भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारले क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा र पालनपोषण तथा रोजगारीको माग राखे पनि ठोस लिखित सहमतिबिनै शव बुझे । मकवानपुर प्रशासनले सात दिनभित्र माग सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको छ ।
मकवानपुर — छठ पर्व मनाउन कर्मभूमिबाट जन्मभूमि फर्किंदै थिए उनीहरू । घरपरिवारसँग पर्व मनाउने खुसी बोकेर हिँडेका उनीहरूको यात्रा मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा पुगेर टुंगियो । बिहीबार बिहान करिब ५ बजेर ४५ मिनेटको समयमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाले ज्यान गुमाए । सर्लाहीको चक्रघट्टा गाउँपालिका–५, सुन्दरपुरका उनीहरूको घर फर्किने सपना दुर्घटनासँगै चकनाचुर भयो ।
दुर्घटनामा परिवारका ६ सदस्य गुमाएका अवधेशकुमार यादवका लागि यो विपत्ति अकल्पनीय थियो । उनले गर्भवती श्रीमती, तीन छोरी र दुई भाइ गुमाए । उनका १४ महिनाका छोरा पनि दुर्घटनामा घाइते भए । उनको काठमाडौंमा उपचार भइरहेको छ । परिवारका सदस्य गुमाएको पीडासँगै स्वास्थ्यमा समस्या देखिएपछि अवधेश स्वयं पनि हेटौंडा अस्पतालको आकस्मिक कक्षमा भर्ना भएका थिए ।
आफन्तका शव हेटौंडा अस्पतालमा थिए । तर, मृतक परिवारको पीडा शव बुझेर घर फर्किने अवस्थामै सीमित थिएन । परिवारको भविष्य, घाइते बालबालिकाको शिक्षा र जीविकोपार्जनको चिन्ताले उनीहरूलाई थप पिरोलेको थियो । त्यसैले उचित क्षतिपूर्ति, घाइते बालबालिकाको शिक्षा तथा पालनपोषण, मृतकका परिवारका सदस्यलाई रोजगारी र दुर्घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग राख्दै उनीहरूले शव परीक्षण तथा शव बुझ्ने प्रक्रिया रोकेका थिए ।
मृतकका परिवारले प्रतिपरिवार १० लाख रुपैयाँका दरले क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने माग गरेका थिए । साथै दुर्घटनामा घाइते भएका तीन बालबालिकाको शिक्षा तथा पालनपोषणको जिम्मेवारी लिनुपर्ने र मृतकका परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग अघि सारेका थिए ।
मधेश प्रदेशका पूर्वअर्थमन्त्री एवं प्रदेशसभा सदस्य सञ्जयकुमार यादव, चक्रघट्टा गाउँपालिका अध्यक्ष कृष्णकुमार यादव तथा मृतकका आफन्तसहितको टोलीले जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी एवं दुर्घटना छानबिन समितिका संयोजक शेषकान्त पौडेलसँग छलफल गरेको थियो ।
छलफलमा प्रशासनले मृतक पक्षका माग छानबिन समितिमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म पुर्याएर सम्बोधनका लागि पहल गर्ने आश्वासन दिएको थियो । सात दिनभित्र माग सम्बोधन गर्ने आश्वासनपछि आफन्त शव परीक्षण गर्न र बुझ्न तयार भए ।
तर, माग सम्बोधन गर्ने विषयमा कुनै ठोस लिखित सहमति वा कार्यान्वयनको स्पष्ट आधार तयार भएन । प्रशासनको आश्वासनकै भरमा आफन्तले शव बुझे । करिब ३६ घण्टासम्म अस्पतालमा रहेका शव बुझेर उनीहरू जन्मभूमि सर्लाही फर्किए । उनीहरूको साथमा आफन्तका शव थिए, तर परिवारको भविष्य सुरक्षित हुने सुनिश्चितता अझै थिएन ।
दुर्घटनामा मृत्यु भएका १४ जनामध्ये चालकको शव परिवारले यसअघि नै बुझिसकेको थियो । बाँकी १३ जनाको शव हेटौंडा अस्पतालमा राखिएको थियो । अस्पतालको शवगृहमा एकपटकमा चारवटा शव मात्र राख्न सक्ने क्षमता रहेकाले सबै शव एकैपटक अस्पतालमा रहँदा व्यवस्थापनमा कठिनाइ भएको थियो ।
अन्ततः आफन्तले शव त बुझे, तर उनीहरूले उठाएका मागको कार्यान्वयन भने प्रशासनको जिम्मेवारीमा छाडेर फर्किए । सात दिनभित्र माग सम्बोधन गर्ने आश्वासनले तत्काल शव बुझ्ने बाटो खोल्यो । तर, पीडित परिवारले माग गरेअनुसार क्षतिपूर्ति, बालबालिकाको शिक्षा तथा पालनपोषण र रोजगारीको व्यवस्था हुने नहुने अझै सुनिश्चित भइसकेको छैन ।
चिसापानीगढीको दुर्घटनाले १४ जनाको ज्यान मात्र लिएन, एउटा परिवारको आधारसमेत भत्काइदियो । छठ पर्वको खुसी बोकेर जन्मभूमि फर्किंदै गरेका उनीहरूका आफन्त भने शवको पोकासँगै प्रशासनको आश्वासन बोकेर गाउँ फर्किन बाध्य भए ।
मधेश प्रदेशसभा सदस्य तथा पूर्वअर्थमन्त्री सञ्जयकुमार यादवका अनुसार १३ जनाको शव एकै स्थानमा सामूहिक रूपमा दाहसंस्कार गर्ने तयारी गरिएको छ । उनकै नेतृत्वमा सर्लाहीबाट हेटौंडा आएको टोलीले मृतकको रीतिरिवाजअनुसार अन्तिम संस्कार गर्न आवश्यक प्रक्रिया र तयारी अघि बढाएको छ ।
सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।