Trending
Prev Story
Next Story

माओवादी सशस्त्र द्वन्द्वकालीन यौन हिंसापीडित अझै न्यायको पर्खाइमा

Ekantipur •
November 23, 2026 • 04:03 PM
3
3 reads 0 reactions

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष पुग्यो, तर द्वन्द्वकालीन यौन हिंसापीडितले आयोगमा उजुरी दिएको वर्षौं बितिसक्दा पनि न्याय पाउन सकेका छैनन् ।

माओवादी सशस्त्र द्वन्द्वकालीन यौन हिंसापीडित अझै न्यायको पर्खाइमा

विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष पुग्यो, तर द्वन्द्वकालीन यौन हिंसापीडितले आयोगमा उजुरी दिएको वर्षौं बितिसक्दा पनि न्याय पाउन सकेका छैनन् ।

काठमाडौँ — पानी पर्दा रचनालाई साढे दुई दशकअघि सेनाले आफूमाथि गरेको ज्यादतीको पीडा फेरि बल्झिन्छ।

२०५८ साल माघमा काठमाडौंको मैतीदेवीस्थित आफू बसेको डेरालाई सैनिकहरूले घेरा हालेका थिए। हात भाँचिएपछि बहिनीसँगै उपचार गराइरहेकी उनी त्यतिबेला १८ वर्षकी थिइन्। १३ वर्षकै उमेरदेखि उनी अखिल क्रान्तिकारी विद्यार्थी संगठनमा आबद्ध थिइन्। त्यस रात सेनाले उनलाई, उनका भिनाजु र अरू केहीलाई नियन्त्रणमा लियो। अरूलाई छाडिए पनि उनलाई भने छाडिएन।

उनलाई १६ महिनासम्म आँखामा पट्टी बाँधेर हिरासतमा राखियो। दिन र रात छुट्याउन नसक्ने अवस्थामा उनलाई आफू मारिन लागेको धम्की दिँदै विभिन्न ठाउँमा घुमाइन्थ्यो। ‘उनीहरूले सिधै बलात्कार त गरेनन्, तर मेरो शरीरको कुनै भाग बाँकी राखेनन्,’ उनले भनिन्।

उनकी बहिनीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेपछि उनी रिहा भएकी थिइन्। त्यतिबेला शान्ति वार्ता पनि सुरु हुँदै थियो।

यतिका वर्ष बितिसक्दा पनि राज्यबाट आफूले पाउनुपर्ने परिपूरण नपाएको रचना बताउँछिन्। एक साथीले गत वर्ष उनको तर्फबाट सत्य निरूपण तथा मेलमिलाप आयोगमा उजुरी दर्ता गरिदिएका थिए। तर त्यसयता कुनै सुनुवाइ भएको छैन। हिरासतमा रहँदा भोगेको यातनाबापत उनले वर्षौंअघि द्वन्द्वपीडितको सूचीमा परेकाहरूलाई एकमुष्ट रूपमा बाँडिएको २५ हजार रुपैयाँबाहेक अरू राहत पाएकी छैनन्। १६ महिनाको हिरासतका क्रममा सैनिकहरूले दाँतमा बन्दुक राखेर किचिदिएका कारण उनका दाँतले काम गर्न छाडेका छन् भने शरीरका विभिन्न भागमा अझै दुखाइ भइरहन्छ।

रचनाको यो पीडा एक्लो होइन। विस्तृत शान्ति सम्झौतामा हस्ताक्षर भएको २० वर्ष पुग्दा पनि द्वन्द्वकालीन यौन हिंसापीडितले न्याय पाउन सकेका छैनन्। आयोगमा उजुरी दिएको वर्षौं बितिसक्दा पनि उनीहरूका मुद्दामाथि अनुसन्धान सुरु हुन सकेको छैन। गत जेठदेखि आयोग पदाधिकारीविहीन छ। आयोगका सचिवका अनुसार यौन हिंसासम्बन्धी एउटा पनि उजुरीमाथि अनुसन्धान अघि बढेको छैन।

