कर्णाली याक्सका युनिश ठकुरीले आफ्नो टिमले एनपीएलमा मंगलबार प्राप्त जितमा खुसी व्यक्त गर्दै अबका दिनमा अझ राम्रो गर्ने दाबी गरेका छन् ।
काठमाडौँ — कर्णाली याक्सका युनिश ठकुरीले आफ्नो टिमले नेपाल प्रिमियर लिगको तेस्रो सिजनमा मंगलबार प्राप्त जितमा खुसी व्यक्त गर्दै अबका दिनमा अझ राम्रो गर्ने दाबी गरेका छन् । उनले कर्णालीले अबका खेलमा पाएको मौका सदुपयोग गर्ने हो भने धेरै अगाडि जान सक्ने बताए ।
जनकपुर बोल्ट्सविरूद्ध कर्णाली १९ रनले विजयी रहेको हो । उसले पहिले ब्याटिङ गर्दै नौ विकेटमा १ सय ३२ रन बनाएको थियो । जवाफमा जनकपुर १ सय १३ रनमा अलआउट भयो । त्यसमा युनिशले २२ रन खर्चेर तीन विकेट लिएका थिए । उनले आफ्नो प्रदर्शनमा पनि खुसी व्यक्त गरे । उनले थपे, ‘हाम्रो टिममा एकता छ, त्यसैले सबैको सहयोगले यो जित सम्भव भएको हो ।’
जनकपुर बोल्ट्सका कप्तान हरमिट सिंहले हारका बाबजुद खासै धेरै चिन्ता लिनु नपर्ने दाबी गरे । उनले अबका दिनमा राम्रो गर्ने पनि दाबी गरे किनभने उनको विश्लेषणमा जनकपुर टिम आफैंमा बलियो छ । उनले भने, ‘हाम्रो खेल राम्रो नै रह्यो, हामीले राम्रो गर्न प्रयास गर्यौं, झिनो अन्तरले मात्र खेल केही गुमायौं ।’ उनको विश्लेषण थियो, जनकपुरका लागि केही पनि बिग्रेको छैन र यो प्रतियोगितामा उनीहरूको पहिलो खेल हो, निराश हुन आवश्यक छैन ।