लकडाउनले धेरै व्यवसायलाई संकटमा पारे पनि अविनाशले त्यही संकटमा अवसर देखे, घरायसी उपभोक्ताबाट सुरु भएको ‘मेरो किसान’ लाई उनले पछि होटल, रेस्टुरेन्ट र संस्थागत ग्राहकतर्फ मोडे, अहिले सोल्टी, हायात, बेस्ट वेस्टर्न प्लस र चन्द्रागिरि हिल्सलगायतमा कृषि उत्पादन तथा खाद्य सामग्री आपूर्ति गर्दै आएका छन्
काठमाडौँ — सात वर्षअघि कोभिड–१९ को संक्रमण रोक्न देश लकडाउनमा थियो । दैनिक उपभोग्य वस्तु, तरकारी र खाद्यान्नको समेत सहज पहुँच नहुँदा आपूर्ति प्रभावित थियो । किसानका खेतबारीमा उत्पादन थियो तर उपभोक्ताको भान्सासम्म पुर्याउने सहज माध्यम थिएन ।
यही असहज परिस्थितिमा उद्यमी अविनाश सिलवालले किसानको उत्पादन उपभोक्ताको भान्सासम्म पुर्याउने व्यवसायको सम्भावना देखे । किसानबाट सिधै कृषि उत्पादन खरिद गर्ने र डिजिटल माध्यमबाट उपभोक्तासम्म पुर्याउने योजनासहित उनले ई–कमर्स प्लाटफर्म ‘मेरो किसान’ सञ्चालनमा ल्याए ।
लकडाउनका बेला अनलाइन र मोबाइल एपमार्फत किसान र उपभोक्तालाई जोड्ने कामबाट ‘मेरो किसान’ सुरु भयो । छोटो समयमै एपको लोकप्रियता बढ्यो । सोचेभन्दा धेरै व्यवसाय विस्तार भएको ‘मेरो किसान’ का संस्थापक तथा अध्यक्ष सिलवाल बताउँछन् ।
‘लकडाउन थियो, घर–घरमा तरकारी र खाद्यान्नको अभाव थियो,’ उनी भन्छन्, ‘कृषिलाई व्यवसायसँग जोड्नु र बिचौलियाको तह घटाउनु मुख्य उद्देश्य थियो । त्यसका लागि अनलाइन प्लाटफर्म उपयुक्त विकल्प हुन सक्छ भन्ने लाग्यो ।’
लकडाउनकै समयमा धादिङ, काभ्रे, पालुङ, भक्तपुरलगायत ठाउँमा पुगेर किसानबाट सिधै तरकारी खरिद गर्ने र उपभोक्ताको भान्सासम्म पुर्याउने काम सुरु भयो । ‘त्यो समय व्यवसायभन्दा चुनौती ठूलो थियो, महामारी । कोभिडको डर थियो । स्टाफलाई काम लगाउनु पनि चुनौती थियो । काठमाडौंमा बस्ने अवस्था धेरैको थिएन,’ उनी भन्छन्, ‘कर्मचारीले पनि ज्यानको वास्ता नगरी दिनरात काम गरे ।’
लकडाउन सकिएपछि भने व्यवसायको अवस्था फेरियो । उपभोक्ताबाट आउने अनलाइन अर्डर घट्न थाले । अविनाशले त्यही समय व्यवसायको मोडल परिवर्तन गरे । ‘लकडाउनसम्म हामी घरायसी प्रयोगका लागि मात्रै सीमित थियौं,’ उनी भन्छन्, ‘लकडाउन सकिएपछि व्यवसायको नयाँ मोडल खोज्दै बीटुसीबाट बीटुबीमा गयौं ।’