कानुन व्यवसायी र पीडितका पक्षमा काम गर्ने अधिकारकर्मीहरूका अनुसार न्यायको बाटोमा तगारो बनेका समस्या अनेक छन्। उजुरी दिन पाउने समयसीमा निकै छोटो हुनु, सरकारी राहत कार्यक्रममा यौन हिंसापीडित नसमेटिनु र राज्यले उनीहरूलाई पीडितका रूपमा समेत स्वीकार गर्न ढिलाइ गर्नु त्यसका प्रमुख कारण हुन्।

२०२५ सेप्टेम्बरसम्म आयोगमा द्वन्द्वकालीन यौन हिंसासम्बन्धी ४ हजार २२६ उजुरी दर्ता भएका थिए। आयोग गठन भएको पहिलो दशकमा यस्तो उजुरी दिने संख्या ३१४ मात्र थियो।

एड्रियाना (नाम परिवर्तन), ३८, पनि द्वन्द्वकालीन यौन हिंसापीडित हुन्। सन् २००० मा उनी १२ वर्षकी थिइन्। त्यतिबेला कैलालीस्थित उनको घरमा एक आफन्तको खोजी गर्दै सुरक्षाकर्मीहरू पटकपटक पुग्थे।

‘परिवारका सबै महिलालाई, मेरा दिदीबहिनी र भाउजूहरूलाई समेत नांगै बनाएर खानतलासी गरिन्थ्यो,’ उनले भनिन्, ‘हामीलाई कपडा खोल्न मात्रै लगाइएन, सुरक्षाकर्मीका समूहले बलात्कारसमेत गर्थे।’

आफूलाई कतिपटक र कति सुरक्षाकर्मीको समूहले बलात्कार गरेको भनेर अनुमान समेत गर्न नसक्ने उनी बताउँछिन्। ‘प्रहरी मेरो साथी भनेर अहिले पनि सबै जनाले भन्दै गर्दा मेरो मनबाट पहिलाको डर हटेको छैन,’ उनले भनिन्।

उनको विवाह भइसकेको छ र एक सन्तान पनि छन्। तर आफूमाथि भएको हिंसाबारे उनले श्रीमान्‌लाई अहिलेसम्म बताएकी छैनन्।उनको मनबाट त्यो पीडा हट्न सकेको छैन।

‘सशस्त्र द्वन्द्व सकिएयता पटकपटक सरकार फेरिए, तर त्यो बेला हिंसा भोगेका हामीजस्ता महिलाले अहिलेसम्म कुनै राहत पाएका छैनौं,’ उनी भावुक हुँदै सुनाउँछिन्।

उनलाई आफूजस्ता हिंसामा परेका हरेक महिलाले न्याय पाउनुपर्छ भन्ने छ। ‘हामीले कम्तीमा पीडितले न्याय पाएको, मुद्दाको सुनुवाइ भएको र दोषीलाई कारबाही भएको देख्न पाउनुपर्छ,’ उनले भनिन्,‘त्यसो भयो भने अरू महिलालाई पनि आफूले भोगेको पीडाबारे बोल्ने र न्याय माग्ने साहस आउँछ।’

सुर्खेत घर भएकी लुइसे (नाम परिवर्तन), ५३, लाई पनि द्वन्द्वका बेला सशस्त्र सुरक्षाकर्मीले घरबाटै नियन्त्रणमा लिएका थिए। घर घेरा हालेपछि आँखामा पट्टी बाँधेर कुटपिट गर्दै उनलाई नजिकैको ब्यारेकमा पुर्‍याइएको थियो। उनी सामूहिक बलात्कारमा परिन् । ‘उनीहरूले मलाई २६ दिनसम्म त्यहीँ राखे,’ उनले भनिन्, ‘चार जना पुरुषले पटकपटक मेरो बलात्कार गरे।’

