इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे ।
नयाँ दिल्ली — प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने भारत भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन् ।
इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलमा भारत सरकारका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले प्रधानमन्त्री शाहलाई स्वागत गरे । उनको स्वागतमा सांस्कृतिक झाँकी पनि प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री शाहले आज साँझ भारतीय विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्नेछन् । प्रधानमन्त्री शाह बस्ने ताज होटलमा दुई पक्षीय वार्ता हुनेछ ।
प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि दिउँसो २:८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल एयरलाइन्सको नियमित उडानमार्फत नयाँ दिल्ली प्रस्थान गरेका थिए ।
प्रधानमन्त्री शाहको भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन, राजनीतिक सल्लाहकार असिम शाह, सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्र, स्वकीय सचिव सुवास शर्मा, निजी सचिव प्रदीप परियार, मिडिया व्यवस्थापन संयोजक दीपा दाहाल र संस्कृति तथा सम्पदा समन्वय उप-संयोजक विनय शाक्य छन् । साथै टोलीमा उच्च सरकारी अधिकारी, व्यवसायी तथा सरकारी सञ्चारमाध्यमका ३ जना प्रतिनिधिहरूसहित कुल ३५ जना सदस्य सहभागी भएका छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतका राष्ट्रपति द्रौपदी मुर्मूज्यूसँग शिष्टाचार भेट गर्नेछन् । साथै, भारतीय समकक्षी मोदीसँग सोमबार प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने तालिका रहेको छ।
भ्रमणका अवसरमा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न सम्पन्न परियोजनाहरूको उद्घाटन र नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको छ। त्यसैगरी, दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधार विकासलगायतका क्षेत्रमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा छलफल हुनेछ। शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन र मानव संसाधन विकास जस्ता विविध क्षेत्रमा आपसी सहकार्य विस्तार गर्न विभिन्न समझदारीपत्रहरू (एमओयू) समेत आदानप्रदान गरिनेछन्।
सोमबार नयाँ दिल्लीको राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई श्रद्धासुमन अर्पण गर्ने कार्यक्रम पनि तय भएको छ।
प्रधानमन्त्री भ्रमण सम्पन्न गरी मंगलबार साँझ १८:३५ बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट स्वदेश फर्कने तालिका छ।
अनिल गिरी काठमाडौं पाेस्टका संवाददाता हुन् । उनी परराष्ट्र मामिलामा रिपोर्टिङ/टिप्पणी लेख्छन् ।