व्यवसायले होटल, रेस्टुरेन्ट र संस्थागत ग्राहकलाई प्राथमिकता दिन थाल्यो । तरकारी, फलफूल तथा खाद्य सामग्रीको आपूर्ति पाँचतारे होटलदेखि ठूला रेस्टुरेन्टसम्म विस्तार भयो । उनका अनुसार अहिले सोल्टी, हायात, बेस्ट वेस्टर्न प्लस, चन्द्रागिरि हिल्सलगायत संस्थामा कृषि उत्पादन तथा खाद्य सामग्री आपूर्ति गर्दै आएको छ ।
बानेश्वरको भाडाको वेयरहाउस, तीन वटा गाडी र १८ कर्मचारीबाट सुरु भएको व्यवसाय विस्तार हुँदै गयो । अहिले कर्मचारीको संख्या ५० जनाभन्दा बढी पुगेको छ । सवारीसाधनको संख्या पनि १५ भन्दा बढी छ । कम्पनीको कुल पुँजी १ अर्ब ३७ करोड पुगेको उनको दाबी छ । त्यसमा करिब ६० प्रतिशत हिस्सा संस्थागत लगानीकर्ताको रहेको उनी बताउँछन् । आईएमई, प्रभु क्यापिटल, अपी होल्डिङ्स, नेक्स्ट होल्डिङ्सलगायत संस्थागत लगानीकर्ता कम्पनीसँग जोडिएका छन् । कम्पनीसँग आबद्ध ३ सयदेखि ४ सय किसानलाई समेत अंकित मूल्यमा सेयरधनी बनाइएको उनले सुनाए ।
किसानबाट उत्पादन लिने र बजारसम्म पुर्याउने सोच अविनाशका लागि लकडाउनमा पढाइसँगै आएको थियो । कृषिसँग उनको सम्बन्ध भने बाल्यकालदेखि नै जोडिएको छ । गोरखाको छेपेटारमा हुर्किएका उनका आमाबुबा खेतीपातीमा संलग्न थिए । उनले गोरखाकै तारा माध्यमिक विद्यालयबाट एसएलसीसम्म पढे । माओवादी द्वन्द्वका बेला बोर्डिङ स्कुल बन्द भएपछि सरकारी विद्यालयमा पढ्ने बाध्यता रहेको उनी सुनाउँछन् ।
पढाइमा अविनाश अब्बल नै थिए । एसएलसीपछि उनले लमजुङ मर्स्याङ्दी बहुमुखी क्याम्पसमा व्यवस्थापन पढे । त्यसपछि बीबीए अध्ययनका लागि काठमाडौं आए । सीम्याटको तयारी गरे । शंकरदेव क्याम्पसमा बीबीए पढ्ने उनको इच्छा थियो । तर त्यो प्रयास सफल भएन । निजी कलेजमा पढ्ने रुचि पनि थिएन । सोचेको विषय र रोजेको कलेजमा पढ्न नपाएपछि उनको अध्ययनको बाटो केही मोडियो । सगरमाथा कलेजबाट अर्थशास्त्र तथा आमसञ्चार विषय लिएर स्नातक गरे ।
अर्थशास्त्र पढ्दै गर्दा उनको रुचि अर्थतन्त्रतर्फ बढ्यो । अर्थसम्बन्धी पत्रपत्रिका खोजी–खोजी पढ्न थाले । ‘व्यवसायी बन्छु भन्ने सोच त्यतिबेला थिएन,’ उनले भने, ‘अर्थ बुझ्न मन लाग्थ्यो । अर्थसम्बन्धी पत्रिका खोजी–खोजी पढ्थें ।’अर्थतन्त्र र कृषिलाई जोडेर हेर्ने रुचि बढेपछि उनले गोल्डेनगेट कलेजबाट कृषि अर्थशास्त्रमा स्नातकोत्तर गरे ।
