बलिउडमा केही अभिनेत्री यस्ता छन्, जसको सुन्दरता र आकर्षणको चर्चा फिल्मी पर्दामा मात्र सीमित हुँदैन । उमेर बढ्दै जाँदा पनि उनीहरूको व्यक्तित्व र आत्मविश्वासमा कमी आउँदैन ।
ती अभिनेत्रीमध्ये एक हुन्, माधुरी दीक्षित ।
५९ वर्ष पुगिसक्दा पनि माधुरीको सुन्दरतामा कुनै कमी आएको छैन । बरु, उनको मुस्कान र प्रस्तुतिले आज पनि प्रशंसकको ध्यान खिच्ने गरेको छ ।
पछिल्लो पटक उनले सार्वजनिक गरेका तस्वीर पनि यही कुरालाई फेरि चर्चामा ल्याएका छन् ।
यसपटक माधुरी बैजनी रङको आकर्षक अनारकली पहिरनमा देखिएकी छिन् । सुनौलो बुट्टाले सजिएको उनको पहिरन पहिलो नजरमै आकर्षक देखिन्छ ।
छातीको भागमा गरिएको बाक्लो कढाइ, बाहुलामा रहेको सुनौलो डिजाइन र अनारकलीको तल्लो घेरमा राखिएको चौडा बोर्डरले पहिरनलाई राजसी रूप दिएको छ ।
त्यसमाथि मिल्दो सल, ठूला सुनौला झुम्का र निधारमा सानो बिन्दी । खुला कपाल र हल्का मेकअपमा सजिएकी माधुरीको मुस्कानले तस्बिरलाई अझ सुन्दर बनाएको छ ।
उनले तस्वीर सार्वजनिक गर्दै लेखेकी छन्, ‘एन इभनिङ इन फुल ब्लुम’ । तस्वीरमा उनी कहिले मुस्कुराउँदै क्यामेरातिर हेरिरहेकी छन्, त कहिले अनारकलीको घेर फैलाउँदै फरक पोज दिइरहेकी छन् ।
माधुरीका यी तस्वीर हेर्दा एउटा कुरा भन्न सकिन्छ, सुन्दरता उमेरको अंकमा मात्र कहाँ सीमित हुन्छ, र ! ९० को दशकमा पर्दामा देखिएको उनको मुस्कानको जादु आज पनि उस्तै छ ।