उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै प्रशासनले पर्यटक, पदयात्री, पर्वतारोही साथै स्थानीयलाई सचेत रहन अनुरोध गरेको हो ।
लमजुङ — चक्रीय अन्नपूर्ण पदमार्गमा पदयात्रा तथा हिमाल आरोहण गर्दा उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय मनाङले आग्रह गरेको छ ।
उच्च हिमाली तथा पहाडी क्षेत्रमा भारी वर्षा र हिमपातको सम्भावना रहेको भन्दै प्रशासनले पर्यटक, पदयात्री, पर्वतारोही साथै स्थानीयलाई सचेत रहन अनुरोध गरेको हो ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार १२ देखि १५ कार्तिकसम्म मौसम प्रतिकूल हुनसक्ने भन्दै मनाङ प्रशासनले मंगलबार सूचना जारी गर्दै सम्भावित वर्षा तथा हिमपातका कारण उच्च हिमाली क्षेत्रमा पदयात्रा र आरोहण जोखिमपूर्ण हुन सक्ने चेतावनी दिएको छ ।
प्रशासनले मुस्ताङ प्रवेश गर्ने थोराङ्ला पास, गोरखातर्फको लार्के पास, नार्पाभूमिबाट मनाङ ङिस्याङतर्फको काङ्ला पास, तिलिचो ताल, हिमलुङ हिमाल, लमजुङ हिमाल आसपासका पदयात्रा मार्ग र हिमाली क्षेत्रमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन आग्रह गरेको छ ।
मौसमको अवस्था नबुझी पदयात्रा तथा आरोहणमा ननिस्कन, जोखिमयुक्त क्षेत्रमा अनावश्यक आवतजावत नगर्न र मौसमसम्बन्धी अद्यावधिक सूचना लिएर मात्रै यात्रा योजना बनाउन प्रशासनले अनुरोध गरेको छ । पदयात्राका क्रममा बाटोमै रहेका पर्यटक तथा पदयात्रीलाई पनि मौसम र पदमार्गको अवस्थाबारे जानकारी लिएर सुरक्षित निर्णय गर्न आग्रह गरिएको छ ।
सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पौडेलका अनुसार सम्भावित विपद्लाई ध्यानमा राख्दै उद्धार तथा प्रतिकार्यका लागि आवश्यक तयारी गर्न सम्बन्धित निकायलाई अनुरोध गरिएको छ । पदयात्राका क्रममा कुनै विपद्जन्य घटना भएमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी इकाइ वा सुरक्षा निकायलाई तत्काल जानकारी गराउन प्रशासनद्धारा जारी सूचनामा उल्लेख छ ।
विपद्का बेला तत्काल उद्धार तथा सहयोगका लागि सम्बन्धित निकायसँग समन्वय गर्न पनि प्रशासनले आग्रह गरेको छ । सम्भावित जोखिमबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यूनीकरण गर्न पर्यटक, पर्यटन व्यवसायी, पदयात्रा सञ्चालक र स्थानीयलाई सचेत तथा जिम्मेवार बन्न प्रशासनले अनुरोध गरेको छ ।
आश गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।