Trending
Prev Story
Next Story

युरोप–रुस तनाव थप चर्किंदै, रुसी कार्गो जहाजमाथि ड्रोन आक्रमण

Ekantipur •
November 22, 2026 • 10:33 AM
3
3 reads 0 reactions

आक्रमणपछि जहाजमा लागेको आगो आइतबार दिउँसोसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन

युरोप–रुस तनाव थप चर्किंदै, रुसी कार्गो जहाजमाथि ड्रोन आक्रमण

आक्रमणपछि जहाजमा लागेको आगो आइतबार दिउँसोसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेको छैन

लन्डन — रुस र युक्रेनबीचको द्वन्द्व चर्किंदै गएका बेला बाल्टिक सागरको पूर्वी क्षेत्रस्थित गल्फ अफ फिनल्यान्डमा रुसी कार्गो जहाजमाथि ड्रोन आक्रमण भएको छ।

रुसी सेनासँग सम्बन्धित मानिएको ‘स्पार्टा–२’ नामक उक्त जहाज आक्रमणपछि फिनल्यान्डको जलक्षेत्रमा प्रवेश गरेको थियो। फिनल्यान्डका अधिकारीहरूले उक्त आक्रमण युक्रेनले गरेको हुनसक्ने बताएका छन्।

फिनल्यान्डको रक्षा बलका अनुसार रुसको गोगल्यान्ड टापुको पश्चिममा रहेको अन्तर्राष्ट्रिय जलक्षेत्रमा शनिबार राति उक्त जहाजमाथि आक्रमण भएको हो ।फिनल्यान्डको सेना आगो निभाउन निरन्तर सक्रिय छ ।

तर, जहाजमा लागेको आगो आइतबार दिउँसोसम्म पनि पूर्ण रूपमा नियन्त्रणमा आउन सकेो छैन । । जहाजमा सवार १६ जना चालक दलका सदस्यहरू लाइफबोटमार्फत नजिकैको अर्को रुसी जहाजमा सरेर सुरक्षित रूपमा रुस फर्किएका छन्।

रुसको उत्तरपश्चिमी लेनिनग्राद क्षेत्रमा युक्रेनले ड्रोन आक्रमण तीव्र पारेसँगै नाटो राष्ट्रहरूको सीमामा समेत युद्ध फैलिन सक्ने त्रास बढेको छ।

घटनापछि फिनल्यान्डले पूर्वी गल्फ अफ फिनल्यान्डमा अस्थायी हवाई तथा सामुद्रिक प्रतिबन्ध लगाएको छ। उद्धारमा आउने रुसी सेनाले आफ्नो हवाई क्षेत्र उल्लंघन गर्नसक्ने सम्भावित जोखिमलाई ध्यानमा राख्दै फिनल्यान्डले यस्तो उच्च सतर्कता अपनाएको हो ।

जहाजमा भएको आक्रमणबारे युक्रेनले भने हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

यसअघि आइतबार बिहानै रुसले युक्रेनको राजधानी किभ र आसपासका क्षेत्रमा भीषण ड्रोन आक्रमण गरेको थियो ।

त्यसक्रममा किभ क्षेत्रको एक पाँचतले आवासीय भवन भत्किएको छ। युक्रेनको आपत्कालीन सेवाले कम्तीमा ७ जना बेपत्ता रहेको जनाएको छ। उनीहरु भग्नावशेषमुनि पुरिएको हुनसक्ने अनुमान लगाइएको छ ।

शुक्रबार पोल्यान्डमा युरोपेली देशका सेनाहरूले संयुक्त अभ्यास गरिरहेकै बेला अभ्यास स्थलबाट झन्डै ३५ किलोमिटर पर रुसी क्षेप्यास्त्र र शंकास्पद ड्रोन खसेको थियो।

पोल्यान्डको पीएपी समाचार संस्थाले सार्वजनिक गरेका सीसीटीभी र मोबाइल फोनका दृश्यहरूमा जंगलजस्तो देखिने क्षेत्रमा चम्किलो प्रकाशसहित ठूलो विस्फोट भएको देखिएको छ। पोल्यान्डका प्रधानमन्त्री डोनल्ड टस्कले रुसले युरोपलाई जानाजानी युद्धका लागि उक्साइरहेको आरोप लगाएका छन्।

