२७ कात्तिक, हेटाैंडा । मकवानपुरको भीमफेदी गाउँपालिकास्थित चिसापानी गढीमा बिहीबार बिहान भएकाे माइक्रोबस दुर्घटनामा ज्यान गुमाएका मृतकका आफन्तहरूले शव उठाउन मानेका छैनन् ।
मृतकका आफन्तले पीडित परिवारलाई जनही १० लाख रुपैयाँ क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने, घाइतेकाे उपचार खर्च सरकारले व्यहाेर्नुपर्ने र परिवारका सदस्यलाई रोजगारीको व्यवस्था गर्नुपर्ने माग राख्दै शव उठाउन नमानेकाे मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जानकारी दिए ।
उनले पीडित परिवारलाई कानुनले ताेके बमाेजिमकाे मात्रै क्षतिपूर्ति दिन सकिने बारे बताएकाे र उनीहरूले थप क्षतिपूर्ति माग गरेकाे अनलाइनखबरलाई जानकारी दिए ।
दुर्घटनामा परेको मधेश प्रदेश ०३-००१ ज ०८८० नम्बरको माइक्रोबस सडकबाट करिब ५०० मिटर तल खस्दा मृत्यु हुनेकाे संख्या १४ पुगेकाे छ । दुर्घटनाको समयमा गाडीमा चालकसहित २० जना सवार थिए । ६ जना घाइते भएका छन् । उनीहरूकाे हेटाैंडा, भरतपुर र काठमाडाैंस्थित अस्पतालमा उपचार भइरहेकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
मृतक १४ जनाकाे शव हेटाैंडा अस्पतालकाे शव गृहमा राखिएकाे छ । मृतकका आफन्तहरू पनि अस्पताल परिसरमै छन् ।
चालककाे लापरबाहीले भएकाे दुर्घटनामा राजनीतिक स्वार्थले मृतक परिवारलाई भड्काउने कार्य भइरहेकाे आशंका मकवानपुर प्रशासनले गरेकाे छ ।
बिहीबार सर्लाहीका स्थानीय नेता सञ्जय यादवले सरकारले क्षतिपूर्ति दिनुपर्ने लगायतका माग राख्दै मृतक परिवारकाे पक्षबाट नेतृत्व गरेका छन् । बिहीबार नै शवकाे पाेस्टमार्टम गर्न खाेज्दा मृतक परिवारले नमानेकाे प्रशासनले जनाएकाे छ ।
प्रजिअ अधिकारीले कानुन बमाेजिम पाउनुपर्ने क्षतिपूर्ति नलिए शव पाेस्टमार्टम गर्ने र कानुनअनुसार शव व्यवस्थापन गर्ने बताएका छन् ।