फास्ट बलर राहुलले आफ्नो अनुभव सुनाउँदै भने, ‘मलाई राम्रो लागिरहेको छ । टिममा सबैभन्दा कान्छो खेलाडी म नै हुँ, धेरै सिक्ने अवसर पाइरहेको छुँ । एकदमै राम्रो भइरहेको छ । पहिलो खेलमा म निकै आत्तिएको थिएँ, अहिले भने आत्मविश्वास बढेको छ ।’
काठमाडौँ — नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो सिजनको विजेता जनकपुर बोल्ट्सले तेस्रो सिजनको पहिलो जित निकाल्ने क्रममा बिहीबार काठमान्डु गोर्खाजलाई सजिलै आठ विकेटले पराजित गरेपछि कप्तान हरमित सिंहले खुसी व्यक्त गरेका छन् ।
खेलपछि कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय मैदानमा अमेरिकी खेलाडी हरमितले भने, ‘यो प्रभावशाली जित रह्यो ।’ उनले १७ वर्षीय राहुल यादवको प्रशंसा पनि गरे । राहुल नै खेलका ‘प्लेयर अफ द म्याच’ रहे । उनले ३१ रन दिएर चार विकेट लिए । उनले दुई खेलमा लिएको विकेट संख्या छ पुगेको छ ।
फास्ट बलर राहुलले आफ्नो अनुभव सुनाउँदै भने, ‘मलाई राम्रो लागिरहेको छ । टिममा सबैभन्दा कान्छो खेलाडी म नै हुँ, धेरै सिक्ने अवसर पाइरहेको छुँ । एकदमै राम्रो भइरहेको छ । पहिलो खेलमा म निकै आत्तिएको थिएँ, अहिले भने आत्मविश्वास बढेको छ ।’
टयालेन्ट हन्टमा छानिएका राहुलले अबका खेलमा अझ राम्रो गर्न सक्ने दाबी गरे । उनले थपे, ‘जसरी मैले सबैको समर्थन पाइरहेको छु, त्यसले उत्साहित पनि छु । अब मेरो उद्देश्य प्रतियोगिताका बाँकी खेलमा सक्दो राम्रो प्रदर्शन गर्नु हुनेछ, मेरो प्रयास सय प्रतिशत भन्दा बढी योगदान दिने हुनेछ ।’
यस्तै, काठमान्डुका निर्देशक शरद भेषावाकरले हारमा केही निराशा पोखे । उनले भने, ‘ब्याटिङमा हामीले चाहिँदा रन बनाउन सकेनौं, साझेदारी पनि खासै भएन । टिमले लय नै समात्न सकेन । मलाई लाग्छ, आज जनकपुरले राम्रो क्रिकेट खेल्यो र विजयी रह्यो ।’
भेषावकरले थपे, ‘समग्रमा टिमको प्रदर्शनमा खुसी छौं, विशेषतः फिल्डिङ राम्रो रह्यो । अबका खेलमा पक्कै पनि हाम्रो प्रदर्शन राम्रो हुनेछ । अबका खेलमा हाम्रो विदेशी खेलाडी पनि उपलब्धि हुनेछन् । मलाई टिममाथि पूरा विश्वास र आत्मविश्वास छ ।’