युक्रेनका अनुसार शुक्रबारको रुसी आक्रमणबाट आवासीय भवन, स्वास्थ्य संस्था, गोदाम र तीनवटा पुलहरूमा क्षति पुगेको छ। साथै, विद्युत् गृह, सबस्टेसन र प्रसारण लाइनहरूमा ठूलो क्षति पुगेपछि युक्रेनका तीनवटै आणविक ऊर्जा केन्द्रहरूले विद्युत् उत्पादन घटाउन बाध्य भएको उपऊर्जामन्त्री आर्टेम नेक्रासोभले जानकारी दिए।

यसका कारण युक्रेनका ११ वटा क्षेत्रमा आपत्कालीन लोडसेडिङ लागू गरिएको छ। यद्यपि, रुसले भने युक्रेनका सैन्य पूर्वाधारलाई मात्र निशाना बनाइएको दाबी गरेको छ।

शान्ति वार्ताको प्रयास र सुरक्षा प्रत्याभूतिमा मतभेद

रुस–युक्रेन युद्ध अन्त्य गर्न अमेरिकाले मध्यस्थताको प्रयास गरिरहेका बेला पछिल्ला आक्रमणहरूले मस्को र युरोपबीचको तनाव थप चर्काएको छ। विश्लेषकहरूका अनुसार आक्रमणको यो शृंखलाले जारी कूटनीतिक वार्तामा प्रतिकूल असर पार्न सक्छ।

यसअघि १० र ११ नोभेम्बरमा अमेरिकाको मध्यस्थतामा रुस र युक्रेनका प्रतिनिधिबीच प्रत्यक्ष वार्ता भएको थियो।

अमेरिकी दूत स्टिभ विट्कोफका अनुसार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनमा आयोजित एपेक शिखर सम्मेलनका क्रममा बिहीबार भएको त्रिपक्षीय वार्तामा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङसँग युक्रेन युद्ध अन्त्य गर्ने विषयमा छलफल गरेका थिए।

उक्त छलफलमा अमेरिकाले युक्रेनलाई नाटो राष्ट्रसरहको सुरक्षा प्रत्याभूति दिइनुपर्ने प्रस्ताव राखेको थियो।

ट्रम्पका सल्लाहकार तथा अर्का अमेरिकी दूत जारेद कुश्नरले सुरुमा यस विषयमा रुस सकारात्मक देखिएको बताएका थिए ।

तर, शुक्रबार रुसी उपविदेशमन्त्री सेर्गेई र्‍याबकोभले त्यसको खण्डन गरेका छन्। रुसी समाचार संस्था इन्टरफ्याक्सका अनुसार युक्रेनलाई नाटोको ‘अर्ध–सदस्यता’ समेत दिन रुस तयार नरहेको र्‍याबकोभले स्पष्ट पारेका छन्।

नाटोका महासचिव मार्क रुटले पोल्यान्डमा भएको घटनालाई उक्त देशको हवाई क्षेत्रको ‘गम्भीर उल्लंघन’ भनेका छन्। सामाजिक सञ्जाल ‘एक्स’ मा लेख्दै रुटले भनेका छन्, 'यो घटना स्पष्ट रूपमा खतरनाक छ। यो युक्रेनविरुद्ध रुसले जारी राखेको युद्धको प्रत्यक्ष परिणाम हो।'

नाटो सन्धिको धारा ५ मा सामूहिक सुरक्षा प्रत्याभूतिको व्यवस्था छ, जसअनुसार कुनै एक सदस्य राष्ट्रमाथिको आक्रमणलाई सबै ३२ सदस्य राष्ट्रमाथिको आक्रमण मानिन्छ।

यद्यपि, धारा ५ स्वतः लागू हुँदैन; यसका लागि सबै सदस्य राष्ट्रहरूको राजनीतिक सहमति आवश्यक पर्छ। यसअघि गत वर्ष पोल्यान्डमा रुसी ड्रोन प्रवेश गर्दा नाटोले सदस्य राष्ट्रबीच आपत्कालीन परामर्श गर्ने ‘धारा ४’ लागू गरेको थियो। यसपटक पनि नाटोसामु सोही विकल्प खुला छ।

