Trending
Prev Story
Next Story

विचार | ‘ब्याडी एपेडेमिक’ : स्वतन्त्रता उत्सव कि सौन्दर्यको महामारी ?

Ekantipur •
November 23, 2026 • 04:03 PM
3
3 reads 0 reactions

‘ब्याडी एपेडेमिक’ बहसले महिलालाई हामी आफ्नो जीवनको स्वतन्त्र निर्णयकर्ता मान्न तयार छौं कि अझै पनि उनीहरूको पहिरन, सौन्दर्य र व्यवहारमा सामाजिक स्वीकृतिको नियन्त्रण कायम राख्न चाहन्छौं भन्ने प्रश्न नेपाली समाजसामु उठाएको छ ।

विचार | ‘ब्याडी एपेडेमिक’ : स्वतन्त्रता उत्सव कि सौन्दर्यको महामारी ?

‘ब्याडी एपेडेमिक’ बहसले महिलालाई हामी आफ्नो जीवनको स्वतन्त्र निर्णयकर्ता मान्न तयार छौं कि अझै पनि उनीहरूको पहिरन, सौन्दर्य र व्यवहारमा सामाजिक स्वीकृतिको नियन्त्रण कायम राख्न चाहन्छौं भन्ने प्रश्न नेपाली समाजसामु उठाएको छ ।

पछिल्ला वर्षहरूमा सामाजिक सञ्जालको तीव्र विस्तारसँगै विश्व समाजमा मानिसको पहिचान, जीवनशैली, सौन्दर्यबोध र सामाजिक सम्बन्धका स्वरूपमा तीव्र परिवर्तन भइरहेको छ । विशेषगरी युवा पुस्ताले आफ्नो व्यक्तित्व, विचार, पहिरन, रुचि र जीवनशैली प्रस्तुत गर्ने माध्यमका रूपमा टिकटक, फेसबुक, इन्स्टाग्रामजस्ता डिजिटल माध्यमलाई प्रयोग गरिरहेको छ । यसले अभिव्यक्ति स्वतन्त्रतालाई अझ व्यापक बनाउनुका साथै सामाजिक स्वीकृति, लोकप्रियता र बाह्य आकर्षणको प्रतिस्पर्धालाई पनि तीव्र बनाएको छ । यही डिजिटल संस्कृतिको पछिल्लो चर्चित प्रवृत्ति हो, ‘ब्याडी एपेडेमिक’ । केही सातादेखि नेपालीहरूमाझ सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको यो विषय सामान्य मनोरञ्जनात्मक ट्रेन्डमा मात्र सीमित रहेन, यसले महिला स्वतन्त्रता, सौन्दर्य, नैतिकता, लैंगिक समानता र पुस्तागत सोचबीचको अन्तरविरोधलाई सार्वजनिक बहसमा ल्याएको छ ।

यहाँ ‘एपेडेमिक’ अर्थात् महामारी शब्द कुनै प्रवृत्ति तीव्र रूपमा फैलिएको अर्थात् ‘भाइरल’ भएको अवस्थालाई व्यंग्यात्मक ढंगले प्रस्तुत गर्न प्रयोग गरिएको हो । ‘ब्याडी’ शब्दले सामान्यतया आत्मविश्वासी, आकर्षक, स्टाइलिस र आफ्नो व्यक्तित्वप्रति सचेत व्यक्तिलाई जनाउँछ । तर सामाजिक सञ्जालमा यसको अर्थ निश्चित प्रकारको पहिरन, मेकअप, शारीरिक बनावट, फेसन र जीवनशैलीसँग जोडिँदै गएको छ ।

