खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको धान खरिद प्रक्रिया ढिलो सुरु हुनुका साथै सुस्त भएका कारण किसानहरूले तिहार खर्च र हिउँदे बाली गहुँ, तोरी, मसुरो लगाउने खर्च जुटाउन सस्तोमा व्यापारीलाई पनि बिक्री गर्नुपर्ने बाध्यता आइलागेको किसान बताउँछन् ।
धनगढी — कैलाली जानकी गाउँपालिका–८ भघरैयाका तेजबहादुर चौधरीले धान बेच्न पाएको १८२ नम्बरको कुपन हातमा बोकेको ७ दिन भयो । उनी यही कुपन बोकेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुरस्थित खरिद केन्द्रमा रात बिताइरहेका छन् । तर सोमबारसम्म पालो भने १०० नम्बरमै अड्किएको छ । धान बेच्नका लागि पनि तेजबहादुरजस्तै सयौं किसानले यतिबेला कैलालीका विभिन्न खरिद केन्द्रमा अनिश्चितकालीन जाग्राम बस्नुपर्ने बाध्यता छ ।
‘१ मंसिर बिहान आएको हुँ । एक हप्ता अझै लाग्छ भन्छन् । सोमबार भर्खर १०० नम्बरको पालो चलेको छ,’ तेजबहादुरले भने, ‘मेरो त १८२ नम्बरमा पालो छ ।’ एक बिघा जमिनमा फलाएको धानबाट १२ क्विन्टल बिक्री गर्न उनी डल्लप (टायर भएको गोरुगाडा) मा राखेर खाद्य व्यवस्था तथा व्यापार कम्पनीको टीकापुरस्थित खरिद केन्द्रमा पालो कुरिरहेका छन् । बीचैमा छाडेर जान पनि नमिल्ने र जति ढिलो भए पनि पालो कुर्नुको विकल्प नभएको उनको भनाइ छ ।
तेजबहादुरकै जस्तो समस्या पदमबहादुरलाई पनि भएको छ । उनी पनि तेजबहादुरसँगै पालो कुरिरहेका छन् । ‘गोरुलाई पराल र मलाई खाना घरबाटै पठाइदिन्छन्,’ पदमबहादुरले भने, ‘अहिलेको शीत छल्न भए पनि डल्लपको मुन्तिर पसेर रातभर जागा बस्नु परेको छ । खुला आकाशमुनि गोरुलाई पनि उस्तै चिसो भइरहेको छ ।’ भघरैया गाउँबाट मात्रै १० परिवार धान बिक्री गर्न पालो कुरिरहेको उनले बताए ।
व्यापारीलाई बिक्री गर्नुपर्दा सस्तोमा बेच्नुपर्ने अवस्था छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने मोटा धानको मूल्य सरकारले प्रतिक्विन्टल ३ हजार ६६० रुपैयाँ तोकेको छ । तर बजारमा व्यापारीलाई बिक्री गर्नुपर्दा २ हजार ९ सय रुपैयाँ प्रतिक्विन्टलमा बेच्नुपर्ने अवस्था रहेको अर्का किसान शेरबहादुर चौधरीले बताए ।
कम्पनीको सुदूरपश्चिम प्रदेश कार्यालयका निमित्त प्रमुख दीपक थापाका अनुसार कम्पनीले खरिद केन्द्रमा धान बिक्रीका लागि आउने किसानलाई कुपन वितरण गरेको छ । उनका अनुसार अत्यधिक भीड भएकाले पालो आउन केही ढिला भइरहेको हो । पालो नपाइएला कि, कोटा सकिएला कि भन्ने डरले घुइँचो लागेको कम्पनीका कर्मचारी बताउँछन् ।
कम्पनीले १ मंसिरदेखि कैलालीका विभिन्न ६ ठाउँ– मोहनपुर, गौरिगंगा, टीकापुर, सत्ती, जोशीपुर र भजनीबाट धान खरिद गरिरहेको थापाले बताए । आइतबारसम्म कुल ११ हजार ४८३ क्विन्टल खरिद गरिएको थापाले जानकारी दिए । ‘यो वर्ष कैलालीलाई ३० हजार क्विन्टल खरिद कोटा प्राप्त भएको छ,’ थापाले भने, ‘अहिले दैनिक २ देखि २ हजार ५ सय क्विन्टल खरिद गर्न भ्याइरहेका छौं ।’ उनका अनुसार एक जनाले ३० क्विन्टलसम्म बिक्री गर्न पाउने व्यवस्था छ । साना किसान नछुटून् भनेर त्यसो गरिएको उनको भनाइ छ ।
किसानले धान बिक्री गर्नका लागि पनि कम्पनीले केही नियम बनाएको छ । धान सफा हुनुपर्ने, बिक्रीका लागि परिचय खुल्ने पत्र हुनुपर्ने, पालिका वा वडाबाट किसान भएको प्रमाणित पत्र हुनुपर्ने र बैंक खाता विवरणसहितका कागजात आवश्यक पर्ने व्यवस्था गरेको छ । ‘व्यापारीले धान बिक्री गर्न नपाऊन् भनेर त्यसो गरिएको हो,’ थापाले भने ।
कम्पनीको धान खरिद प्रक्रिया ढिलो सुरु हुनुका साथै सुस्त भएका कारण किसानले तिहार खर्च र हिउँदे बाली गहुँ, तोरी, मसुरो लगाउने खर्च जुटाउन सस्तोमा व्यापारीलाई पनि बिक्री गर्नुपर्ने बाध्यता आइलागेको किसान बताउँछन् ।
अर्कोतिर सरकारले धान खरिदको कोटा वर्षेनि घटाउँदै गएको छ । आर्थिक वर्ष २०८१/८२ मा सरकारले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रदेश कार्यालय धनगढीमार्फत कैलालीका लागि ५५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरेको थियो । गत आर्थिक वर्ष २०८२/८३ का लागि कोटा घटाएर ३५ हजार क्विन्टल मात्र निर्धारण गरिएको थियो । चालु आर्थिक वर्षमा त्यो पनि घटाएर ३० हजारमा झारिएको छ ।
कम्पनीको प्रदेश कार्यालयका प्रमुख थापाका अनुसार ५५ हजार क्विन्टल कोटा भएको वर्ष ३४ हजार मात्र खरिद भएको थियो भने पोहोर साल ३५ हजार कोटा भएका बेला ३८ हजार क्विन्टल खरिद भएको थियो । त्यसैले यो वर्ष धान खरिदको कोटा घटेको उनले बताए ।
कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा करिब ६८ हजार ५४१ हेक्टर क्षेत्रफलमा धानखेती हुने गरेको छ । यहाँ करिब ३ लाख ८ हजार ४३४ मेट्रिक टन धान उत्पादन हुने गरेको तथ्यांक छ ।
अर्जुन शाह कान्तिपुरका सुदूरपश्चिम प्रदेशका संवाददाता हुन् ।