उक्त घटनामा उनले शारीरिक चोट मात्रै बेहोर्नुपरेन, डिप्रेसन र पोस्ट ट्रमाटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) को समस्यासँग पनि जुध्नुपर्‍यो। ‘त्यो घटना नै मेरो जीवनको कहालीलाग्दो क्षण हो,’ उनले भनिन्, ‘अहिले पनि मलाई धेरै स्वास्थ्य समस्या छन्। मानसिक स्वास्थ्यका लागि नियमित औषधि खानुपर्छ। पाठेघरसँग सम्बन्धित समस्या पनि छ,’ उनले भनिन्। उनको अहिले पनि दाहिने हात र खुट्टाको समस्या छ । घटनापछि काम गर्न नसक्ने अवस्थामा पुगेकी उनी अहिले एक्लै बस्छिन्।

उनका अनुसार उनले सन् २००६ मै सम्बन्धित निकायमा आफूमाथि भएको हिंसाबारे जानकारी गराएकी थिइन्। तर बलात्कारसम्बन्धी उजुरी घटना भएको ३५ दिनभित्रै दिनुपर्ने कानुनी व्यवस्थाका कारण प्रहरीले जाहेरी दर्तासमेत गरेन।

बलात्कारसम्बन्धी ३५ दिनको हदम्याद द्वन्द्वकालीन यौन हिंसापीडितलाई न्यायको औपचारिक प्रक्रियाबाटै बाहिर राख्ने प्रमुख कानुनी अवरोधमध्ये एक थियो। पछि नेपालले फौजदारी कानुनमा उजुरी दिन पाउने समयसीमा बढाए पनि द्वन्द्वकालीन घटनाका हकमा हदम्याद हटाएको छैन। महिलाविरुद्ध हुने भेदभाव उन्मूलनसम्बन्धी संयुक्त राष्ट्रसंघीय समिति (सीडअ) र विश्वव्यापी आवधिक समीक्षा (यूपीआर) अन्तर्गत विभिन्न देशले नेपाललाई यस्तो हदम्याद हटाउन पटकपटक सुझाव दिँदै आएका छन्।

सन् २०१२ मा ‘एड्भोकेसी फोरम नेपाल’ र ‘रेड्रेस’ को सहयोगमा उनको तर्फबाट संयुक्त राष्ट्रसंघीय मानवअधिकार समितिमा उजुरी दर्ता गरिएको थियो। सन् २०१७ मा समितिले उनीमाथि यातना, गैरकानुनी थुना, अमानवीय व्यवहार र विभेद भएको ठहर गर्‍यो। साथै, नेपाल सरकारलाई घटनाको अनुसन्धान गर्न, दोषीलाई कारबाही गर्न र पीडितलाई क्षतिपूर्ति दिन निर्देशन दियो।

त्यस्तो निर्णय आएको नौ वर्ष बितिसक्दा पनि उनले क्षतिपूर्ति पाएकी छैनन्। ‘शरीरमा लागेको चोट र मनमा बसेको पीडा भने उस्तै छ,’ उनले भनिन्, ‘क्षतिपूर्ति दिनुपर्ने निर्णय आएपछि अब उपचारका लागि अरूसँग हात फैलाउन परेन भनेर सोचेँ तर अहिलेसम्म केही पाएकी छैन।’

आफूलाई घरखर्च धान्न साथै उपचारको लागि समेत निकै समस्या हुने उनी सुनाउँछिन् ।

यौन हिंसापीडितका उजुरीमाथि अनुसन्धान गर्नुपर्ने आयोग आफैं निष्क्रिय छ। आयोगकी सचिव निर्मला अधिकारीका अनुसार यौन हिंसापीडितका उजुरी देशका ७७ वटै जिल्लाबाट संकलन गरी दर्ता गरिएका छन्। तर उजुरी दर्ता गर्नेबाहेक अरू काम अघि बढ्न सकेको छैन। ‘हामीले एउटा पनि उजुरीमाथि अनुसन्धान सुरु गर्न सकेका छैनौं,’ उनले भनिन्।

