प्रतियोगितामा विजेताले १ लाख र उपविजेताले ६० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
आगामी मंसिरको अन्तिम साता खोटाङमा ‘सहिद मुक्सन किराँत स्मृति जिल्लास्तरीय खुला पुरुष भलिबल प्रतियोगिता’ हुने भएको छ । सहिद मुक्सन किराँत स्मृति केन्द्र खोटाङको आयोजनामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५, लफ्याङस्थित सहिद स्मारक स्थलमा मंसिर २५ गतेदेखि प्रतियोगिता हुने भएको हो ।
प्रतियोगितामा विजेताले एक लाख र उपविजेताले ६० हजार रुपैयाँ नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउने बिहीबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । प्रतियोगिताका संयोजक जितेन्द्र राईका अनुसार विधागत खेलाडीहरूलाई समेत नगदसहित पुरस्कृत गरिनेछ । यसअन्तर्गत सर्वोत्कृष्ट खेलाडीलाई तीन हजार तथा उत्कृष्ट लिबेरो, मिडल ब्लकर, सेटर, स्पाइकर र सर्भरलाई जनही दुई–दुई हजार रुपैयाँ प्रदान गरिने राईले जनाए ।
सहिद किराँतको स्मृति र योगदानलाई जीवन्त राख्दै खोटाङ जिल्लामा भलिबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको स्मृति केन्द्रका अध्यक्ष बबी चाम्लिङले बताए ।
डम्बरसिं राई कान्तिपुरका खोटाङ संवाददाता हुन् ।