अविनाशको व्यावसायिक यात्रा भने सेयर बजारबाट अघि बढेको हो । २० वर्षको उमेरमै उनी सेयर बजारमा प्रवेश गरेका हुन् । स्नातक पढ्दै गर्दा डिल्लीबजार कलेजको छेउमा अग्रवाल सेक्युरिटिज (ब्रोकर नं. ३) थियो । सेयर बजारको चिया गफले उद्यमी बन्न प्रेरित गरेको उनी बताउँछन् । ‘कलेज नजिकै ब्रोकर हाउस थियो, सेयरकै मात्र गफ हुन्थे,’ उनले भने, ‘अरूको कुरा सुनेर मलाई रुचि बढ्दै गयो र लगानीकर्ता बनें ।’
त्यतिबेला सेयर कारोबार अहिलेको जस्तो डिजिटल भइसकेको थिएन । कारोबार गर्न ब्रोकरको कार्यालयमै पुग्नुपर्थ्यो । सुरुमा १ हजार कित्ताको आईपीओ भरे । पछि राइट सेयरसमेत त्यही लगानीबाट करिब ४२ हजार रुपैयाँ प्राप्त भएको उनी बताउँछन् । त्यसपछि सेयर कारोबारमा लगानी रोकिएन । परिवारका सदस्यका नाममा समेत कारोबार गर्न थाले । दोस्रो बजारमा लगानी बढाउन सहकारीबाट ५ लाख रुपैयाँ ऋण लिएर लगानी बढाएको उनले सुनाए ।
स्नातक पूरा नहुँदै अविनाशको पोर्टफोलियो ३ देखि ४ करोड रुपैयाँसम्म पुग्यो । सेयर बजारमा सक्रिय हुँदै जाँदा लगानी र कम्पनी सञ्चालनका विषयमा पनि उनको अनुभव बढ्दै गयो । आशा लघुवित्त, रुरु हाइड्रोपावर र सीआईसी हाइड्रोपावरको बोर्ड सदस्य तथा सञ्चालक सदस्यको जिम्मेवारीसमेत निभाए ।
युवावस्थामै ठूलो लगानीका व्यवसायी भएका अविनाशले उतारचढाव पनि भोगे । व्यवसाय गर्न उनले करिब ८० प्रतिशत सेयर बेचे । सेयर बेचेर व्यवसायमा लगानी गरेको केही समयमै बजार उकालो लाग्यो । सेयर कम मूल्यमा बेचेकामा उनलाई पश्चात्ताप हुन थाल्यो । लकडाउनपछि व्यवसाय सुस्तायो । गाडी टुटफुट भएका देखिन थाले । त्यही समयमा उनले प्रेम विवाह गरे ।
‘सेयर सस्तोमा बेचेकाले डिप्रेसन नै भइसकेको थियो । विवाह गरें, जिम्मेवारी थपियो । के गर्ने भन्ने अन्योलमा थिएँ,’ अविनाशले भने, ‘धेरैले चिन्न थालिसकेका थिए, सहयोग पनि हुन थाल्यो । कुन दिन उठ्न सक्छु भन्ने विश्वास थियो । व्यवसाय रेस्टुरेन्ट, होटलमा जोडिन थालेपछि उठ्न सकें ।’
करिब दुई वर्षअघि ‘मेरो किसान’ पब्लिक कम्पनीमा आइसकेको छ । आगामी कात्तिकमा आईपीओ निष्कासनका लागि प्रक्रिया अघि बढेको अविनाशले जनाए । चालु आर्थिक वर्षको पहिलो तीन महिनामै कारोबार १५ करोड रुपैयाँभन्दा बढी पुगेको छ । वर्षभरिमा ४० देखि ५० करोड रुपैयाँको कारोबार गर्ने कम्पनीको लक्ष्य रहेको उनको भनाइ छ ।
कम्पनीमा ६० प्रतिशत हिस्सा संस्थागत लगानीकर्ताको छ । आईएमई, प्रभु क्यापिटल, अपी होल्डिङ्स, नेक्स्ट होल्डिङ्सलगायत संस्थागत लगानीकर्ता कम्पनीसँग जोडिएका छन् । कम्पनीसँग आबद्ध ३ देखि ४ सय किसानलाई ‘फेस भ्यालु’ मै सेयरधनी बनाइएको उनको भनाइ छ ।
