एनआईसी एसिया बैंकको नाफामा सामान्य सुधार देखिएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मको अवधिमा नाफामा सुधार देखिएको हो ।
चालु आर्थिक वर्षको तीन महिनामा यो बैंकले १२ करोड ७४ लाख ४२ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४.३३ प्रतिशतले धेरै हो । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मका यो बैंकको नाफा १२ करोड २१ लाख ६० हजार रुपैयाँ रहेको थियो । समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड ९२ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासिकसम्मा यस्तो आम्दानी २ अर्ब २८ करोड ६० लाख रुपैयाँ रहेको थियो । यसरी बैंकको खुद ब्याज आम्दानी एक वर्षको अवधिमा करिब ३९ करोड ६८ लाख रुपैयाँले घटेको छ ।
त्यस्तै, शुल्क तथा कमिसनबाट हुने खुद आम्दानीमा भने केही सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा ३२ करोड ९० लाख रुपैयाँ रहेको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ३५ करोड ६ लाख रुपैयाँ पुगेको छ । बैंकको कुल सञ्चालन आम्दानीसमेत घटेको छ । गत आर्थिक वर्षको पहिलो ३ महिनामा २ अर्ब ७७ करोड ९० लाख रुपैयाँ रहेको कुल सञ्चालन आम्दानी चालु आर्थिक वर्षमा घटेर २ अर्ब ४२ करोड ६८ लाख रुपैयाँमा झरेको छ । आम्दानी खुम्चिएपछि सञ्चालन नाफामा पनि दबाब परेको छ । गत वर्ष १९ करोड ३५ लाख रुपैयाँ रहेको सञ्चालन नाफा चालु आर्थिक वर्षको पहिलो त्रैमासमा घटेर १६ करोड १४ लाख रुपैयाँमा सीमित भएको छ ।
यद्यपि, करअघिको नाफामा भने सामान्य सुधार देखिएको छ । गत आर्थिक वर्षको पहिलो त्रैमासमा १७ करोड ४५ लाख रुपैयाँ रहेको करअघिको नाफा चालु आर्थिक वर्षमा बढेर १८ करोड २० लाख रुपैयाँ पुगेको छ । बैंकको अर्को गम्भीर चुनौती खराब कर्जामा भएको वृद्धि हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ६.९९ प्रतिशत रहेको खराब कर्जाको अनुपात चालु आर्थिक वर्षको सोही अवधिमा बढेर ९.८१ प्रतिशत पुगेको छ । अर्थात् एक वर्षमै खराब कर्जा २.८२ प्रतिशत विन्दुले बढेको हो । खराब कर्जा बढ्नुले बैंकले प्रवाह गरेको कर्जाको असुलीमा समस्या थपिएको र जोखिम व्यवस्थापनमा थप दबाब परेको संकेत गर्छ ।
समीक्षा अवधिसम्म बैंकले ग्राहकबाट ३ खर्ब ४१ अर्ब ८४ करोड ९५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै, १ खर्ब ९१ अर्ब २० करोड ६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । बैंकको कुल सम्पत्ति ३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको छ । चुक्ता पुँजी १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ रहेको बैंकको जगेडा कोषमा २६ अर्ब २१ करोड ६७ लाख रुपैयाँ सञ्चित छ । अन्य वित्तीय सूचकमा पनि मिश्रित अवस्था देखिएको छ । बैंकको कोष लागत ४.६० प्रतिशतबाट घटेर ३.७८ प्रतिशतमा झरेको छ भने आधार दर ६.६० प्रतिशतबाट घटेर ५.५५ प्रतिशत कायम भएको छ । कर्जा तथा निक्षेप अनुपात ६६.०८ प्रतिशतबाट घटेर ६०.२२ प्रतिशतमा आएको छ । तर, पुँजी पर्याप्तता अनुपात भने १४.०३ प्रतिशतबाट घटेर ११.१२ प्रतिशतमा सीमित भएको छ । त्यस्तै, ब्याजदर अन्तर ३.९९ प्रतिशतबाट घटेर ३.३१ प्रतिशतमा झरेको छ । स्वपुँजीमा प्रतिफल १.६२ प्रतिशतबाट बढेर १.९४ प्रतिशत पुगेको छ भने सम्पत्तिमा प्रतिफल ०.१२ प्रतिशतबाट बढेर ०.१३ प्रतिशत कायम भएको छ । बैंकको प्रतिसेयर आम्दानी ३ रुपैयाँ २१ पैसाबाट बढेर ३ रुपैयाँ ३५ पैसा पुगेको छ ।