Trending
Prev Story
Next Story

छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दै

Nagarik News •
November 13, 2026 • 01:40 PM
1
1 reads 0 reactions

तीन दशकअघिसम्म मधेस प्रदेशका पूर्वी जिल्लाबाट कपिलवस्तुमा नोकरीको सिलसिलामा आएकाहरूले मात्र छठ पर्व मनाउने गर्थे।

छठको बढ्दो आकर्षण : सबै समुदायको साझा उत्सव बन्दै

तीन दशकअघिसम्म मधेस प्रदेशका पूर्वी जिल्लाबाट कपिलवस्तुमा नोकरीको सिलसिलामा आएकाहरूले मात्र छठ पर्व मनाउने गर्थे।

सीमित व्यक्तिहरूले छठ मनाउँदा कपिलवस्तुमा छठको विषयमा खासै जानकारीसमेत थिएन। मूल घर पूर्वको तराई जिल्लामा भई कपिलवस्तुको तौलिहवामा विभिन्न कामले बस्दै आएका दुई चार घरले मात्र मनाउने गरिएको छठ विगत १० वर्षयता जिल्लाका विभिन्न जातजातिहरूले समेत मनाउने गरेका छन्। मैथिली, मधेसी, जनजाति, मुस्लिम लगायतका समुदायले समेत छठ पर्व उल्लासका साथ मनाउन थालेपछि यसले जिल्लामा धार्मिक सद्‌भाव छर्ने गरेको छ।

छठप्रति सबैको आस्था बढ्दै गएपछि यसको महिमा समेत फैलिँदै गएको छ। जसले गर्दा छठ पर्व जिल्लामा एकता र सद्‌भावको बनेको छ। मैथिली, पहाडी र अवधी समुदायलाई पर्वले जोडेको छ। केही वर्षअघिसम्म पूर्वी तराईका केही जिल्लाहरूमा सीमित छठ पर्व अहिले समावेशी बन्दै गएको हो। अहिले तराईका जिल्लाहरूमा समेत विभिन्न जातजातिहरूले समेत मनाउन थालेपछि यो पर्व समावेशी र सांस्कृतिक पर्वका रूपमा विकसित हुँदै गएको हो।

सिरहा, सप्तरी, पर्सा लगायतका जिल्लाहरूमा मनाइने गरिएको पर्व राजधानी, पहाडी जिल्ला लगायतका अन्य तराईका जिल्लाहरूमा समेत धुमधामसँग मनाउन थालिएपछि यो पर्व धार्मिक सद्‌भावका रूपमा स्थापित हुँदै गएको हो। विशेष गरी पूर्वका मधेसी समुदायले मात्र अंगालेको छठ पहाडी, नेवार, मधेसी, दलित, मुस्लिम, जनजाति लगायतमा समेत लोकप्रिय बन्दै गएको पाइएको छ।

आराध्य देव सूर्यको आराधना र उपासना गरी मनाइने छठ पर्व शुक्रबारबाट सुरु भई सोमबार सम्पन्न हुँदै छ। आइतबार परेको छठको पूजाका लागि घरघरमा विशेष तयारी समेत गरिएको छ। जिल्लाको उत्तरी भेगमा रहेको गोरुसिंगे, चार नम्बर, चन्द्रौटा लगायतमा समेत छठ पर्व मनाउनेको संख्या हरेक वर्ष वृद्धि हुँदै गएको छ।

अधिकारकर्मी रामदयाल ठाकुरले विगत १० वर्षअघिसम्म पूर्वी जिल्लाबाट कपिलवस्तु आएका परिवारले मात्र छठ पर्व मनाउने गरेको बताए। तर विगत केही वर्षयता छठ पर्व जिल्लाका हिन्दु, नेवार, मुस्लिम समुदायले समेत मनाउन थालेपछि यसले मैथिली, पहाडी र अवधी तथा भोजपुरीलाई जोड्ने काम गरेको बताए। उनले छठप्रति बढ्दो आस्थाले यसको महिमा समेत फैलिँदै गएको बताए।

कपिलवस्तु नगरपालिका–१ की नेवार समुदायकी समा शाक्यले एक दशकअघिदेखि छठ पर्व मनाउँदै आएको बताइन्। माइती घरमा छठ पर्वको बारेमा सुने पनि पर्व मनाउनेतर्फ कुनै चासो नदिएकी उनले मधेसी, पहाडीहरूसँगै एकैसाथ छठको पर्व मनाउँदा निकै रमाइलो लाग्ने गरेको बताइन्। विभिन्न जातजातिहरूले एकैसाथ पर्व मनाउँदा सांस्कृतिक आदानप्रदान समेत हुने उनी बताउँछिन्।