ऐतिहासिक पृष्ठभूमि र विश्वव्यापी विस्तार

‘ब्याडी’ शब्दको सकारात्मक अर्थ अमेरिकी अश्वेत समुदायको भाषिक तथा सांस्कृतिक परम्परासँग सम्बन्धित छ । यस समुदायको भाषिक प्रयोगमा ‘ब्याड’ शब्दले सधैं नकारात्मक अर्थ मात्र दिँदैन, कतिपय अवस्थामा यसले असाधारण, प्रभावशाली, आकर्षक र आत्मविश्वासी व्यक्तित्वलाई जनाउँछ । यही भाषिक विकासबाट ‘ब्याडी’ शब्दले महिलाको आत्मविश्वास, आकर्षण र आफ्नो पहिचानप्रतिको गर्वलाई अभिव्यक्त गर्न थाल्यो ।

सुरुमा एउटा सांस्कृतिक पहिचान र अभिव्यक्तिको माध्यम रहेको ब्याडी शब्द क्रमश: फेसन, मनोरञ्जन, डिजिटल लोकप्रियता र बजारसँग जोडिन पुग्यो । यसको सांस्कृतिक जरा अश्वेत महिलाहरूको आत्मअभिव्यक्ति र परम्परागत सौन्दर्य मापदण्डलाई चुनौती दिने अभ्याससँग जोडिएको छ । यस प्रवृत्तिलाई बुझ्न अमेरिकी समाजमा विकसित ‘ब्ल्याक इज ब्युटिफुल’ आन्दोलनलाई सन्दर्भका रूपमा लिन सकिन्छ । सन् १९६० को दशकमा अमेरिकामा भएको नागरिक अधिकार आन्दोलनसँगै सुरु भएको यस सांस्कृतिक अभियानले सदियौंदेखि चलिआएको गोरो छाला र शारीरिक बनावटलाई मात्र सुन्दर मान्ने मान्यता र मानसिकतालाई चुनौती दिँदै आत्मसम्मान र जातीय पहिचानलाई बलियो बनाएको थियो । यद्यपि ‘ब्याडी’ संस्कृति उक्त आन्दोलनको प्रत्यक्ष निरन्तरता होइन ।

सन् २०१० पछि इन्स्टाग्रामको बिस्तारसँगै ‘ब्याडी’ शैली लोकप्रिय भयो । आकर्षक मेकअप, मिलेको पहिरन, लामो नङ, व्यवस्थित कपाल, विशेष प्रकारको शारीरिक बनावट र आत्मविश्वासपूर्ण प्रस्तुति यसका विशेषता बने । पछि टिकटकले छोटा भिडियो, नृत्य, फेसन, मेकअप तथा ट्रेन्डिङ भिडियोमार्फत यसलाई विश्वव्यापी बनायो । यसरी सुरुमा एउटा सांस्कृतिक पहिचान र अभिव्यक्तिको माध्यम रहेको शब्द क्रमश: फेसन, मनोरञ्जन, डिजिटल लोकप्रियता र बजारसँग जोडिन पुग्यो । यसले महिलाको आत्मविश्वासलाई प्रोत्साहन गर्ने सम्भावना बोकेको छ भने अर्कोतर्फ सुन्दर देखिनैपर्ने नयाँ सामाजिक दबाब पनि सिर्जना गरेको छ ।

नेपालमा यस विषयले चर्चा पाउनुको तत्कालीन कारण केही साताअघि टिकटकमा भाइरल भएको एउटा भिडियो हो । उक्त भिडियोमा एक युवकले समाचारवाचकको शैलीमा ‘....लेडिज एन्ड जेन्टलमेन, वी आर अफिसियल्ली इन द मिडल अफ ब्याडी एपेडेमिक’ भन्दै नेपालमा ब्याडीहरूको संख्या अस्वाभाविक बढेको व्यंग्यात्मक टिप्पणी गरेका थिए । उनको आशय सामाजिक सञ्जालमा आफूलाई अत्यधिक आकर्षक, आधुनिक र स्टाइलिस रूपमा प्रस्तुत गर्ने युवतीहरूको प्रवृत्तिमा प्रश्न उठाउनु थियो । उनले आकर्षक मेकअप, महँगा पहिरन, व्यवस्थित सामाजिक सञ्जाल प्रोफाइल र बाह्य प्रस्तुतिलाई मात्र व्यक्तित्वको मापदण्ड बनाउन नहुने तर्क गरेका थिए । शिक्षा, उपलब्धि, आत्मनिर्भरता र सामाजिक योगदानलाई पनि व्यक्तित्वको आधार बनाउनुपर्ने उनको धारणा थियो ।

