Trending
Prev Story
Next Story

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

Nagarik News •
November 23, 2026 • 06:08 AM
4
4 reads 0 reactions

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ।

नुवाकोटका किसान जेठोबुढो धान खेतीमा आकर्षित

नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा पोखरेली जेठोबुढो धान खेतीप्रति किसानको आकर्षण बढ्दै गएको छ। स्थानीय हावापानीमा राम्रो फल्ने, सुगन्धित र स्वादिलो हुने तथा पराल पनि पर्याप्त उत्पादन हुने भएपछि किसानले यसको खेती विस्तार गर्न थालेका छन्।

दुप्चेश्वर गाउँपालिका–६ स्थित बोक्सेफाँटका किसान निरञ्जनप्रसाद आचार्यले यस वर्ष आठ रोपनीमा जेठोबुढो धानको खेती गरे। उहाँसँगै स्थानीय ध्रुवप्रसाद आचार्य र केदारनाथ धितालले सोही जातको धान लगाएका थिए।

आचार्यले दुई वर्षअघि बागलुङबाट एक पाथी बीउ ल्याई यसको खेती सुरु गरेको बताए। गत वर्ष परीक्षणका रूपमा खेती गर्दा चार मुरी धान उत्पादन भएपछि यस वर्ष उनले छ पाथी बीउ प्रयोग गरी आठ रोपनीमा खेती विस्तार गरे।

यस वर्षको खेती लगाउन उनले वैशाख अन्तिममा बीउ राखेर जेठको अन्तिम साता रोपाइँ गरेका थिए। उक्त धान मङ्सिरको पहिलो साता भित्र्याइसक्नु भएको छ। बीउ राखेदेखि धान पाकेर भित्र्याउन भने छ महिना पूरा लागेको उनले बताए। “जेठोबुढो धानको भात नरम, स्वादिलो र बास्नादार हुन्छ। आफैँले बीउ छानेर राखेका छौँ,” आचार्यले भने।

आठ रोपनीमा गरेको खेतीबाट उनले अहिले बीस मुरी धान फलाउनुभयो। त्यस्तै, १२० भारी पराल उत्पादन भएको छ। धानको स्वाद र सुगन्ध, परालको राम्रो उत्पादन तथा बजारमा राम्रो मूल्य पाउन सकिने हुँदा यस खेतीको विस्तार गर्न उत्साहित बनाएको उनको भनाइ छ। इच्छुक किसानलाई खेती विस्तारका लागि आवश्यक बीउ सहुलियत शुल्कमा उपलब्ध गराउन सकिने उनले बताए।

दुप्चेश्वर गाउँपालिकाका कृषि शाखा प्रमुख सुदेश सुवेदीले स्थानीय हावापानी जेठाबुढो धान खेतीका लागि अनुकूल रहेकाले विस्तारको प्रशस्त सम्भावना रहेको बताए।

किसानले यसको खेतीबाट उत्पादन लिन थालेसँगै रैथाने जातको धानप्रति चासो र आकर्षण बढ्नु सकारात्मक भएको उनको भनाइ छ।

“दुप्चेश्वरको हावापानी जेठोबुढो धान खेतीका लागि उपयुक्त छ। उत्पादन केही कम भए पनि स्वाद, सुगन्ध, बजार मूल्य र पराल उत्पादनका हिसाबले यो किसानका लागि लाभदायी हुन सक्छ,” कृषि शाखा प्रमुख सुवेदीले भने, “त्यसैले रैथाने बीउ संरक्षण गर्दै यसको खेती विस्तारमा गाउँपालिकाले प्रोत्साहन र प्राविधिक सहयोग गर्नेछ।”

शिखरबेँसीको परम्परागत कृषि पहिचानका रूपमा रहेको समुन्द्रफिनी जातको धानको खेती लगाउने किसानको सङ्ख्या घट्दो छ। फल लिन लामो समय लाग्ने र धेरै उत्पादन नहुने भन्दै किसानको आकर्षण घट्दै जाँदा पुस्तौँदेखि जोगिँदै आएको यस रैथाने जातको बीउ नै लोप हुने जोखिम बढ्दै गएको उनले बताए।

“समुन्द्रफिनी धान शिखरबेँसी–दुप्चेश्वरको मौलिक कृषि पहिचान बोकेको रैथाने जात हो। सो जातको धान खेती गर्ने किसान घट्दै जाँदा बीउ संरक्षणमा चुनौती थपिएको छ,” सुवेदीले भने, “जेठाबुढाजस्तै समुन्द्रफिनी धानको खेती पनि पुनः विस्तार गरी रैथाने जातको संरक्षण गर्न आवश्यक छ।”

उनका अनुसार गाउँपालिकाले जेठोबुढो तथा समुन्द्रफिनीजस्ता स्थानीय जातको खेती विस्तार गर्न किसानलाई प्रोत्साहन गर्ने, आवश्यक बीउको व्यवस्थापनमा सहजीकरण गर्ने र प्राविधिक सहयोग उपलब्ध गराउने छ। “रैथाने जातका धान खेतीलाई निरन्तरता दिन किसानलाई प्रोत्साहित गर्न आवश्यक छ। उत्पादन, गुणस्तर र बजारको सम्भावनालाई जोडेर खेती विस्तार गर्न सके किसानको आम्दानी बढाउनाका साथै स्थानीय बीउ जोगाउन सकिन्छ,” उनले भने।

रैथाने धानको बीउ संरक्षण, खेती विस्तार र बजार व्यवस्थापनलाई एकसाथ अघि बढाउन सके नुवाकोटका मौलिक कृषि उपजको पुनःस्थापना हुनाका साथै किसानको आयआर्जनमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित: ७ मंसिर २०८३ ११:५३ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
4h ago
गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि

गौरिया धान खेती र चामल बिक्रीबाट वार्षिक चार लाख आम्दानी गर्दै चक्रपाणि

म्याग्दी । म्याग्दीको मङ्गला गाउँपालिका–५ पीपलबोटका ६१ वर्षीय चक्रपाणि भण्डारीले गौरिया धान खेती र चामलको व्यापारबाट वार्षिक चार लाख रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । पुख्र्यौली खेतीकिसानील...

#धान #खेती
Compare →
Ekantipur
20h ago
मिक्लाजुङका खलामा धान भर्दै स्थानीय सरकार

मिक्लाजुङका खलामा धान भर्दै स्थानीय सरकार

पालिकाको धान, मकै, आलु र प्राङ्गारिक मल उत्पादनमा पुरस्कार दिने कार्यक्रमले किसानलाई उत्पादन बढाउन उत्साहित बनाएको छ।

#धान #किसान
Compare →

Related Stories

Business & Economy
Build #2612