Trending
Prev Story
Next Story

मिक्लाजुङका खलामा धान भर्दै स्थानीय सरकार

Ekantipur •
November 22, 2026 • 10:33 AM
3
3 reads 0 reactions

पालिकाको धान, मकै, आलु र प्राङ्गारिक मल उत्पादनमा पुरस्कार दिने कार्यक्रमले किसानलाई उत्पादन बढाउन उत्साहित बनाएको छ।

मिक्लाजुङका खलामा धान भर्दै स्थानीय सरकार

पालिकाको धान, मकै, आलु र प्राङ्गारिक मल उत्पादनमा पुरस्कार दिने कार्यक्रमले किसानलाई उत्पादन बढाउन उत्साहित बनाएको छ।

पाँचथर — जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त छन् ।

पालिकाभित्र धेरै अन्नबाली उत्पादन गर्ने किसानलाई पुरस्कार दिने कार्यक्रमअन्तर्गत उनीहरू अहिले खलोमा पुगेर कसको कति धान फल्यो भन्ने विवरण लिन सक्रिय छन् । गाउँपालिकाले आर्थिक वर्ष २०७७/७८ देखि किसान प्रोत्साहन कार्यक्रमअन्तर्गत धान थन्क्याउने समयमा खलोबाटै तथ्यांक लिन थालेपछि वडाका जनप्रतिनिधि खेतखेतमा पुग्न थालेका हुन् ।

कार्यक्रमबाट लाभ लिन किसान उत्साहित भएपछि अन्नबालीको नापजाँच गर्न गाउँपालिकाको टोली केही वर्षदेखि यही समयमा किसानका खेतमा पुग्ने गरेको छ । यसै क्रममा मिक्लाजुङ–७ लिम्बाका बमबहादुर बोहोराले लिम्बा दोभानस्थित तीन खला खेतमा धान झार्ने कार्यक्रमबारे वडा कार्यालयलाई जानकारी गराएका थिए ।

खलामा धान झारेर भुस उडाएपछि वडाध्यक्ष हेमचन्द्र रेग्मी, वडा सचिव ख्यामप्रसाद चम्लागाईं र कृषि प्राविधिक रीता राईको रोहवरमा धान भरियो । किसान बोहोराको खलामा भरिएको धान ठ्याक्कै २५ मुरी पुग्यो। यस वर्ष बोहोराले त्योसहित ७० मुरीभन्दा बढी धान भित्र्याएका रहेछन् ।

गाउँपालिकाभित्र सबैभन्दा धेरै धान उत्पादन गरेकाले उनले प्रोत्साहन पुरस्कार पाउने सम्भावना रहेको वडाध्यक्ष रेग्मीले बताए । ‘बोहोराले धान मात्र होइन, गोठे मलमा पनि पुरस्कार पाउने हुनुभएको छ,’ वडाध्यक्ष रेग्मीले भने, ‘पालिकाको प्रोत्साहन कार्यक्रममार्फत कतिपय किसानले एकभन्दा बढी उत्पादनमा पनि पुरस्कार पाइरहनुभएको छ ।’

मिक्लाजुङ गाउँपालिकाले किसान प्रोत्साहन कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८१/८२ देखि अन्नबाली उत्पादन र मल उत्पादनमा पनि प्रोत्साहन दिँदै आएको गाउँपालिकाका प्रवक्ता अविशन लावतीले बताए । उनका अनुसार पालिकाले ५० मुरीभन्दा बढी धान फलाउने किसानलाई ५० हजार रुपैयाँ, २० फिट लम्बाइ र चार फिट उचाइको मकैको थाङ्ग्रो राख्नेलाई ३० हजार, ३५ मनभन्दा बढी आलु उत्पादन गर्नेलाई २५ हजार तथा १० घनमिटरभन्दा बढी प्रांगारिक मल बनाउनेलाई २५ हजार रुपैयाँ पुरस्कार दिँदै आएको छ ।

गाउँपालिकाले त्यसका लागि किसानले आफ्नो अन्न उत्पादन भित्र्याउनुअघि पूर्वसूचना दिनुपर्ने व्यवस्था गरेको छ । जनप्रतिनिधि, कर्मचारी र प्राविधिकले कडाइका साथ अनुगमन गर्ने व्यवस्था पनि छ । उक्त मापदण्डअनुसार पुरस्कार वितरण गर्दा वार्षिक करिब दुई करोड रुपैयाँ खर्च हुन थालेपछि गाउँपालिकाले यस वर्ष मापदण्ड केही कसिलो बनाउन लागेको छ । ‘उत्पादन बढाउन कार्यविधिमा सामान्य फेरबदल गर्न लागेका छौँ,’ प्रवक्ता लावतीले भने, ‘विगतभन्दा धेरै अन्तर हुँदैन । अहिले पनि किसानले राम्रो लाभ पाउनुहुन्छ ।’

