दुईदिने राजकीय भ्रमणका लागि आज भारत प्रस्थान गर्न लागेका प्रधानमन्त्री वालेन्द्र शाहको स्वागतमा भारतको राजधानी नयाँ दिल्लीलाई सजाइएको छ । भ्रमणको पूर्वसन्ध्यामा दिल्लीका प्रमुख सडक तथा जनपथ क्षेत्रमा प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीको संयुक्त तस्बिरसहितका विशेष स्वागत बोर्डहरू राखिएका छन् ।
बायाँतर्फ प्रधानमन्त्री शाह र दायाँतर्फ भारतीय प्रधानमन्त्री मोदीको तस्बिर रहेको उक्त होर्डिङ बोर्डको शीर्ष भागमा नेपाली र हिन्दी दुवै भाषामा ‘भारतमा यहाँलाई स्वागत छ’ लेखिएको छ ।
प्रधानमन्त्री पदको कार्यभार सम्हालेपछिको यो उनको पहिलो औपचारिक विदेश भ्रमण हो । भारतीय प्रधानमन्त्री मोदीको मैत्रीपूर्ण निमन्त्रणामा ३४ सदस्यीय उच्चस्तरीय टोलीको नेतृत्व गर्दै शाह आज दिउँसो १:४५ बजे नेपाल वायुसेवा निगमको उडानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँ दिल्ली प्रस्थान गर्दैछन् । भ्रमण दलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार, राजनीतिक सल्लाहकारलगायतका उच्च अधिकारीहरू सहभागी छन् ।
भारतीय विदेश मन्त्रालयका अनुसार प्रधानमन्त्री शाह स्थानीय समयअनुसार दिउँसो ३:१५ बजे इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल–३ मा अवतरण गर्नेछन् । विमानस्थलमा उनलाई भारतका वाणिज्य तथा उद्योग राज्यमन्त्री जितिन प्रसादले स्वागत गर्ने तय भएको छ । भ्रमणको पहिलो दिन आज साँझ ६ बजे दिल्लीस्थित ताजमहल होटलमा भारतीय विदेशमन्त्री एस. जयशंकरले प्रधानमन्त्री शाहसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
भ्रमणको दोस्रो दिन भोलि सोमबार बिहान १० बजे राष्ट्रपति भवनमा प्रधानमन्त्री शाहलाई 'गार्ड अफ अनर' सहित औपचारिक स्वागत गरिनेछ । लगत्तै उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगेर पुष्पगुच्छा अर्पण गर्नेछन् ।
त्यसपछि बिहान ११ बजे हैदराबाद हाउसमा नेपाल र भारतका प्रधानमन्त्रीबीच द्विपक्षीय औपचारिक वार्ता हुनेछ । वार्तापछि दिउँसो १२:२५ बजे दुई देशबीच विभिन्न समझदारीपत्रमा हस्ताक्षर तथा आदानप्रदान हुने र संयुक्त प्रेस वक्तव्य जारी गरिने कार्यतालिका छ । भोलि नै दिउँसो ३:१५ बजे प्रधानमन्त्री शाहले राष्ट्रपति भवनमा भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन् ।
दुई देशबीचको आपसी हित, द्विपक्षीय सहकार्य र सम्बन्ध विस्तारमा केन्द्रित रहने यो भ्रमण सम्पन्न गरी प्रधानमन्त्री शाह नेतृत्वको टोली सोमबार साँझ ४:५० बजे स्वदेश फर्कने कार्यक्रम रहेको छ ।