भिडियो सार्वजनिक भएपछि नेपाली टिकटक तथा फेसबुकमा समर्थन तथा विरोधका अनेकौं प्रतिक्रिया आए । केहीले यसलाई युवा पुस्ताको बदलिँदो जीवनशैलीमा गरिएको सान्दर्भिक व्यंग्य माने । उनीहरूले सामाजिक सञ्जालमा बाह्य आकर्षण, महँगा सामान, फेसन र लोकप्रियताको प्रतिस्पर्धा बढ्दै गएकामा चिन्ता व्यक्त गरे । अर्कोतर्फ, धेरै युवतीले व्यंग्यात्मक भिडियो बनाएर उक्त टिप्पणीको प्रतिवाद गरे । उनीहरूले आफूलाई मन पर्ने पहिरन लगाउनु, मेकअप गर्नु, तस्बिर खिच्नु वा सामाजिक सञ्जालमा आफ्नो व्यक्तित्व प्रस्तुत गर्नु व्यक्तिगत स्वतन्त्रताको विषय भएको तर्क गरे । यसरी एउटा भाइरल भिडियो महिला स्वतन्त्रता, लैंगिक समानता, नैतिकता र आधुनिकताको बहसमा परिणत भयो ।

समर्थनका आधार : व्यक्तिगत स्वतन्त्रता र आत्मअभिव्यक्तिको अधिकार

‘ब्याडी’ संस्कृतिको समर्थनमा सबैभन्दा बलियो तर्क व्यक्तिगत स्वतन्त्रता हो । लोकतान्त्रिक समाजमा प्रत्येक व्यक्तिलाई आफ्नो शरीर, पहिरन, सौन्दर्य र जीवनशैलीबारे निर्णय गर्ने अधिकार हुन्छ । कुनै महिलाले मेकअप गर्ने, फेसनअनुसार कपडा लगाउने, आकर्षक तस्बिर खिच्ने वा सामाजिक सञ्जालमा आफूलाई प्रस्तुत गर्ने निर्णय उसको व्यक्तिगत छनोट हो । यस्तो छनोट तथा महिलाको शरीर र पहिरनप्रति पुरुष वा समाजले नैतिक पहरेदारी गर्नु पितृसत्तात्मक सोचको निरन्तरता हो ।

दोस्रो, यसले महिलालाई परम्परागत रूपमा थोपरिएका सौन्दर्य र व्यवहारसम्बन्धी मान्यतालाई चुनौती दिन सक्छ । लामो समयसम्म महिलाको सामाजिक प्रतिष्ठा उसको शालीनता, सहनशीलता, पहिरन, पारिवारिक भूमिका र पुरुषप्रतिको व्यवहारसँग जोडेर मूल्यांकन गरियो । आधुनिक पुस्ताले यस्ता पूर्वनिर्धारित सीमालाई अस्वीकार गर्दै आफ्नो व्यक्तित्व आफैं निर्माण गर्न खोजिरहेको छ । यस अर्थमा ‘ब्याडी’ पहिचान महिलाको आत्मविश्वास र आफैं निर्मित पहिचानको अभिव्यक्ति पनि हो ।

के महिलाको स्वतन्त्रता समाजले स्वीकार गर्ने उपलब्धि हासिल गरेपछि मात्र मान्य हुन्छ ? कुनै महिला वैज्ञानिक, राजनीतिज्ञ, समाजसेवी वा उद्यमी नभए पनि उसलाई आफ्नो जीवनशैली रोज्ने समान अधिकार हुन्छ । तेस्रो, सामाजिक सञ्जालले सामान्य आर्थिक तथा सामाजिक पृष्ठभूमिका युवतीलाई समेत आफ्नो प्रतिभा, कला, व्यवसाय र सिर्जनात्मकता प्रस्तुत गर्ने अवसर दिएको छ । डिजिटल माध्यमले व्यक्तिगत ब्रान्ड निर्माण, उद्यमशीलता, फेसन व्यवसाय, मनोरञ्जन र रोजगारीका नयाँ सम्भावना सिर्जना गरेको छ । त्यसैले सामाजिक सञ्जालमा महिलाको उपस्थितिलाई बाह्य आकर्षणको प्रदर्शनका रूपमा मात्र बुझ्नु उचित हुँदैन ।