उनका अनुसार आयोगका पदाधिकारीले जिम्मेवारी सम्हालेको केही समयमै जेन-जी आन्दोलन भयो। त्यसपछि निर्वाचन र निर्वाचन आचारसंहिताका कारण काम रोकियो। नयाँ सरकार गठन भएपछि गत जेठमा अध्यादेशमार्फत पदाधिकारीको नियुक्ति खारेज गरियो।

कानुनअनुसार आयोगको सम्पूर्ण कार्यकारी अधिकार पदाधिकारीमै निहित हुने भएकाले कर्मचारीले आफैं निर्णय गरेर काम अघि बढाउन नसक्ने अधिकारीले बताइन्। सचिवालयका कर्मचारीले पीडितसँग भेटघाट गर्ने, बयान अभिलेख गर्ने र गोपनीयता कायम गर्ने विषयमा कार्यविधिको मस्यौदा तयार पारेका छन्। तर त्यसलाई स्वीकृत गर्ने आयोग नै छैन। नयाँ पदाधिकारी नियुक्तिका लागि सिफारिस गर्ने समिति पनि गठन भएको छैन।अहिले सरकारले अनुसन्धान, राहत र क्षतिपूर्तिका लागि छुट्याएको एक अर्ब रुपैयाँसमेत परिचालन हुन नसकेको अवस्था छ।

यस विषयमा कानुन मन्त्रालयका प्रवक्ता दलबहादुर अधिकारीले मन्त्रालयसँग दिनका लागि कुनै विशेष जानकारी नभएको बताए।

नोभेम्बर ७ मा सत्य, न्याय र परिपूरणसम्बन्धी संयुक्त राष्ट्रसंघका विशेष प्रतिवेदक बर्नार्ड डुहाइमले सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा तत्काल पदाधिकारी नियुक्त गर्न सरकारलाई आग्रह गरेका थिए। दुवै आयोग गत जेठदेखि पदाधिकारीविहीन छन्।

मानवअधिकार कानुन व्यवसायी सलिना काफ्लेका अनुसार द्वन्द्वपीडितलाई राहत दिन सरकारले पहिलोपटक सूची प्रकाशित गर्दादेखि नै यौन हिंसापीडितलाई छुटाएको थियो। महिला, शान्ति तथा सुरक्षासम्बन्धी दोस्रो राष्ट्रिय कार्ययोजनामा द्वन्द्वकालीन यौन हिंसाको विषय समेटिए पनि त्यो तीन वर्षसम्म मात्रै कार्यान्वयन भयो। त्यसपछि निरन्तरता दिइएन। यसमा सबैभन्दा ठूलो समस्या राजनीतिक इच्छाशक्तिको अभाव रहेको उनको भनाइ छ। अहिलेको सरकारको धारणा पनि स्पष्ट नभएको उनले बताइन्।

काफ्लेका अनुसार अहिलेको पहिलो आवश्यकता पीडितसँग परामर्श गरी पारदर्शी र योग्यतामा आधारित प्रक्रियाबाट आयोगका पदाधिकारी नियुक्त गर्नु हो। परिपूरणलाई नगद क्षतिपूर्तिमा मात्रै सीमित राख्न नहुने उनको भनाइ छ। जीविकोपार्जनका लागि सहयोग, राज्यबाट औपचारिक मान्यता, पीडितको इच्छाअनुसार सार्वजनिक माफी, पुनर्स्थापना र स्मरणका कार्यक्रम पनि परिपूरणका अभिन्न हिस्सा हुनुपर्छ।

