प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नदिइएको भन्दै समाजले दूतावास तथा सरकारप्रति असन्तुष्टि जनाएको छ ।
नयाँदिल्ली (भारत) — प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणका क्रममा प्रवासी नेपालीका समस्या र माग राख्ने अवसर नपाएको भन्दै मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले असन्तुष्टि जनाएको छ ।
समाजका पूर्वअध्यक्ष ठाकुर खनालले विगतमा नेपालका प्रधानमन्त्री तथा उच्च राजनीतिक नेतृत्व भारत भ्रमणमा आउँदा नेपाली दूतावासले प्रवासी नेपालीका प्रतिनिधिसँग भेटघाटको व्यवस्था मिलाउने गरे पनि यसपटक त्यस्तो अवसर नदिइएको बताए ।
दूतावाससँग पटक–पटक सम्पर्क गर्दा प्रधानमन्त्रीले प्रवासी नेपालीसँग भेटघाट तथा भोजभतेरको कार्यक्रम आवश्यक नरहेको जानकारी गराएको खनालको भनाइ छ । उनले प्रवासी नेपालीले आफ्ना समस्या र माग प्रधानमन्त्रीसमक्ष राख्न पाउने परम्परा तोडिएको भन्दै असन्तुष्टि व्यक्त गरे । खनालले भारतमा रहेका नेपालीको प्रमुख समस्या पहिचान र आधार कार्ड प्राप्तिसँग जोडिएको बताए ।
खनालले सन् १९५० को नेपाल–भारत शान्ति तथा मैत्री सन्धिले नेपालीलाई भारतमा आवागमन, रोजगारी, पेशा, व्यापार तथा सम्पती खरिदबिक्रीमा दिएको सुविधाको व्यवहारमै कार्यान्वयन हुनुपर्नेमा जोड दिए । उनले प्रवासी नेपालीले पठाउने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो योगदान पुर्याए पनि उनीहरू मतदानको अधिकारबाट वञ्चित रहेको उल्लेख गर्दै विदेशमा रहेका नेपालीको मताधिकार र समानुपातिक प्रतिनिधित्व सुनिश्चित गर्न माग गरे ।
समाजले यसअघि सार्वजनिक गरेको मागपत्रमा भारतमा नेपालीले भोगिरहेका शैक्षिक तथा स्वास्थ्य सेवामा अतिरिक्त शुल्क, रोजगारीमा विभेद, यात्रा तथा सीमा नाकामा लुटपाट र प्रशासनिक दुर्व्यवहारका घटना रोक्न पनि सरकारसँग पहल गर्न आग्रह गरेको छ । उनले प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटेर माग राख्ने प्रयास सफल नभए पनि पत्रकारमार्फत आफ्ना विषय सार्वजनिक गरी सरकारको ध्यानाकर्षण गराउन खोजिएको बताए ।