यससँगै एउटा महत्त्वपूर्ण सैद्धान्तिक प्रश्न पनि जोडिन्छ : के महिलाको स्वतन्त्रता समाजले स्वीकार गर्ने उपलब्धि हासिल गरेपछि मात्र मान्य हुन्छ ? कुनै महिला वैज्ञानिक, राजनीतिज्ञ, समाजसेवी वा उद्यमी नभए पनि उसलाई आफ्नो जीवनशैली रोज्ने समान अधिकार हुन्छ । पासाङ ल्हामु शेर्पा र अनुराधा कोइरालाजस्ता व्यक्तित्व प्रेरणादायी छन्, तर सबै महिलाले त्यस्तै सार्वजनिक भूमिका निर्वाह गर्नुपर्छ भन्ने अपेक्षा अर्को प्रकारको दबाब बन्न सक्छ । महिलाको मूल्य उसको पहिरनले घटाउँदैन र सामाजिक योगदानको अभावले उसको स्वतन्त्रता समाप्त गर्दैन ।

आलोचनात्मक पक्ष : सौन्दर्यको बजार र डिजिटल प्रदर्शन

सामाजिक सञ्जालमा स्थापित भइरहेको सौन्दर्यको कृत्रिम मापदण्ड ब्याडी शैलीको आलोचनात्मक पाटो हो । फिल्टर, फोटो सम्पादन, कृत्रिम प्रकाश र मेकअपको सहायताले वास्तविक जीवनभन्दा फरक छवि प्रस्तुत गर्न सकिन्छ । निरन्तर यस्ता तस्बिर र भिडियो हेर्ने किशोरकिशोरी तथा युवतीहरूमा आफ्नो शरीरप्रति असन्तुष्टि, अरूसँग तुलना गर्ने प्रवृत्ति र बाह्य स्वीकृतिको खोजी बढ्न सक्छ । आकर्षक देखिनैपर्ने र लाइक तथा कमेन्ट पाउनैपर्ने दबाबले आत्मसम्मान र मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पार्न सक्छ ।

दोस्रो समस्या उपभोक्तावाद हो । ‘ब्याडी’ शैलीसँग जोडिएका कतिपय सामग्रीमा महँगा कपडा, ब्रान्डेड सामान, कस्मेटिक सामग्री र विलासी जीवनशैलीलाई आकर्षक व्यक्तित्वको प्रतीक बनाइन्छ । यसले सुन्दरता र आत्मविश्वासलाई आर्थिक क्षमतासँग जोड्ने जोखिम उत्पन्न गर्छ । आत्मअभिव्यक्तिका रूपमा सुरु भएको प्रवृत्ति बजारका लागि उपभोग विस्तार गर्ने माध्यम बन्न सक्छ । यसरी डिजिटल स्वतन्त्रताको आवरणमा बजारले नयाँ सौन्दर्य मापदण्ड निर्माण गरी त्यसलाई पूरा गर्न उपभोक्तालाई प्रेरित गरिरहेको हुन्छ ।

तेस्रो, महिलाको स्वतन्त्रता र आत्मविश्वासलाई बाह्य आकर्षणमै सीमित गर्ने खतरा छ । ‘ब्याडी’ हुनुको अर्थ विशेष प्रकृतिको शरीर, मेकअप, पहिरन र सामाजिक सञ्जालमा लोकप्रिय हुनु मात्र हो भने यसले महिलाको पहिचानलाई पुन: सौन्दर्यकै दायरामा सीमित गर्छ । परम्परागत समाजले महिलालाई शालीनता र संस्कारका नाममा नियन्त्रण गरेको थियो भने बजारले आकर्षण र लोकप्रियताका नाममा नयाँ मापदण्ड थोपर्न सक्छ । दुवै अवस्थामा महिलाको वास्तविक स्वतन्त्रता प्रभावित हुन सक्छ ।