यशोधरा गाउँपालिकाकी बिन्दबासिनी हरिजनले जमुहरा नदीमा सबैसँग सामूहिक पूजा गर्ने गरेको बताइन्। यस पटक पनि छठ पूजाको तयारी गरेकी उनले मधेसी, पहाडी सबै जातजातिसँग सामूहिक रूपमा पर्व मनाउन पाउँदा खुसी लागेको बताइन्। ‘सबै जना नदीमा गएर पूजा गर्छौं, कुनै भेदभाव छैन,’ उनले भनिन्। छठ पर्वले जिल्लामा धार्मिक सद्‌भावसमेत कायम गरेको बताइन्। छठ पर्व आफ्नो पुरै परिवार र छिमेकीहरूसित मिलेर एकैसाथ मनाउने गरेको उनले सुनाइन्।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का अध्यक्ष माहोम्मद जाहिद खाँले छठ लोकप्रिय बन्दै गएको बताए। विशेष शुद्धाशुद्धि, हर्ष–उल्लास, परिवार, मित्रहरू, आफन्तजनहरूसँग भेटघाटको अवसरका रूपमा समेत यो पर्व बन्दै गएको उनी बताउँछन्। धनी, गरिब, हिन्दु, मुस्लिम, महिला, पुरुष, पहाडी, मधेसी सबै वर्ग समुदायले अंगाल्न थालेको यो पर्वले मुलुकको वर्तमान अवस्थामा सामाजिक समानता कायम गर्न मद्दत पुग्ने उनको विश्वास छ।

पत्रकार महासंघका जिल्ला अध्यक्ष डिलाराम भुसालले जातीय, वर्गीय मुद्दामा विभाजित वर्तमान समयमा यो पर्वले सामाजिक एकता र धार्मिक सहिष्णुता कायम गर्न मद्दत मिल्ने बताउँछन्। पूर्वीय संस्कृतिमाथि बिस्तारै पश्चात्यको पकड बढिरहेको बेला यो पर्वका व्रतालु र श्रद्धालु बढ्नुले पनि यो पर्वको झन् महत्व बढ्दै गएको उनले बताए। यो पर्वको महत्व र लोकप्रियताको कदर गर्दै राज्यले समेत यो पर्वलाई राष्ट्रिय पर्वका रूपमा मान्यता दिनुपर्ने उनको माग छ। छठका लागि सरकारले दुई दिन बिदासमेत दिएको छ।

छठ पर्व वैज्ञानिक दृष्टिले समेत महत्वपूर्ण रहेको केही चिकित्सकहरू बताउँछन्। उनीहरूका अनुसार विशेष गरी छठमा सूर्यको उपासना गरिने र त्यही सूर्यको किरणमा भिटामिन सी पाइने भएकाले प्राणी जगत्का लागि प्रत्यक्ष र अप्रत्यक्ष जीवन प्रदान गरिरहेको हुन्छ। त्यसैले छठ पर्वमा गरिने सूर्यको आराधनाले छालासम्बन्धी रोग निको हुने समेत जनविश्वास रहँदै आएको छ।

छठ पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि सुरु हुने गर्दछ। पहिलो दिनलाई नहान खान भनिन्छ। यस दिन विशेष शुद्धाशुद्धि अपनाइन्छ। यस दिनदेखि श्रद्धालुहरूले लसुन, प्याज, मसुरोको दाल, कोदो लगायतका परिकारहरूको परित्याग गरी अरुवाको चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाएर खाने गरिन्छ।

दोस्रो दिन अर्थात् पञ्चमीलाई खरना भनिन्छ। यस दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्रमाको दर्शन गरिसकेपछि माटोको नयाँ चुलो र भाँडामा सख्खर, दूध र चामलको खीर पकाइन्छ। केराको पातमा राखेर खीर छठी मातालाई चढाइन्छ र त्यसलाई प्रसादका रूपमा ग्रहण गर्ने गरिन्छ।

