Trending
Prev Story
Next Story

सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफस संक्रमण घट्दै, जनजीवन सामान्य बन्दै

Ekantipur •
November 02, 2026 • 05:02 AM
1
1 reads 0 reactions

जिल्लाका ९ पालिकामा फैलिएको संक्रमणबाट ८५५ जना संक्रमित र १० जनाको मृत्यु भए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ।

सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफस संक्रमण घट्दै, जनजीवन सामान्य बन्दै

जिल्लाका ९ पालिकामा फैलिएको संक्रमणबाट ८५५ जना संक्रमित र १० जनाको मृत्यु भए पनि अहिले अवस्था सामान्य बन्दै गएको छ।

सल्यान — सल्यानमा महामारीका रूपमा फैलिएको स्क्रब टाइफसको संक्रमण घट्दै गएको छ । संक्रमण घट्दै गएपछि जनजीवन सामान्य बन्दै गएको छ । हिउँद लागेसँगै चिसो बढ्न थालेपछि संक्रमण फैलाउने किर्ना नामक जीव निष्क्रिय हुँदै गएपछि संक्रमण घट्दै गएको हो ।

गत साउन महिनामा दार्मा गाउँपालिकामा पहिलो पटक देखिएको स्क्रब टाइफस रोगको संक्रमण जिल्लाको शारदा नगरपालिकाबाहेक ९ पालिकामा फैलिएको थियो । रोगको संक्रमणका कारण दार्मा गाउँपालिकामा वडा नं. ६ का ८२ वर्षीय बलबहादुर थापा, ६७ वर्षीय नरबहादुर बुढाथोकी, वडा नं. ५ का ६९ वर्षीय तुलबहादुर खड्गा, वडा नं. १ का ५१ वर्षीय खिमानन्द केसी, ६७ वर्षीय तोताराम सुनार, ६१ वर्षीय नरेन्द्र रोकाय, वडा नं. २ का १२ वर्षीय नरेश ओली, वडा नं. ४ का ६२ वर्षीय जितबहादुर मल्ल र खली रोकाय गरी ९ जनाको मृत्यु भएको थियो । त्यस्तै, छत्रेश्वरी गाउँपालिकामा ५१ वर्षीया एक महिलाको मृत्यु भएको थियो । यसरी संक्रमणका कारण १० जनाको मृत्यु भएको थियो ।

दार्मा गाउँपालिकामा ९२३ जनाको परीक्षण गर्दा ३०४, कुमाख गाउँपालिकामा २४० मध्ये ८२, बागचौर नगरपालिकामा ८४१ मध्ये २४७, कालिमाटी गाउँपालिकामा २१ मध्ये २, छत्रेश्वरी गाउँपालिकामा १५९ मध्ये ५४, कपुरकोट गाउँपालिकामा १९० मध्ये ७३, बन्गाड कुपिण्डे नगरपालिकामा २४ मध्ये ११, त्रिवेणी गाउँपालिकामा १७ मध्ये ६, सिद्धकुमाख गाउँपालिकामा १८ मध्ये ३ र जिल्ला अस्पताल सल्यानमा ९३४ मध्ये ७५ जनामा संक्रमण पुष्टि भएको थियो ।

यसरी कुल ८ सय ५५ जना संक्रमित भएका थिए । साउन, भदौ र असोज महिनामा महामारीको रूप लिएपछि जिल्लावासी त्रसित भएका थिए । सुरुवातमा संक्रमण दर बढेर ३० प्रतिशतभन्दा बढी पुगेको र पछिल्लो समयमा घटेर ४ प्रतिशतमा झरेपछि जिल्लावासीले राहतको सास फेरेका छन् ।

दार्मा गाउँपालिका–१ का कृष्ण बुढा भन्छन्, 'महामारीको रूप लिएपछि र पालिकाभित्र ९ जनाको मृत्यु भएको र घरघरमा स्थानीय बिरामी परेपछि अब यत्ति नै हो, बाँचिँदैन कि भन्ने लागेको थियो । संक्रमण घट्दै गएपछि अहिले राहतको सास फेर्न पाएका छौं ।' स्क्रब टाइफस रोगको संक्रमणले कोरोना कालको याद दिलाएको उनको भनाइ छ ।

स्क्रब टाइफस संक्रमण घटेपछि त्रासबाट मुक्त भएको कुमाख गाउँपालिका–३ की विमला बस्नेतले बताइन् । रोगको संक्रमणका कारण दसैं पर्वसमेत धुमधामका साथ मनाउन नपाएको उनले जानकारी दिइन् ।

दार्मा गाउँपालिका स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतले पालिकाभित्र महामारीको रूप लिएको र दैनिक परीक्षण गर्दा ६/७ जनामा पोजिटिभ देखिँदै आएकोमा अहिले अवस्था सामान्य रहेको बताए । 'महामारीको त्रासका कारण पालिकावासी घरबाट बाहिर निस्कन छाडेका थिए । जताततै बिरामी मात्र देखिन्थे । गाउँघर सुनसानजस्तै थियो । संक्रमण घटेपछि अहिले गाउँघरमा पनि चहलपहल बढ्न थालेको छ,' उनले भने ।