चौथो, सामाजिक सञ्जालको एल्गोरिदमले आकर्षक र विवादास्पद सामग्रीलाई बढी दृश्यता दिने प्रवृत्तिले ज्ञान, अनुसन्धान, साहित्य र सामाजिक चेतनामा आधारित सामग्री ओझेलमा पर्न सक्छ । यसले सार्वजनिक बहसको गुणस्तरमा समेत प्रश्न उठाउँछ ।

नेपालमा ‘ब्याडी एपेडेमिक’ को बहसलाई यहाँको सामाजिक संरचना र पितृसत्तात्मक सोचबाट अलग गरेर बुझ्न सकिँदैन । नेपाली समाजमा महिलाको पहिरन, व्यवहार र सार्वजनिक उपस्थितिलाई अझै पनि कतिपय अवस्थामा परिवारको प्रतिष्ठा र सामाजिक नैतिकतासँग जोडेर हेरिन्छ । पुरुषले आधुनिक पहिरन लगाउँदा वा आफ्नो जीवनशैली प्रस्तुत गर्दा सामान्य मानिने तर महिलाले त्यस्तै व्यवहार गर्दा चरित्र र संस्कारमा प्रश्न उठ्ने अवस्था सामाजिक दोहोरो मापदण्डको उदाहरण हो ।

यहाँ मूल समस्या फेसन वा आधुनिक जीवनशैली होइन, महिलालाई मूल्यांकन गर्ने समाजको दृष्टिकोण हो । महिलाको स्वतन्त्रतालाई समर्थन गर्ने नाममा प्रत्येक डिजिटल प्रवृत्तिको आलोचना गर्न नपाइने होइन तर आलोचनाको आधार उसको पहिरन, शारीरिक बनावट वा पारिवारिक पृष्ठभूमि हुनु हुँदैन । विचार, उपभोक्तावाद, डिजिटल लत र सामाजिक प्रभावको आलोचना गर्न सकिन्छ तर त्यसलाई महिलाको नैतिक चरित्रप्रतिको आक्रमण बनाउनु हुँदैन ।

यो बहसको निष्कर्ष ब्याडी हुनु वा नहुनुमा होइन, महिलालाई आफ्नो पहिचान आफैं निर्माण गर्न दिने र त्यससँगै समाजलाई आलोचनात्मक तथा जिम्मेवार बनाउने क्षमतामा खोजिनुपर्छ । अर्कोतर्फ, महिलाको स्वतन्त्रताको बहसलाई सामाजिक सञ्जालमा आकर्षक देखिने अधिकारमा सीमित गर्नु पनि पर्याप्त छैन । शिक्षा, आर्थिक आत्मनिर्भरता, सम्पत्तिमाथिको अधिकार, राजनीतिक सहभागिता, सुरक्षित सार्वजनिक स्थान र निर्णय प्रक्रियामा समान पहुँच महिला सशक्तीकरणका वास्तविक आधार हुन् । सामाजिक सञ्जालमा आफ्नो सुन्दरता प्रस्तुत गर्न पाउने अधिकार र वास्तविक जीवनमा समान अवसर प्राप्त गर्ने अधिकार एकअर्काका विरोधी होइनन् । दुवैलाई समान महत्त्व दिइनुपर्छ ।

