदण्ड तय गर्ने सहमति पनि भएको छ । बाढी, पहिरो, शीतलहर र आगलागीजस्ता विपद्का बेला अन्तरप्रदेश द्रुत प्रतिक्रिया टोली परिचालन गर्न संयुक्त विपद् व्यवस्थापन तथा कोषको व्यवस्था गर्ने विषयसमेत समेटिएको छ ।

त्यस्तै, आन्तरिक राजस्वको दायरा विस्तार, चुहावट नियन्त्रण र राजस्व बक्यौता असुली गर्दै प्रदेशलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाउने, बेरुजु घटाउने र बजेट खर्च क्षमता बढाउने प्रतिबद्धता पनि गरिएको छ ।

सातै प्रदेशमा भेहिकल फिटनेस टेस्टिङ सेन्टर स्थापना तथा सञ्चालनको पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्तरण गर्नुपर्ने मागसमेत प्रतिबद्धतापत्रमा समेटिएको छ। संघीयता विरोधी भ्रम र चुनौतीको प्रतिवाद गर्न दलीय तथा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर साझा प्रादेशिक धारणा प्रस्तुत गर्ने प्रतिबद्धता पनि उनीहरूले जनाएका छन् ।

ज्योति कटुवाल कान्तिपुरकी सुर्खेत संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1w ago
सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

सातै प्रदेशका अर्थमन्त्रीको साझा माग : अनुदान कटौती रोक, अधिकार हस्तान्तरण गर

१७ कात्तिक, सुर्खेत । सातै प्रदेशका अर्थमन्त्रीहरूले संघीय सरकारले उपलब्ध गराउने वित्तीय समानीकरण अनुदान शतप्रतिशत हस्तान्तरण गर्न माग गरेका छन् । बजेटमा विनियोजन भइसकेको अनुदानसमेत राजस्व संकलनमा कमी आएको कारण देखाउँदै बीचमै कटौती गर्ने प्रवृत्ति …

#कटौती #अनुदान #हस्तान्तरण
Compare →
Bizshala
1w ago
सातै प्रदेशको संघमाथि दबाब, अनुदान नकाट अधिकार देऊ

सातै प्रदेशको संघमाथि दबाब, अनुदान नकाट अधिकार देऊ

काठमाण्डौ । सातै प्रदेशका अर्थमन्त्रीहरूले संघीय सरकारले प्रदेशलाई दिने वित्तीय समानीकरण अनुदान शतप्रतिशत...

#अनुदान #सातै #प्रदेशको
Compare →
Hamro Patro News
1w ago
कर्णालीमा सातै प्रदेशका अर्थमन्त्रीहरुको सम्मेलन

कर्णालीमा सातै प्रदेशका अर्थमन्त्रीहरुको सम्मेलन

वीरेन्द्रनगर : संंघीयता कार्यान्वयन भएको झन्डै एक दशक बितिसक्दा पनि प्रदेश सरकारहरू अधिकार, स्रोत र साधनका लागि संघीय सरकारसँग संघर्ष गर्नुपर्ने अवस्थामा छन्। संविधानले प्रदेशलाई दिएका अधिकार व्यवह...

#स्रोत #सातै
Compare →

Related Stories

National (Nepal)
Build #2612