कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनले विनियोजन, अर्थसम्बन्धी प्रस्ताव, खेलकुद, वित्तीय उत्तरदायित्व र सरकारी कामकाजका १३ भाषासम्बन्धी विधेयक पारित गरेको छ।
विराटनगर — कोशी प्रदेशसभाको पाँचौँ अधिवेशनले सरकारी कामकाजको भाषा निर्धारणदेखि प्रदेश सरकारको वित्तीय उत्तरदायित्व र खेलकुद क्षेत्रको कानुनी व्यवस्थासम्म समेटिएका पाँच विधेयक पारित गरेको छ।
अधिवेशनले आर्थिक वर्ष २०८३/८४ को सेवा र कार्यका लागि कोशी प्रदेश सञ्चित कोषबाट रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक, प्रदेश खेलकुद पहिलो संशोधन अध्यादेशलाई प्रतिस्थापन गर्ने विधेयक, प्रदेश आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७८ लाई संशोधन गर्ने विधेयक र कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको हो।
सरकारी कामकाजको भाषासम्बन्धी विधेयकले प्रदेशमा १३ वटा सरकारी कामकाजका भाषाको निर्धारण गर्ने व्यवस्था गरेको छ। 'यो व्यवस्थाले प्रदेशको भाषिक विविधतालाई सरकारी कामकाजमा समेट्ने अपेक्षा गरिएको छ', सभामुख अम्बरबहादुर बिष्टले भने।
प्रदेश सभा सचिवालयका अनुसार प्रदेशसभाका ३५ वटा बैठक बसेका थिए। ती बैठकमा ४८ घण्टा ५० मिनेट छलफल भएको थियो। यसै अधिवेशनमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका थिए। प्रदेश सरकारलाई थप उत्तरदायी र जवाफदेही बनाउने उद्देश्यले प्रदेशसभा सदस्यहरूले शून्य समय र विशेष समयमा उठाएका जनसरोकारका विषय, प्रश्न तथा जिज्ञासाको जवाफ दिने अभ्यासलाई पनि निरन्तरता दिइएको सभामुख बिष्टले जनाए।
अधिवेशनका क्रममा प्रदेशसभा नियमावली, २०८३ निर्माण गरिएको थियो। यसले प्रदेशसभाको कामकारबाही सञ्चालनका लागि नयाँ प्रक्रियागत आधार तयार गरेको छ।
अधिवेशनमा महालेखापरीक्षकको आठौँ वार्षिक प्रतिवेदन, राष्ट्रिय दलित आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, मुस्लिम आयोगको सातौँ वार्षिक प्रतिवेदन र प्रदेश लोकसेवा आयोगको सातौँ वार्षिक प्रतिवेदन पेस भएका थिए। विभिन्न विषयगत समितिका प्रतिवेदनसमेत सभामा प्रस्तुत गरिएको थियो।
प्रदेशसभाको सचिवालयले सम्पादन गरेका प्रमुख काममा गाउँसभा र नगरसभा सञ्चालन कार्यविधि ऐन, २०७५ को उत्तरविधायिकी परीक्षण, किशोरीसँग उपसभामुख कार्यक्रम, स्थानीय तहसँग प्रदेशसभा कार्यक्रम र विद्यालयसँग प्रदेशसभा कार्यक्रम समेटिएका छन्। यी कार्यक्रममार्फत प्रदेशसभा र नागरिकबीचको सम्बन्ध विस्तार, स्थानीय तहसँग समन्वय तथा किशोरी र विद्यार्थीलाई संसदीय अभ्यासबारे जानकारी दिने प्रयास गरिएको उपसभामुख सिर्जना दनुवारले बताइन् ।
पर्वत पोर्तेल कान्तिपुर मिडिया ग्रुपका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।