निष्कर्ष : स्वतन्त्रता र जिम्मेवारीको सन्तुलन

‘ब्याडी एपेडेमिक’ सामाजिक सञ्जालको सामान्य ट्रेन्डभन्दा बढी समकालीन समाजमा विकसित भइरहेको सौन्दर्यबोध, महिला स्वतन्त्रता र डिजिटल संस्कृतिबीचको अन्तरविरोधको अभिव्यक्ति हो । कुनै महिलाले कस्तो पहिरन लगाउने, मेकअप गर्ने वा सामाजिक सञ्जालमा कस्तो सामग्री प्रस्तुत गर्ने भन्ने उसको व्यक्तिगत अधिकार हो । तर स्वतन्त्रताको अर्थ विवेक, सामाजिक उत्तरदायित्व र आत्मविकासबाट विमुख हुनु होइन । त्यस्तै, बाह्य आकर्षणलाई मात्र व्यक्तित्वको मापदण्ड बनाउनु पनि उचित हुँदैन ।

अन्तत:, समाजको सभ्यता महिलाले कति आधुनिक पहिरन लगाउँछन् भन्ने कुराले होइन, महिलाको स्वतन्त्रता, सम्मान, सुरक्षा र निर्णय गर्ने अधिकारप्रति समाजले कस्तो व्यवहार गर्छ भन्ने कुराले मापन हुन्छ । ‘ब्याडी एपेडेमिक’ ले महिलालाई हामी आफ्नो जीवनको स्वतन्त्र निर्णयकर्ता मान्न तयार छौं कि अझै पनि उनीहरूको पहिरन, सौन्दर्य र व्यवहारमा सामाजिक स्वीकृतिको नियन्त्रण कायम राख्न चाहन्छौं भन्ने प्रश्न नेपाली समाजसामु उठाएको छ । आधुनिकताको अर्थ परम्पराको पूर्ण अस्वीकार होइन, न त परम्पराको नाममा स्वतन्त्रताको निषेध हो । यसको अर्थ विवेक, समानता, आत्मसम्मान र मानवीय मर्यादामा आधारित सामाजिक सम्बन्ध निर्माण गर्नु हो । त्यसैले यो बहसको निष्कर्ष ब्याडी हुनु वा नहुनुमा होइन, महिलालाई आफ्नो पहिचान आफैं निर्माण गर्न दिने र त्यससँगै समाजलाई आलोचनात्मक तथा जिम्मेवार बनाउने क्षमतामा खोजिनुपर्छ ।

सम्झना काठमाडौं विश्वविद्यालयमा प्राध्यापन गर्ने समाजशास्त्री भट्टराई लैङ्गिक तथा सामाजिक समावेशिता विषयको अध्येता हुन ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
3w ago
समय मिलाएर एनपीएल हेर्न जानेबारे विचार गर्छु: ओली

समय मिलाएर एनपीएल हेर्न जानेबारे विचार गर्छु: ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समय र अनुकूलता मिलेको अवस्थामा नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न रंगशाला जानेबारे विचार गर्ने बताएका छन्।

#विचार
Compare →
Onlinekhabar
1mo ago
विचार | Insightful Opinions & Perspectives | OKOpinion on Onlinekhabar

विचार | Insightful Opinions & Perspectives | OKOpinion on Onlinekhabar

Onlinekhabar.com - No. 1 News Portal from Nepal, Business news, Bank Credit Profit, Sale, Nepal Tourism Year news, Vehicle loan, sale, Bank

#विचार
Compare →
Setopati
1mo ago
नेपालमा विचारधाराको बहस

नेपालमा विचारधाराको बहस

नेपालका चार प्रमुख राजनीतिक धारबीचको वास्तविक दुरी कति छ? यसअघि उठाएका स्वतन्त्रता, सम्पत्ति, शक्ति र राज्यका प्रश्नमा यी दलका उत्तर हेर्ने हो भने कतिपय ठाउँमा स्पष्ट भिन्नता भेटिन्छ। कतिपयमा उनीहरू धेरै नजिक देखिन्छन्। र, केही महत्त्वपूर्ण प्रश्नमा उनीहरूका प्रतिबद्धता भए पनि कुन निर्णय लिन्छन् भन्ने स्पष्ट हुँदैन।

#बहस #विचार
Compare →

Related Stories

Opinion & Editorial
Build #2612