दुबईमा हुने सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधि र अपराध नियन्त्रणका विषयमा छलफल हुने
काठमाडौँ — गृहमन्त्री सुधन गुरुङ विश्व प्रहरी शिखर सम्मेलनमा सहभागी हुन शुक्रबार साँझ संयुक्त अरब इमिरेट्स (यूएई) प्रस्थान गरेका छन् ।
यूएई सरकारको औपचारिक निमन्त्रणामा दुबईमा आयोजना हुने सम्मेलनमा सहभागी हुन उनी साँझ ७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।
सम्मेलनमा अन्तर्राष्ट्रिय प्रहरी सहकार्य, सुरक्षा प्रविधिको विकास तथा अपराध नियन्त्रणका नवीनतम अभ्यासबारे छलफल हुने कार्यक्रम छ ।
सम्मेलनमा उच्चस्तरीय नीतिगत छलफल, विषयगत तथा प्राविधिक सत्र, राउन्ड टेबल बैठक, कार्यशाला तथा तालिम, अन्तर्राष्ट्रिय प्रदर्शनी र विश्व प्रहरी पुरस्कार वितरणलगायतका गतिविधि हुनेछन् ।
सम्मेलनमा रक्षा तथा संकट प्रतिकार्य, स्वचालित रोबोट, ड्रोन तथा मानवीय क्षमता, कृत्रिम बुद्धिमत्तामा आधारित प्रहरी सेवा तथा डिजिटल रूपान्तरण, साइबर आक्रमण तथा डिजिटल ठगी नियन्त्रण, क्रिप्टो कारोबार तथा वित्तीय अपराध नियन्त्रण, अपराध अनुसन्धान, गुप्तचर सूचना तथा आधुनिक फरेन्सिक प्रविधि, लागुऔषध तथा संगठित अपराध नियन्त्रण, सीमा सुरक्षा तथा स्मार्ट सुरक्षा प्रणाली र भूउपग्रह सूचना तथा अन्तरिक्ष सुरक्षालगायत १४ विषयगत क्षेत्र समेटिएका छन् ।
सम्मेलनमा नेपालको सहभागिताले यूएईसहित अन्य मुलुकका आन्तरिक मामिलासम्बन्धी मन्त्री तथा सुरक्षा प्रमुखसँग द्विपक्षीय भेटघाट र सुरक्षा क्षेत्रमा प्राविधिक सहयोग आदानप्रदानबारे छलफल गर्ने अवसर उपलब्ध हुने गृह मन्त्रालयले जनाएको छ ।
त्यस्तै मानव बेचबिखन, मानव तस्करी, साइबर अपराध, लागुऔषध तथा सीमापार संगठित अपराध नियन्त्रणका लागि अन्तर्राष्ट्रिय सहकार्य अघि बढाउने तथा नेपाल प्रहरीको आधुनिकीकरण, प्रविधि हस्तान्तरण र विशेषज्ञ तालिमका लागि सम्भावित साझेदार संस्था पहिचान गर्ने अवसरसमेत प्राप्त हुने जनाइएको छ ।