पोल्यान्ड घटनाको युरोपेली मुलुकहरूले तीव्र निन्दा गरेका छन्। बेलायती प्रधानमन्त्री एन्डी बर्नहमले यसलाई ‘पूर्ण रूपमा अस्वीकार्य’ भनेका छन् भने युरोपेली परिषद्का अध्यक्ष एन्टोनियो कोस्टाले रुसले धम्कीपूर्ण गतिविधि जारी राखेको टिप्पणी गरेका छन्।

जर्मनीको विदेश मन्त्रालयले यसलाई ‘रुसको निरन्तरको उक्साहटको अर्को उदाहरण’ भनेको छ। यस्तै, युक्रेनी विदेशमन्त्री आन्द्री सिबिहाले रुसी आक्रामकताले सम्पूर्ण युरोप र ट्रान्स–एट्लान्टिक समुदायमाथि निम्त्याएको गम्भीर खतरालाई यस घटनाले उजागर गरेको बताएका छन्।

यसैबीच, शुक्रबार अबेर बेलायतका रक्षा गुप्तचर प्रमुख लेफ्टिनेन्ट जनरल म्याथ्यु जोन्सले रुसले नाटोसँग प्रत्यक्ष युद्ध नचाहेकोमा आफू विश्वस्त रहेको बताएका छन्। तर, क्याम्ब्रिजमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले रुसको ‘लापरबाह व्यवहार’ प्रति चिन्ता व्यक्त गरे।

पोल्यान्डको घटनाको सीधा नाम नलिई उनले भने, 'रुसको लापरबाह व्यवहारका थुप्रै उदाहरणहरू छन्, जहाँ परिस्थिति अलिकति मात्र फरक भइदिएको भए परिणाम अत्यन्तै भयावह हुन सक्थ्यो।'

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1d ago
क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार

क्रिमिया पुल आक्रमणको बदला लिँदै युक्रेनमा रुसको ४०० ड्रोन र ११० मिसाइल प्रहार

४ मंसिर, काठमाडौं । रुसले क्रिमिया पुलमा युक्रेनले गरेको लगातारको आक्रमणको बदला लिएको छ। बिहीबार राति युक्रेनमाथि ४०० भन्दा बढी ड्रोन र ११० भन्दा बढी मिसाइल प्रहार गरिएको छ। यो आक्रमणमा ८ जनाको मृत्यु भएको …

#आक्रमण #रुस #ड्रोन
Compare →
Hamro Patro News
2d ago
रुसी आक्रमणमा किएभका तीन पुलमा क्षति, युक्रेनमा आठ जनाको मृत्यु

रुसी आक्रमणमा किएभका तीन पुलमा क्षति, युक्रेनमा आठ जनाको मृत्यु

रुसले युक्रेनका विभिन्न सहरमा रातभर गरेको ठूलो क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ। आक्रमणका क्रममा राजधानी किएभका नीपर नदीमाथिका तीनवटा महत्त्वपूर्ण पुलमा क्षति पुगेको ...

#आक्रमण #रुस #रुसी
Compare →
Nagarik News
2d ago
रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसको भीषण क्षेप्यास्त्र आक्रमणः किएभका तीन पुलमा क्षति, आठ जनाको मृ'त्यु

रुसले युक्रेनका विभिन्न सहरलाई लक्षित गरी रातभर गरेको भीषण क्षेप्यास्त्र तथा ड्रोन आक्रमणमा कम्तीमा आठ जनाको मृत्यु भएको छ।

#आक्रमण #रुस
Compare →
Bizshala
4d ago
ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

ट्याङ्करमाथि आक्रमण र अमेरिकी भण्डार घट्ने अनुमानले बढ्यो तेलको मूल्य

काठमाडौँ । मध्यपूर्वमा तेल ट्याङ्करमाथि आक्रमण जारी रहनु र अमेरिकी कच्चा तेलको भण्डार घट्ने अपेक्षाले मंगलबार...

#आक्रमण
Compare →

Related Stories

World News
Build #2612