बैंकर भन्छन्– ‘ऋणीहरूले अब कि धितो थप्नुपर्छ कि कर्जा घटाउनुपर्छ’
काठमाडौँ — मूल्यमा ठूलो अंकको गिरावटपछि सुनचाँदी धितो राखेर ऋण लिएकाहरूमाथि दबाब बढेको छ । ऋणीहरूले अब या धितो बढाउनुपर्ने या कर्जा रकम नै घटाउनुपर्ने अवस्था सिर्जना भएको बैंकहरूले बताएका छन् ।
‘धितोको मूल्य घटेपछि बैंकहरूले धितो थप्न लगाउने वा कर्जा रकम घटाउन लगाउने नै हो,’ गुडविल फाइनान्सका प्रमुख कार्यकारी अधिकृत सरोजकाजी तुलाधरले भने । बैंक तथा वित्तीय संस्थाहरूले सुनको धितोमा कर्जा दिन निश्चित नीति छैन । बैंकहरूले धितो लिएको समयको मूल्यका आधारमा ८० प्रतिशतसम्म कर्जा दिने गरेको उनी बताउँछन् ।
राष्ट्र बैंकले केही वर्षअघि सुनलाई निक्षेपका रूपमा स्वीकार गर्न सक्ने व्यवस्थासमेत गरेको छ । यसरी बैंकहरूले निक्षेपका रूपमा सुन स्विकार्दा भने त्यसैका आधारमा कर्जासमेत दिन सक्ने व्यवस्था गरेको छ । यसरी निक्षेपका रूपमा स्विकारेको सुनको मूल्यको ७० प्रतिशत बराबर मात्रै कर्जा दिन सकिने व्यवस्था गरिएको छ । यस्तो कर्जामा भने निक्षेप स्विकार्दा ग्राहकलाई दिएको ब्याजदरभन्दा २ प्रतिशत थप ब्याज बैंकले लिन सक्ने व्यवस्था गरिएको छ । तर बैंकहरूले यो कर्जा योजना भने सुरु गरेका छैनन् ।
चालु आर्थिक वर्ष २०८३/८४ को असोजसम्ममा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा एक खर्ब २९ अर्ब ९६ करोड रुपैयाँ कर्जा लगानी गरेको नेपाल राष्ट्र बैंकको तथ्यांक छ । गत आर्थिक वर्षको यही अवधिको तुलनामा यो ०.१५ प्रतिशत कम हो । त्यति बेला बैंक तथा वित्तीय संस्थाले एक खर्ब ३० अर्ब १६ करोड रुपैयाँ बराबरको कर्जा लगानी गरेका थिए ।
यस्तो धितोमा सबैभन्दा धेरै कर्जा लगानी नेपाल बैंकबाट भएको छ । बैंकले ५५ अर्ब ९३ करोड रुपैयाँ बराबर कर्जा लगानी गरेको छ । पछिल्लो १० महिनामा सुनको मूल्य प्रतितोला ९७ हजार रुपैयाँसम्मले घटेको छ । गत माघमा घरेलु बजारमा सुनको मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो ।
कसैले मूल्य उच्च भएको समयमा बैंकमा सुन धितो राखेर कर्जा लिएको हुन्थ्यो भने उसले प्रतितोला दुई लाख ७१ हजार रुपैयाँ बराबर कर्जा पाउन सक्थ्यो । यो धितो मूल्यको ८० प्रतिशतलाई आधार मान्दा आउने रकम हो । तर आइतबार सुनको मूल्य प्रतितोला २ लाख ४२ हजार ६ सय रुपैयाँ कायम भएको छ । यस आधारमा अब त्यही एक तोला सुनमा ऋणीले एक लाख ९४ हजार रुपैयाँ मात्रै कर्जा पाउँछन् । यस्तो अवस्थामा ऋणीले या प्रतितोला ७७ हजार रुपैयाँ बराबरको धितो थप्नुपर्छ वा सोही बराबर रकम तिरेर कर्जा घटाउनुपर्छ ।
गएको माघयता चाँदीको मूल्य पनि तोलामा करिब ५९ प्रतिशतले घटेको छ । त्यति बेला प्रतितोला ७ हजार ५ सय ५ रुपैयाँमा चाँदीको कारोबार भएकामा अहिले ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
सुनचाँदीको मूल्य नेपाली बजारको ‘माग र अपूर्ति’ का आधारमा घटबढ हुँदैन । अन्तर्राष्ट्रिय बजारमा हुने फेरबदलका आधारमा सुनचाँदी व्यवसायीका छाता संगठनहरूले मूल्य तोक्ने गर्छन् । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा डलर बलियो बन्दै गएको, अमेरिकी केन्द्रीय बैंक फेडले नीतिगत ब्याजदर बढाउने सम्भावना रहेको, विश्व सेयर बजार ओरालो लागेकोलगायत कारणले सुनचाँदीको मूल्य तीव्र दरमा ओरालो लागिरहेको छ ।
अन्तर्राष्ट्रिय बजारमा गत जनवरीमा सुन प्रतिऔंस ५ हजार ५ सय ९४ डलरसम्ममा कारोबार भएको थियो । अहिले ३ हजार ५ सय २४ डलरमा कारोबार भइरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । चाँदीको मूल्य पनि प्रतिऔंस १ सय २१ डलरसम्म पुगेकामा अहिले ४१ डलर हाराहारी छ ।
विजयराज खनाल कान्तिपुर मिडिया ग्रुपको आर्थिक व्युरोमा काम गर्छन् । उनी सेयर बजार र बैंक र लगानीका बिषयमा रुची राख्छन् ।