वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको छ ।
बैतडी — रोजगारी र बसाइँसराइका कारण गाउँघर छाडेर बाहिरिएकाहरू दसैँ र जात्राका लागि आफ्नो थातथलो फर्किन थालेपछि बैतडीका गाउँघरमा चहलपहल बढेको छ। वर्षभरि सुनसान देखिने गाउँका घरआँगन, चौतारा, पानीपँधेरा र स्थानीय बजारमा अहिले चहलपहल बढेको हो।
शिवनाथ गाउँपालिका–५, कफाडीका स्थानीय मीन चन्दका अनुसार दसैँ र जात्रा नजिकिएसँगै रोजगारीका लागि विदेशिएका तथा बसाइँसराइ गरेर अन्यत्र गएकाहरू गाउँ फर्किन थालेका छन्। उनीहरू फर्किएसँगै गाउँघरमा भीडभाड बढेको उनले बताए।
गाउँ फर्किएकाहरूले आफन्त र छिमेकीसँग भेटघाट गर्ने क्रम बढेकाले पनि गाउँघरमा चहलपहल बढेको चन्दले बताए। बसाइँसराइ गरेर अन्यत्र गएका तथा रोजगारीका लागि बाहिरिएकाहरू नवरात्रि, दसैँ र जात्राका बेला हुने देवीदेवताको विशेष पूजाआजा तथा धार्मिक गतिविधिमा सहभागी हुन गाउँ फर्किने गर्छन्।
प्रायः सुनसान रहने गाउँका घरआँगन र स्थानीय बजारमा अहिले आफन्त तथा छिमेकीको बाक्लो उपस्थिति देखिन थालेको छ। जात्राका अवसरमा विशेष पूजाआजासँगै मेला पनि लाग्ने गर्छ। अधिकांश जात्रामा दुई दिनसम्म मेला लाग्ने गरेको स्थानीय बताउँछन्।
जिल्लाको दशरथचन्द नगरपालिकास्थित निङ्गलाशैनी भगवती मन्दिर, पाटन नगरपालिकास्थित उदैदेव मन्दिर र शिवनाथ गाउँपालिकास्थित उदैदेव मन्दिरमा दसैँअघि नै विशेष पूजाआजा र जात्रा हुने गर्छ। यी मन्दिरमा पूजाआजा र मेलासँगै राँगाको बलि दिने प्रचलनसमेत रहेकाले जात्रामा सहभागी हुन बाहिरिएकाहरू गाउँ फर्किने गरेका छन्।
रोजगारी र बसाइँसराइका कारण गाउँ छाडेकाले गर्दा गाउँमा करिब २५ प्रतिशत जति मानिस मात्रै रहने गरेको पञ्चेश्वर–२ का स्थानीय मदन चन्दले बताए। ‘नवरात्रि, दसैँ र जात्राका बेला गाउँघरमा शतप्रतिशत मानिस फर्किएका छन्,’ उनले भने, ‘नवरात्रि, दसैँ र जात्रा सकिएपछि चहलपहल भएका गाउँघर फेरि सुनसान बन्छन्।’
यो समयमा लामो समयदेखि भेटघाट हुन नपाएका आफन्तसमेत एकै ठाउँमा भेला हुने गरेका छन्। दसैँ र जात्राले परिवारका सदस्य, आफन्त तथा छिमेकीबीच भेटघाट र पुनर्मिलनको अवसरसमेत जुटाउने गरेको छ।
नवरात्रि, दसैँ र जात्राका लागि गाउँ फर्किएकाहरूले पुराना तथा जीर्ण घरको मर्मतसम्भार र लिपपोत गरेर चिटिक्क पार्ने गरेका छन्। दसैँ बेला गाउँका पुराना घरलाई रातो माटो र कमेरोले लिपपोत गर्ने परम्परा अझै कायम छ। पुरुषहरू खेतबारीको खनजोतमा व्यस्त हुँदा महिलाहरू घर लिपपोत तथा सरसफाइमा जुट्ने गरेका छन्। यसले गाउँघरमा दसैँको रौनक थपिएको छ।
गाउँ फर्किनेको संख्या बढेसँगै स्थानीय बजारमा पनि किनमेल बढेको छ। दसैँ र जात्राका लागि खाद्यान्न, लत्ताकपडा, पूजासामग्रीलगायत दैनिक उपभोग्य वस्तु खरिद गर्ने ग्राहकको चहलपहल बढेको स्थानीय व्यापारी राजु तिर्वाले बताए।
रोजगारीका लागि भारतको मुम्बईमा रहेका दशरथचन्द नगरपालिका–४ का हरिष ठगुन्ना तीन वर्षपछि नवरात्रि र दसैँको पूजामा सहभागी हुन गाउँ फर्किएका छन्। लामो समयपछि गाउँ फर्किंदा आफन्तसँग भेटघाट गर्न पाउँदा खुसी लागेको उनले बताए। ‘यो अवसरमा गाउँघरमा आफन्तसँग पनि भेटघाट हुन्छ,’ उनले भने, ‘नवरात्रि र दसैँ सकिएपछि पुरानै कर्मथलो फर्किनुपर्छ।’
नवरात्रि, दसैँ र जात्रा सकिएपछि रोजगारी तथा बसाइँसराइका कारण बाहिरिएकाहरू पुनः आफ्नो कर्मथलो फर्किने गर्छन्। उनीहरू फर्किएसँगै अहिले चहलपहल बढेका गाउँघर फेरि सुनसान बन्ने गरेको स्थानीय बताउँछन्।
मोहन चन्द कान्तिपुरका बैतडी संवाददाता हुन् ।