रुसले युक्रेनको राजधानी किभमा पुल र रेलवे स्टेसनलाई निशाना बनाउँदै रातभर ठूलो स्तरमा आक्रमण गरेको छ । आक्रमणमा ब्यालिस्टिक क्षेप्यास्त्रसमेत प्रयोग गरिएको थियो ।
युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसलाई युद्ध सुरु भएयताकै सबैभन्दा ठूलो आक्रमणमध्ये एक बताएका छन् । आक्रमणमा कम्तीमा ९ जनाको मृत्यु भएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले यसअघि क्राइमिया पुलमा भएको आक्रमणको बदला लिने चेतावनी दिएका थिए । उक्त पुल रुसले क्राइमिया प्रायद्वीपलाई आफ्नो मुख्य भूभागसँग जोड्न निर्माण गरेको हो ।
रुसको पछिल्लो आक्रमण यस्तो समयमा भएको छ, जतिबेला युद्ध अन्त्य गर्ने विषयमा विभिन्न तहमा वार्ता भइरहेको छ । यसैबीच, युक्रेनलाई पश्चिमा मुलुकको समर्थनमा सुरक्षा प्रत्याभूति दिने विषयमा रुस सहमत हुन सक्ने अमेरिकी दाबीलाई मस्कोले अस्वीकार गरेको छ ।
जेलेन्स्कीका अनुसार रुसले रातभर युक्रेनका विभिन्न सहर र क्षेत्रमा आक्रमण गरेको थियो । आक्रमणमा आवासीय भवन तथा ऊर्जा पूर्वाधारलाई समेत निशाना बनाइएको थियो । रातभर हवाई आक्रमणको चेतावनी जारी गरिएको थियो भने बिहानसम्म पनि साइरन बजिरहेका थिए ।
उनका अनुसार रुसले ११० भन्दा बढी क्षेप्यास्त्र र ४०० भन्दा बढी ड्रोन प्रहार गरेको थियो ।
रुसले २० देखि ३० मिनेटको अन्तरालमा पटकपटक आक्रमण गरेको जेलेन्स्कीले बताएका छन् । उनका अनुसार यो निकै खतरनाक रणनीति थियो । यसले आगो निभाउन, भग्नावशेष हटाउन र अत्यावश्यक सेवा पुन: सञ्चालन गर्न थप कठिन बनाएको थियो ।