वर्षातको समयमा किर्ना नामक जीव सक्रिय हुँदा स्क्रब टाइफस संक्रमण दर ह्वात्तै बढेको र हिउँद लागेसँगै चिसो बढेपछि जीव निष्क्रिय भएकाले रोगको संक्रमण घटेको स्वास्थ्य सेवा कार्यालय सल्यानका प्रमुख डाक्टर अर्जुन बुढाले बताए । जिल्लाका ९ पालिकामा फैलिएको स्क्रब टाइफस अहिले एक–दुई पालिकामा मात्र छिटपुट रूपमा देखिएको उनले जानकारी दिए ।

जंगलमा पाइने किर्ना नामक जीवले टोकेमा स्क्रब टाइफस रोग लाग्ने भएकाले उक्त जीव वर्षातको समयमा बढी सक्रिय हुने र हिउँदमा निष्क्रिय हुने उनको भनाइ छ । हिउँद सुरु भएसँगै जीव निष्क्रिय हुँदै जाँदा संक्रमण दर घट्दै गए पनि किर्ना नामक जीव पूर्ण रूपमा सखाप नभएकाले जंगल गएर घाँसपात गर्दा सावधानी अपनाउन आवश्यक रहेको उनले बताए ।

रोग पहिचान गरी उपचार गरेमा निको हुने भएकाले उच्च ज्वरो आएमा, टाउको दुखेमा वा स्क्रब टाइफस रोगसँग मिल्दोजुल्दो लक्षण देखिएमा स्वास्थ्यकर्मी तथा डाक्टरको सल्लाह लिएर जाँच गराई औषधि सेवन गर्न उनले जिल्लावासीलाई आग्रह गरेका छन् ।

कुमाख गाउँपालिकामा असोजमा संक्रमित ह्वात्तै बढेकोमा अहिले शून्यमा झरेको पालिकाका स्वास्थ्य शाखा प्रमुख मानसिंह ओलीले बताए । सुरु-सुरुमा गलत प्रचारका कारण त्रासमा रहेका पालिकावासी अहिले त्रासबाट मुक्त भएका उनले जानकारी दिए । पालिकाद्वारा सञ्चालित आधारभूत अस्पतालमा दैनिक ५/६ जनाको परीक्षण भइरहेको र केही दिनयता कसैमा पोजिटिभ नदेखिएको उनको भनाइ छ । पालिकाका विभिन्न स्वास्थ्य संस्थामा शिविर सञ्चालन गरेर २४० जनाको परीक्षण गर्दा ८२ जना संक्रमित भेटिएका उनले बताए ।

कपुरकोट गाउँपालिका स्वास्थ्य शाखा प्रमुख सुवास हमालले पालिकाभित्र स्क्रब टाइफसका संक्रमित छिटपुट भेटिए पनि अवस्था जटिल नरहेको बताए । उनले पालिकाभरि १९० जनाको परीक्षण गर्दा ७३ जनामा पोजिटिभ देखिएको जानकारी दिए । असोजमा पालिकाका विभिन्न स्वास्थ्य संस्थामा गएर स्क्रब टाइफस रोगको परीक्षण गरिएकोमा अहिले पालिकाद्वारा सञ्चालित अस्पतालमा परीक्षण र उपचार भइरहेको उनको भनाइ छ ।

विप्लव महर्जन कान्तिपुरका सल्यान संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3d ago
तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा स्क्रब टाइफसको प्रकोप: असोजमै भेटिए १५५ बिरामी, आँबुखैरेनी उच्च जोखिममा

तनहुँमा किर्नाको टोकाइबाट सर्ने जीवाणुजन्य रोग ‘स्क्रब टाइफस’ को संक्रमण तीव्र रूपमा फैलिएको छ। चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहमा १५५ जनामा स्क्रब टाइफस पुष्टि भएको छ।

#संक्रमण #स्क्रब #टाइफस
Compare →
Hamro Patro News
3d ago
तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो

तनहुँमा स्क्रब टाइफसको जोखिम बढ्यो

तनहुँ – तनहुँमा स्क्रब टाइफस सङ्क्रमणको जोखिम देखिएको छ । चालु आर्थिक वर्षको असोज महिनामा मात्रै जिल्लाका सात स्थानीय तहका एक सय ५५ जनामा स्क्रब टाइफस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य क...

#स्क्रब #टाइफस
Compare →
Onlinekhabar
1w ago
कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द

कांग्रेस देउवा समूहको सल्यान सभापतिमा दीपकजंग चन्द

१५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहको सल्यान जिल्ला सभपातिमा दीपकजंग चन्द सर्वसम्मत चयन भएका छन् । सल्यानको श्रीनगरमा सम्पन्न १५औँ जिल्ला अधिवेशनबाट चन्द जिल्ला सभापतिमा सर्वसम्मत चयन भएका हुन्  । अधिवेशनबाट उपसभापतिमा यज्ञविक्रम शाह, …

#सल्यान
Compare →

Related Stories

Education & Youth
Build #2611