पर्वको तेस्रो दिन अर्थात् षष्ठीलाई सझियाघाट भनिन्छ। पर्वको मुख्य दिनका रूपमा रहेको यस दिन बिहानै तेल र घिउमा चामलको ठेकुवा र कसार लगायतका परिकार पकाई पाँच थरिका मिठाई, उखु, अदुवा, नरिवल, मुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेल लगायतका सामग्रीहरू राखिन्छ। ती सामग्रीहरू बाँसको टोकरी, सुपोमा राखेर जल, गाईको दूधसहित छठ पर्व मनाउने घाट वा जलाशयमा पुगेर पूजापाठ गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिई घर फर्कने गर्दछन्। कतिपय व्रतालुहरू घर नफर्की रातभरि बस्ने गर्छन्। भाकल बसेका केही व्यक्तिहरूले माटोका देवीदेवताका मूर्तिहरू बनाई पूजाआजा गर्छन्, जसलाई कोशिया भनिन्छ। कात्तिक सप्तमीका दिन उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यो पर्व विधिवत् रूपमा सम्पन्न हुने गर्दछ।

छठ पर्वका विषयमा विभिन्न कथा र किंवदन्ती रहेको पाइएको छ। सत्ययुगमा सरयाती नामक राजाका सुपुत्री सुकन्याले पहिलो पटक छठ गरेको बताइन्छ। यस्तै महाभारतमा पाँच पाण्डवले बसेको गुप्तवासको सफलताको कामना गर्दै द्रौपदीले छठ पर्व गरेकी थिइन्। त्यही बेलादेखि नै छठ पर्वको सुरुवात भएको धेरैको भनाइ छ। पिता श्रीकृष्णको श्रापबाट कुष्ठरोगले पीडित बनेका साम्ब सूर्यको आराधनाबाट रोगमुक्त बनेपछि छठको चलन चलेको साम्बपुराणमा उल्लेख रहेको पण्डितहरू बताउँछन्।

उता शनिबारदेखि चार दिनसम्म चल्ने छठ पर्वको तयारी पूरा भएको छ। कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले छठ पर्वका लागि जमुहार र रामघाटमा सरसफाइ, छठ स्थलको निर्माण, लाइटिङ लगायतका कुराहरूको व्यवस्थापन गरिएको बताए। जमुहार र रामघाट नदीमा छठ पर्वमा व्रतालुहरूका लागि पूजा गर्न सबै व्यवस्था मिलाइएको उनले बताए।

कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष माहोम्मद जाहिद खाँ र वडा नम्बर ३ का अध्यक्ष प्रकाश गैरेले छठको तयारीका लागि आवश्यक सहयोग र समन्वय गरिएको बताए। रामघाटको वारि कपिलवस्तु नगरपालिका र पारि बुद्धभूमि नगरपालिकाले छठ पूजा स्थल निर्माण गरेको छ। बुद्धभूमि नगरपालिका वडा नम्बर १० का अध्यक्ष संदीप पाण्डेयले आफ्नो वडाभित्र तीन स्थानमा छठ पूजा स्थल निर्माण गरिएको बताए।

प्रकाशित: २७ कार्तिक २०८३ १९:२५ शुक्रबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
10h ago
देशैभर फैलिँदै छठको रौनक : पहाडदेखि तराईसम्म उल्लास

देशैभर फैलिँदै छठको रौनक : पहाडदेखि तराईसम्म उल्लास

काठमाडौं । दसैं र तिहारको उल्लाससँगै नेपालीहरूको महान् पर्व छठको रौनकले तराई-मधेशदेखि राजधानी काठमाडौंसम्मलाई छोइसकेको छ। प्रकृति र सूर्यदेवको उपासनाको यो पर्व अब कुनै एक क्षेत्र वा समुदायमा मात्र ...

#पर्व #छठको
Compare →
Ekantipur
1d ago
काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा छठ : १७ स्थानका लागि गरिँदै छ तयारी

काठमाडौंमा पछिल्ला वर्षमा छठ पर्व मनाउनेको संख्या बढ्दै गएपछि यसपालि विभिन्न १७ स्थानमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको हो ।

#पर्व #मनाउने
Compare →
Onlinekhabar
4h ago
छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

छठको समाजशास्त्र : जातीय विभेद, महिला श्रम र सीमान्त समुदायको अर्थतन्त्र

अस्ताउँदो र उदाउँदो सूर्यको उपासना गर्दै प्रकृतिको आभार प्रकट गरिने लोकआस्थाको महापर्व छठ आज प्रथम दिन‘नहाय—खाय’ का साथ सुरु भएको छ । चार दिनसम्म चल्ने यो कठोर अनुष्ठानमा साधकहरूले प्रथम दिन पवित्र स्नान गरी चोखो …

#छठको #समुदायको
Compare →

Related Stories

World News
Build #2611