कृषि उत्पादनको कारोबारबाट उनको व्यवसाय प्रशोधन र प्रविधितर्फ लैजाने योजना पनि अघि बढेको छ । चितवनमा ५० करोड रुपैयाँ लगानीमा कृषि प्रशोधन केन्द्र तथा ‘सीड इनोभेसन ल्याब’ निर्माण भइरहेको छ । गोदावरीमा ४ देखि ५ करोड रुपैयाँ लगानीमा हाइटेक मोडलका फार्म सञ्चालनमा ल्याउने तयारी रहेको अविनाशले बताए ।
अहिले एपमा ५ सयभन्दा बढी किसान आबद्ध छन् । चितवनको परियोजना सञ्चालनमा आएपछि थप १ सय २० भन्दा बढी रोजगारी सिर्जना हुने उनको अनुमान छ । व्यवसायमा उनको प्रेरणाको स्रोत भाटभटेनीका संस्थापक मीनबहादुर गुरुङ हुन् ।
‘सानो सुरुवातबाट ठूलो व्यवसाय निर्माण गर्न सकिन्छ । जस्तै परिस्थितिमा पनि उठ्न सकिन्छ भन्ने उदाहरणका रूपमा मीन दाइलाई लिएको छु,’ उनी भन्छन् । अविनाश युवालाई पनि यही सुझाव दिन्छन् । ‘असफलताको डरले नयाँ काम सुरु गर्न हिचकिचाउनु हुँदैन । काम सुरु गरेपछि सिक्दै अघि बढ्न सकिन्छ । हतार गर्नु हुँदैन,’ उनले भने ।
धेरै युवा विदेशिरहेको समयमा अविनाशले देशमै रोजगारी दिइरहेका छन् । उनलाई विदेश जाने रुचि कहिल्यै नआएको बताउँछन् । गाउँका साथीहरू दुबई, कतार र जापानसम्म पुग्थे । तर ती देशले उनलाई तानेनन् । स्टार्टअपका लागि केही देश पुगे पनि त्यहाँको दुःख र संघर्षले विदेश बस्न मन नलागेको उनले सुनाए ।
अहिले अविनाश कृषिमा जमेका छन्, रमाएका छन् । घुमफिर गर्न रुचाउने उनको गन्तव्य पनि कृषि फार्म नै हुन्छ । पहिले ट्रेकिङ गर्न मन पराउने उनी अहिले कृषि फार्म घुम्न र किसानसँग कुराकानी गर्न रुचाउँछन् । उनका दुई बच्चा छन् । पुस्तक पढ्नु र चलचित्र हेर्नु पनि उनका रुचि हुन् । खानामा दालभात र मःम उनको रोजाइमा पर्छ ।
कृषि गरिबीको पहिचान मात्र नभई प्रविधिसँग जोडेर व्यावसायिक बनाउन सकिने क्षेत्र हो भन्ने अविनाशको विश्वास छ । ‘मेरो किसान’ लाई नेपालको सबैभन्दा ठूलो कृषि कम्पनी बनाउने उनको लक्ष्य हो । कम्पनीलाई कृषि प्रशोधन र प्रविधिको क्षेत्रमा अग्रणी पहिचान बनाउने उद्देश्य रहेको उनले सुनाए ।
यज्ञ बञ्जाडे कान्तिपुर मिडिया ग्रुपका आर्थिक ब्युरो प्रमुख हुन् । उनी आर्थिक विषयमा समाचार/टिप्पणी लेख्छन् ।
प्रकृति कान्तिपुर मिडिया ग्रुपका आबद्ध दाहाल, अर्थतन्त्रका विविध आयाम, महिला अधिकार र प्रशासनका विषयमा रिपोर्टिङ गर्छिन् ।