Trending
Prev Story
Next Story

सुनचाँदीको मूल्य किन घटिरहेको छ, अझै कतिसम्म झर्ला ?

Onlinekhabar •
November 20, 2026 • 11:30 AM
2
2 reads 0 reactions

४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य यतिबेला १४ महिनायताकै न्यून बिन्दुमा झरेको छ । गत वर्षको माघ १५ गते कारोबारका क्रममा प्रतिऔंस ५५९० अमेरिकी डलरसम्म पुगेको सुन हाल ३५५० हाराहारीमा छ। यता नेपालको बजारमा …

सुनचाँदीको मूल्य किन घटिरहेको छ, अझै कतिसम्म झर्ला ?

४ मंसिर, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य यतिबेला १४ महिनायताकै न्यून बिन्दुमा झरेको छ । गत वर्षको माघ १५ गते कारोबारका क्रममा प्रतिऔंस ५५९० अमेरिकी डलरसम्म पुगेको सुन हाल ३५५० हाराहारीमा छ।

यता नेपालको बजारमा गत वर्षको माघ १५ गते नै रेकर्ड मूल्य प्रतितोला ३ लाख ३९ हजार ३ सय रुपैयाँ पुगेको सुन हाल २ लाख ४५ हजार २ सय रुपैयाँमा झरेको छ । यो अवधिमा सुनको मूल्य तोलामा ९४ हजार रुपैयाँ घटिसकेको छ ।

करिब १० महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा उच्च मूल्यबाट सुन ३६ प्रतिशत घटेको छ भने नेपाली बजारमा २७.७ प्रतिशत घटेको छ । अमेरिकी डलरको मूल्यवृद्धि तथा बजेटमार्फत भन्सार दर १० बाट २० प्रतिशत पुर्‍याइँदा अन्तर्राष्ट्रिय बजारको तुलनामा नेपाली बजारमा मूल्य कम घटेको देखिन्छ ।

चाँदीको अवस्था झन् कमजोर छ । माघ १५ गते नेपालमा प्रतितोला ७ हजार ५ सय रुपैयाँ पुगेको चाँदी हाल आधाभन्दा धेरै घटेर ३ हजार ११० रुपैयाँमा झरेको छ । यहीं अवधिमा अन्तर्राष्ट्रिय बजारमा चाँदी प्रतिऔंस १२१ अमेरिकी डलरबाट ४२ मा झरेको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मागभन्दा आपूर्ति बढेपछि मूल्य घटेको व्यवसायी बताउँछन् । नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले यतिबेला अमेरिकाको महँगीदर र ब्याजदर थप बढ्ने चर्चाले सुनको मूल्यमा दबाब परेको बताए । ‘यसअघि मूल्य अत्याधिक बढेको थियो, बढेपछि घट्नु स्वभाविक नै हो, तर यही बेला अमेरिकामा ब्याजदर बढ्ने चर्चाले मूल्य थप घटायो’ उनले भने ।

अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भको आगामी डिसेम्बर ८ र ९ मा बस्ने बैठकले ब्याजदर बढाउने छ ।

अमेरिकामा मुद्रास्फीति अपेक्षाअनुसार नियन्त्रणमा नआएपछि फेडले डिसेम्बरमा ब्याजदर बढाउन लागेको हो । रोयटर्सका अनुसार डिसेम्बरमा फेडले ०.२५ प्रतिशत बिन्दुले ब्याजदर बढाउने सम्भावना ९६.८ प्रतिशत र ०.५० प्रतिशत विन्दुले बढाउने सम्भावना ३.२ प्रतिशत छ । डिसेम्बरमा मात्रै होइन, त्यसपछि पनि ब्याजदर बढ्ने सम्भावना बलियो नै रहेकाले सुनको मूल्यमा अत्याधिक दबाब परेको रोयटर्सले उल्लेख गरेको छ ।

‘डिसेम्बरपछि तय हुने ब्याजदरमा अमेरिकाको मुद्रास्फीति, रोजगारी र आर्थिक वृद्धिको तथ्यांक निर्णायक हुनेछन्’ रोयटर्सले उल्लेख गरेको छ । ब्याजदर बढ्दा बैंक निक्षेप तथा अमेरिकी सरकारी ऋणपत्रजस्ता प्रतिफल दिने वित्तीय उपकरणमा लगानी आकर्षण बढ्न जान्छ ।

जबकि सुनले लगानीकर्तालाई ब्याज वा नियमित प्रतिफल दिँदैन । त्यसैले ब्याजदर बढ्ने अपेक्षाले सुनमा लगानी गर्नुको सट्टा अन्य वित्तीय उपकरणतर्फ लगानीकर्ता आकर्षित हुने गरेका छन् ।