पुरानै मापदण्डअनुसार यस वर्ष पनि धान, मकै र आलु उत्पादन तथा मल भण्डारणबारे पूर्वजानकारी दिन वडामार्फत किसानलाई यसअघि नै सूचित गरिएको गाउँपालिकाको कृषि शाखा प्रमुख दीपा राईले जानकारी दिइन् । सोही सूचनाअनुसार किसानले वडा कार्यालयमा दिएको निवेदनका आधारमा पालिकाका प्रतिनिधिले अहिले धान नापजाँच गरिरहेको उनले बताइन् ।

कोभिड–१९ पछि ग्रामीण क्षेत्रलाई खाद्यान्नमा आत्मनिर्भर बनाउन गाउँपालिकाले ४० मुरीभन्दा बढी धान फलाउने र चार फिट उचाइ तथा २० फिट लम्बाइको मकैको थाङ्ग्रो राख्ने किसानलाई एक लाख रुपैयाँ पुरस्कार दिँदै आएको छ ।

त्यस्तै, ३५ मनभन्दा बढी आलु उत्पादन गर्ने किसानलाई प्रतिकिलो २० रुपैयाँ पुरस्कार दिने गरिएको थियो । तर, लाभग्राही किसान धेरै भएपछि गाउँपालिकाले पछिल्लो समय पुरस्कारको रकम घटाएको छ ।

गत वर्ष मात्रै किसान प्रोत्साहन पुरस्कारमार्फत गाउँपालिकाले ५ सय ८६ जना किसानलाई एक करोड ८५ लाख ६५ हजार रुपैयाँ वितरण गरेको थियो । प्रवक्ता लावतीका अनुसार गत वर्ष धान उत्पादन गर्ने १ सय ७ जनालाई ५३ लाख ५० हजार र मकै उत्पादन गर्ने २ सय ४८ जनालाई ७४ लाख ४० हजार रुपैयाँ पुरस्कार उपलब्ध गराइएको थियो ।

त्यस्तै, आलु उत्पादन गर्ने ६७ जना किसानलाई १६ लाख ७५ हजार र मल उत्पादन गर्ने १ सय ६४ जनालाई ४१ लाख रुपैयाँ पुरस्कार वितरण गरिएको थियो । पुरस्कार पाउने किसानको संख्या बर्सेनि बढ्दै जाँदा अन्नबाली उत्पादन पनि बढिरहेको प्रवक्ता लावतीले बताए ।

पाँचथरकै फाल्गुनन्द गाउँपालिकाले पनि ५० मुरीभन्दा बढी धान फलाउनेलाई ३० हजार र १ सय मुरीभन्दा बढी उत्पादन गर्ने किसानलाई ५० हजार रुपैयाँ प्रोत्साहन पुरस्कार दिँदै आएको छ । जिल्लाका फाल्गुनन्द र मिक्लाजुङ गाउँपालिका बढी अन्नबाली उत्पादन हुने र तुलनात्मक रूपमा सिँचाइ सुविधा राम्रो भएका पालिकाका रूपमा चिनिन्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
6h ago
खलामा धान भर्दै स्थानीय सरकार, धेरै फलाउनेलाई प्रोत्साहन पुरस्कार

खलामा धान भर्दै स्थानीय सरकार, धेरै फलाउनेलाई प्रोत्साहन पुरस्कार

पाँचथर– जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहेका छन् । पालिकाभित्र धेरै अन्नबाली फलाउन...

#धान #पुरस्कार #खला
Compare →
Nagarik News
6h ago
खलामा धान भर्दै स्थानीय सरकार

खलामा धान भर्दै स्थानीय सरकार

जिल्लाको मिक्लाजुङ गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र कृषि प्राविधिक यतिबेला गाउँका खलामा पुगेर धानको थुप्रो नाप्ने र धान भर्ने कार्यमा व्यस्त रहनुभएको छ ।

#धान #खला #भर्दै
Compare →

Related Stories

Politics & Governance
Build #2612