बारम्बार नयाँ सरकार बने पनि द्वन्द्वकालीन समयमा हिंसामा परेका महिलाले कुनै किसीमको न्याय नपाएको अपराजित फाउन्डेसनकी अध्यक्ष देवी खड्का बताउँछिन्। ‘द्वन्द्वकालीन समयमा हिंसामा परेका महिलाहरुले न्याय नपाउनु समग्र शान्ति प्रक्रिया चल्नु वा रोकिनुमा राष्ट्रिय राजनीतिक परिस्थितिको प्रभाव रहेको छ,’ उनी भन्छिन्, ‘तर, संक्रमणकालीन न्यायको प्रक्रिया रोकिएको अवस्थामा पनि सरकारले पीडित महिलाका आधारभूत अधिकारका विषयमा काम गर्न सक्थ्यो र गर्नुपर्थ्यो ।’

आयोग निष्क्रिय रहेको भन्दै सरकारले आफ्नो जिम्मेवारीबाट पन्छिन नमिल्ने उनी बताउँछिन्। ‘संक्रमणकालीन न्याय प्रक्रिया रोकिएको अवस्थामा पनि सरकारले यी महिलाका आधारभूत अधिकार सुनिश्चित गर्न सक्थ्यो र गर्नुपर्थ्यो,’ उनले भनिन्। आयोग गठन गर्नुअघि विश्वसनीय सिफारिस समिति गठन गर्नु आवश्यक रहेको उनले बताइन् ।

सरकारले पीडितको स्वास्थ्य उपचारको व्यवस्था गर्न र यौन हिंसासँग जोडिएको सामाजिक लाञ्छना हटाउन पनि पहल गर्न सक्ने उनको भनाइ छ।‘खासगरी सत्य स्थापित हुनुपर्छ । सत्यलाई स्वीकार गर्नुपर्छ । त्यसपछि अपराध गर्नेलाई दण्डको प्रक्रियामा लैजानुपर्छ र पीडितलाई न्याय दिनुपर्छ,’ उनले भनिन्, ‘त्यसका साथै इतिहासमा फेरि कुनै पनि मानवले यस्तो घटना भोग्न नपरोस् भन्नका लागि संस्थागत सुधार र संस्थागत रूपान्तरणका कामहरू हुनुपर्छ ।’

रचनाको अपेक्षा भने राज्यले अहिलेसम्म दिएको राहतभन्दा धेरै फरक छ। ‘आर्थिक क्षतिपूर्तिबाहेक राज्यले हामीलाई सम्मान, पहिचान र जीविकोपार्जनको आधार दिनुपर्थ्यो,’ उनले भनिन्, ‘अहिलेका राज्य सञ्चालकहरूले त द्वन्द्व भएकै थिएन जसरी व्यवहार गर्छन्।’

आर्या चन्द कान्तिपर मिडिया ग्रुपकी संवाददाता हुन् ।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2d ago
विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

विस्तृत शान्ति सम्झौताका दुई दशकः सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन माग

नेपाल सरकार र तत्कालीन नेकपा (माओवादी) बीच विस्तृत शान्ति सम्झौता भएको दुई दशक पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय प्रक्रिया टुङ्गोमा नपुगेकामा चिन्ता व्यक्त गर्दै छिटो पूरा गर्न माग गरिएको छ । व...

#न्याय #विस्तृत
Compare →
Nagarik News
3d ago
विस्तृत शान्ति सम्झौताको २० वर्ष

विस्तृत शान्ति सम्झौताको २० वर्ष

राष्ट्रिय मानव अधिकार आयोगले विस्तृत शान्ति सम्झौता भएको २० वर्ष पूरा भइसक्दा पनि सङ्क्रमणकालीन न्याय निष्कर्षमा पुग्न नसकेको भन्दै गम्भीर चिन्ता व्यक्त गरेको छ ।

#न्याय #विस्तृत
Compare →
Onlinekhabar
1w ago
हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

हाम्रा मुद्दा जलवायु न्याय वित्त र पर्वतीय विषय हुन् : मन्त्री चौधरी

कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले नेपालको मुख्य मुद्दा जलवायु न्याय, वित्त र पर्वतीय विषय भएको बताएकी छन्। नेपालले टर्किएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) मा उक्त बिषय प्रमुख मुद्दाका रुपमा उठाएको …

#न्याय
Compare →

Related Stories

Technology
Build #2612