गाउँघरमा तिहारको रौनक बढे पनि ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारलाई सीमित आम्दानी र बढ्दो बजारभाउले चाडपर्वको खर्च धान्न मुस्किल छ ।
डडेलधुरा — रोजगारीका लागि भारत तथा अन्य मुलुक पुगेकाहरू तिहार मनाउन घर फर्किएपछि डडेलधुराका गाउँघरमा चहलपहल बढेको छ। लामो समयपछि परिवार र आफन्तसँग भेटघाट हुँदा धेरैका घरमा चाडपर्वको खुसी छाएको छ। बजारमा पनि चाडपर्वको किनमेल गर्नेहरूको भीड बढेको छ। तर गाउँमै दैनिक ज्याला मजदुरी गरेर जीविका चलाउने परिवारका लागि भने चाडपर्वको रौनकभन्दा घरखर्च कसरी जुटाउने भन्ने चिन्ता ठूलो बनेको छ।
अमरगढी नगरपालिका–१ की ६० वर्षीया पद्मा टमटा वर्षौंदेखि ज्याला मजदुरी गरेर गुजारा चलाउँदै आएकी छन्। दैनिक काम गरेर परिवारको खर्च जुटाउने उनलाई यसपटक दसैँतिहार मनाउनै मुस्किल परेको हो। काम गरेबापतको समयमै पारिश्रमिकसमेत नपाउँदा उनलाई चाडपर्वका लागि आवश्यक सामग्री किन्ने पैसा जुटाउनै हम्मेहम्मे छ।
पद्माका लागि तिहारमा नयाँ लुगा लगाउने र मीठोमसिनो खानेभन्दा पनि दैनिक गुजारा चलाउने चिन्ता ठूलो छ। बजारमा खाद्यान्नलगायत उपभोग्य वस्तुको मूल्य बढेको छ। तर मजदुरी गरेर जीविका चलाउनेहरूको आम्दानी भने बढ्न सकेको छैन।
दैनिक ज्याला मजदुरी गर्नेहरूलाई चाडपर्वमा थप खर्चको भार पर्छ। सामान्य दिनमा खानपिन र घरखर्च धान्नै मुस्किल हुने उनीहरूलाई दसैँतिहारमा खाद्यान्न, लत्ताकपडा र अन्य आवश्यक सामग्रीको जोहो गर्न थप समस्या हुन्छ। मजदुरीको ज्याला नबढ्ने तर बजारमा हरेक सामग्रीको मूल्य बढ्दै जाने अवस्थाले आफूहरू झन् मर्कामा परेको स्थानीय मजदुर हिरादेवी टमटाले बताइन्। उनले दिनभरि काम गरेर छ सयदेखि सात सय रुपैयाँसम्म मात्र ज्याला आउने बताइन्।
अर्की मजदुर पार्वतीदेवी टमटाको गुनासो पनि उस्तै छ। सीमित आम्दानीबाट घरखर्च चलाउनुपर्ने बाध्यताका बीच चाडपर्वमा थपिने खर्चले मजदुर परिवारलाई अप्ठ्यारोमा पारेको उनको भनाइ छ। दैनिक काम गरेर खानेहरूका लागि चाडपर्व खुसीभन्दा पनि खर्च व्यवस्थापनको चिन्ता बन्न थालेको उनीहरू बताउँछन्।
हिजोआज बजारमा तिहारका लागि आवश्यक सामग्री किनमेल गर्नेहरूको चहलपहल बढ्न थालेको छ। तर चाडपर्व नजिकिएसँगै बढेको बजारभाउले सर्वसाधारणको खर्चसमेत बढाएको छ।
दाल, तेल, चिनी लगायत दैनिक उपभोग्य वस्तुको मूल्य बढ्दा सीमित आम्दानी भएका परिवारलाई घरखर्च चलाउन कठिन भएको गन्यापधुरा–२, गणेशपुरकी पार्वती मल्लले बताइन्। दसैँमा भएको खर्चको व्यवस्थापन नसकिँदै तिहारका लागि खाद्यान्न, फलफूल, मसला, मिठाई र अन्य सामग्रीको जोहो गर्नुपर्ने भएकाले थप आर्थिक भार परेको उनको भनाइ छ।
अमरगढी नगरपालिका–५ का लक्ष्मीबहादुर टमटाले पनि बजारमा सामानको मूल्य बढेका कारण आवश्यक सामग्रीसमेत सोचविचार गरेर किन्नुपर्ने अवस्था रहेको बताए। चाडपर्वमा सामान्य समयभन्दा बढी खर्च हुने भए पनि आम्दानी नबढ्दा उपभोक्तालाई समस्या भएको उनको भनाइ छ।
चामल, दाल, तेल, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्य पछिल्लो समय बढेको छ। इन्धनको मूल्यवृद्धिसँगै ढुवानी खर्च बढ्दा त्यसको प्रत्यक्ष असर बजारभाउमा परेको उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष दीपक महताले बताए। इन्धनको मूल्य बढ्दा सामान ढुवानी गर्ने लागतसमेत बढ्ने भएकाले त्यसको असर उपभोग्य वस्तुको मूल्यमा देखिने गरेको उनको भनाइ छ। बजारमा वस्तुको मूल्यवृद्धि हुनुमा इन्धनको मूल्यसँगै अन्य लागतसमेत जिम्मेवार रहेको उनले बताए।
चाडपर्वका बेला खाद्यान्न, तेल, चिनी, फलफूल र अन्य उपभोग्य सामग्रीको माग बढ्ने गर्छ। यही समयमा कृत्रिम अभाव सिर्जना गर्ने, मनपरी मूल्य लिने र गुणस्तरहीन सामग्री बिक्री गर्ने सम्भावना रहने भएकाले बजार अनुगमनलाई प्रभावकारी बनाउनुपर्ने उपभोक्ताको माग छ। प्रमुख जिल्ला अधिकारी बेदराज फूयलले चाडपर्व लक्षित बजार अनुगमनलाई निरन्तरता दिइरहेको बताए। बजारमा हुन सक्ने अनियमितता नियन्त्रण गर्न अनुगमन भइरहेको उनको भनाइ छ।
परदेशबाट फर्किएकाहरूको आगमनले गाउँघरमा तिहारको रौनक थपिएको छ। तर गाउँमै श्रम गरेर जीविका चलाउने परिवारका लागि बढ्दो बजारभाउ र सीमित आम्दानी चाडपर्वको मुख्य चुनौती बनेको छ।