यससँगै प्रविधि कम्पनीका सेयरमा आएको गिरावटका कारण अन्य लगानीमा भएको घाटा पूर्ति गर्न लगानीकर्ताले सुन बेचेर नगद जुटाउन थालेको विश्लेषण गरिएको छ ।

रोयटर्ससँगको कुराकानीमा एमकेएस प्याम्पकी निक्की सिल्सले छोटो अवधिमा सुनलाई नगद जुटाउने सम्पत्तिका रूपमा हेरिने बताएकी छन् । उनको भनाइमा बजारमा तरलताको आवश्यकता पर्दा लगानीकर्ताले सुन बेच्न सक्छन् । यसले सुनको मूल्यमा थप दबाब सिर्जना गरेको छ ।

यतिबेला नेपाली बजारमा सुनको मूल्य घटे पनि चरम अभाव रहेको व्यवसायी बताउँछन् । व्यवसायी शाक्यका अनुसार बैंकहरूले अहिले सुन ल्याएकै छैनन् । ‘मूल्य घटिरहेकाले बैंकहरूले थप जोखिम नलिएको हुन सक्छ’ शाक्यले भने ‘बैंकहरूले अहिले सुन दिएकै छैनन्, ल्याएका पनि छैनन् ।’

आफूहरूले सुन नपाउँदा पसल नै बन्द गरेर बस्नुपर्ने अवस्था आएको उनले बताए । ‘एकातिर बिहेको सिजन सुरु भएको छ, अर्कोतिर मूल्य घटेकाले किन्न आउनेको चाप छ, तर दिन सकिएको छैन’ उनले भने ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार हाल सुनको मौज्दात सकिएको छ । ‘अहिले करिब ५.५ केजी मात्रै सुन मौज्दात छ’ एसोसिएसनका एक अधिकारीले भने ‘आगामी सोमबार १ सय केजी सुन आउँदैछ ।’ आगामी सोमबार आउने १ सय केजी सुनको व्यवसायीको माग पूरा हुने एसोसिएसनको दाबी छ ।

तर त्यति मागले नपुग्ने व्यवसायी बताउँछन् । हाल व्यवसायीले पनि आफूसँग भएको सुन बेच्न नचाहेको शाक्यले बताए । ‘कतिपय व्यवसायीले यसअघि खरिद गरेको मूल्य महँगो परेकाले हालको मूल्यमा सुन बेच्न चाहेका छैनन्, यसले पनि अभाव देखिएको हुन सक्छ’ उनले भने ।

मूल्य बढ्दै गएको अवस्थामा भने व्यवसायीले एकअर्कालाई पनि सुन आवश्यक परेका बेला केही नाफा लिएर बेच्ने गर्दछन् । तर मूल्य घट्दै गएको अवस्थामा आफूहरुसँग भएको सुन पनि उपभोक्तालाई दिन नसक्ने अवस्था रहने गरेको व्यवसायी बताउँछन् ।

‘यसअघि प्रतितोला २ लाख ८० हजार आफ्नो लागत परेको छ भने त्यो सुन आजको मूल्यमा उपभोक्तालाई दिँदा प्रतितोला ३५ हजार नोक्सानी ब्यहोर्नुपर्ने हुन्छ’ शाक्यले भने ‘सस्तो मूल्य हुँदा हामीले पाएका छैनौं ।’

शाक्यका अनुसार अन्तर्राष्ट्रिय विश्लेषकहरूकै भनाइलाई व्यवसायीले मूल्य अनुमानको आधार बनाउँदै आएका छन् । सुनको मूल्य घट्ने क्रम जारी रहँदा विश्लेषकहरूले आगामी दिनमा मूल्यले समात्न सक्ने सम्भावित तल्लो विन्दु पनि औँल्याउन थालेका छन् ।

सिंगापुरको स्ट्रेट्स टाइम्समा नोभेम्बर २० मा प्रकाशित समाचारअनुसार ग्लोबल एक्स ईटीएफका रणनीतिकार जस्टिन लिनले सुनको मूल्य अहिले निकै कमजोर अवस्थामा रहेको बताएका छन् ।

उनले सुनको मूल्यमा तत्काल बलियो प्राविधिक समर्थन देखिने बिन्दु प्रतिऔंस ३,३०० अमेरिकी डलर देखि ३,४०० रहेको बताएका छन् । यो भनेको अझै ७ प्रतिशत (प्रतितोला १७ हजार रुपैयाँ) सम्मको कमी हो । यद्यपि यो प्राविधिक विश्लेषणमा आधारित अनुमान हो ।

