बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा सोमबार बिहान विकसित ‘अर्नब’ सोमबार मध्यरातसम्म शक्तिशाली र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ ।
काठमाडौँ — बंगालको खाडीको पूर्वमध्य र आसपासको दक्षिणपूर्वी क्षेत्रमा रहेको गहिरो न्यूनचापीय प्रणाली पश्चिमतर्फ सर्दै सोमबार बिहान चक्रवाती आँधी ‘अर्नब’ मा परिणत भएको छ ।
सोमबार बिहान साढे ५ बजे आँधी बंगालको खाडीको पूर्वमध्य र आसपासको पश्चिममध्य क्षेत्रमा केन्द्रित थियो । यो भारतको अन्डमान टापुस्थित श्री विजयपुरमबाट ५९० किलोमिटर उत्तरपश्चिम, आन्ध्र प्रदेशको विशाखापट्टनमबाट ६५० किलोमिटर पूर्व–दक्षिणपूर्व र काकिनाडाबाट ७३० किलोमिटर पूर्व–दक्षिणपूर्वमा रहेको भारतको मौसम विज्ञान विभागले जनाएको छ ।
यो आँधी सोमबार मध्यरातसम्म शक्तिशाली चक्रवाती आँधी र मंगलबार अति शक्तिशाली चक्रवाती आँधीमा परिणत हुने सम्भावना छ । विभागका अनुसार चक्रवात बुधबार बिहान बापटला र विशाखापट्टनमबीच आन्ध्र प्रदेश–यानम तट पार गर्ने अनुमान छ । त्यसबेला हावाको गति प्रतिघण्टा ११५ देखि १२५ किलोमिटर रहने र झोक्कासहित १४० किलोमिटरसम्म पुग्न सक्नेछ ।
चक्रवातका कारण आन्ध्र प्रदेश र ओडिसाका तटीय जिल्लामा भारीदेखि अति भारी वर्षा हुने पूर्वानुमान गरिएको छ । आन्ध्र प्रदेशका श्रीकाकुलम, पार्वतीपुरम मन्यम, विजयनगरम, अनकापल्ली र अल्लुरी सीताराम राजु जिल्लामा ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ । ती जिल्लामा २४ घण्टामा ११० देखि २०० मिलिमिटरसम्म वर्षा हुन सक्ने अनुमान छ ।
आन्ध्र प्रदेशकै काकिनाडा, एलुरु, पूर्वी गोदावरी, पश्चिमी गोदावरी, एनटीआर र कृष्णा जिल्लामा भने ‘रेड अलर्ट’ जारी गरिएको छ । ती जिल्लामा २४ घण्टामा २०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने चेतावनी दिइएको छ ।
ओडिसाका गन्जाम, रायगढा, कोरापुट र मलकानगिरी जिल्लामा बुधबार अति भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै ‘अरेन्ज अलर्ट’ जारी गरिएको छ । यी चार जिल्लासहित गजपति जिल्लामा बिहीबार अति भारी वर्षाको पूर्वानुमान गर्दै ‘रेड अलर्ट’ जारी गरिएको छ ।
चक्रवात तटमा पुग्ने समयमा आन्ध्र प्रदेशको तटीय क्षेत्रमा समुद्री सतह बढेर होचा भूभाग डुबानमा पर्न सक्ने चेतावनी दिइएको छ । भारतको मौसम विज्ञान विभागका अनुसार काकिनाडा र यानम आसपास सामान्य ज्वारको सतहभन्दा १ देखि १.५ मिटरसम्म समुद्री पानी बढ्न सक्छ । यसले तटीय बस्तीमा डुबानको जोखिम बढाउन सक्छ ।
चक्रवातको सम्भावित प्रभावलाई ध्यानमा राख्दै आन्ध्र प्रदेश र ओडिसाका प्रशासनले सतर्कता बढाएका छन् । समुद्रमा रहेका माछा मार्ने डुङ्गालाई किनारमा फर्कन भनिएको छ भने जोखिमयुक्त तटीय क्षेत्रमा आवश्यक तयारी अघि बढाइएको छ । आन्ध्र प्रदेशमा जोखिममा रहेका बासिन्दालाई सुरक्षित स्थानमा सार्ने तयारी भइरहेको छ । ओडिसाले पनि केही जिल्लामा विद्यालय तथा कलेज बन्द गर्ने निर्णय गरेको छ ।
चक्रवातका कारण दक्षिण बंगालमा पनि मंगलबारदेखि तटीय क्षेत्रमा तीव्र हावा चल्ने र अक्टोबर २८ देखि ३० सम्म वर्षा हुने सम्भावना छ । त्यहाँका केही जिल्लामा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ । - यो सामग्री अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूको रिपोर्टमा आधारित रहेर तयार पारिएको हो ।