विश्व बैंकले सुनको मूल्यमा आगामी दुई वर्ष केही दबाब रहने प्रक्षेपण गरेको छ । बैंकको नयाँ प्रक्षेपणअनुसार सन् २०२७ मा सुनको औसत मूल्य प्रतिऔंस ४ हजार २५० डलर र सन् २०२८ मा ४ हजार डलर रहने अनुमान छ ।

यद्यपि सबै विश्लेषकको दृष्टिकोण नकारात्मक छैन । यूबीएसले सन् २०२६ को अन्त्यसम्म सुनको मूल्य ४ हजार ५०० डलर र सन् २०२७ को अन्त्यसम्म ५ हजार डलर पुग्ने प्रक्षेपण कायम राखेको छ । यूबीएसकी बहुमूल्य धातु रणनीतिकार जोनी टिभ्सले तत्कालीन कमजोरीका बाबजुद दीर्घकालीन सम्भावना सकारात्मक रहेको बताएकी छन् ।

छोटो अवधिमा ब्याजदर र डलरको दबाबले सुनको मूल्य थप घट्न सक्ने विश्लेषण भइरहे पनि दीर्घकालमा केन्द्रीय बैंकको खरिद, भूराजनीतिक तनाव र लगानी पोर्टफोलियो विविधीकरणको मागले सुनलाई पुनः बलियो बनाउन सक्ने विश्लेषकहरूको भनाइ छ ।

केन्द्रीय बैंकहरूले खरिद कि बिक्री गरिरहेका छन् ?

केन्द्रीय बैंकहरूले विदेशी मुद्रा सञ्चितिमा विविधीकरण गर्न, अमेरिकी डलरमाथिको निर्भरता कम गर्न, भूराजनीतिक जोखिमबाट सञ्चितिलाई सुरक्षित राख्न र दीर्घकालीन वित्तीय स्थिरता कायम गर्न सुन मौज्दात गरेका हुन्छन् ।

सुनको सबैभन्दा धेरै माग र आपूर्ति केन्द्रीय बैंकहरूमार्फत नै हुने गर्छ । केन्द्रीय बैंकहरूको माग र आपूर्ति पक्ष सन्तुलित भएमा सुनको मूल्यलाई स्थिरता दिन्छ । त्यसैले सुनको मूल्यमा केन्द्रीय बैंकहरूको खरिद तथा बिक्रीले मुख्य प्रभाव पारेको हुन्छ ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घटिरहँदा पनि विश्वका केन्द्रीय बैंकहरूले भने सुन खरिद गर्ने क्रमलाई रोकेका छैनन् । व्यक्तिगत तथा संस्थागत लगानीकर्ताले छोटो अवधिको मूल्य उतारचढावलाई हेरेर कारोबार गरिरहेका बेला केन्द्रीय बैंकहरूले भने दीर्घकालीन सञ्चिति व्यवस्थापनलाई प्राथमिकता दिइरहेका छन् ।

वल्र्ड गोल्ड काउन्सिलको नोभेम्बर ३ मा सार्वजनिक तेस्रो त्रैमासिक प्रतिवेदनअनुसार सन् २०२६ को तेस्रो त्रैमासमा विश्वका केन्द्रीय बैंक तथा सरकारी संस्थाहरूले ३२१ टन सुन थप खरिद गरेका छन् । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ४२ प्रतिशत बढी हो ।

यससँगै सन् २०२६ को जनवरीदेखि सेप्टेम्बरसम्म केन्द्रीय बैंकहरूको खुद सुन खरिद ६७५ टन पुगेको काउन्सिलले जनाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६ प्रतिशत बढी हो ।

विशेषगरी पोल्यान्ड र चीन केन्द्रीय बैंकको सुन खरिदमा अगाडि देखिएका छन् । काउन्सिलका अनुसार सन् २०२६ को सेप्टेम्बरमा मात्रै केन्द्रीय बैंकहरूले खुद ६१ टन सुन खरिद गरेका थिए । जुन परिमाण २०२६ को एक महिनामा भएको सबैभन्दा ठूलो खरिद हो ।

पोल्यान्ड र चीनसँगै उज्बेकिस्तान, काजकिस्तान, जोर्डन, चेक गणतन्त्र र बोलिभियाले पनि सुनको सञ्चिति बढाएका छन् । रोयटर्सका अनुसार सन् २०२४ देखि २०२६ सम्म सुन खरिद गर्ने केन्द्रीय बैंकमध्ये पोल्यान्ड सबैभन्दा ठूलो खरिदकर्ता रहँदै आएको छ ।

यसबाट केन्द्रीय बैंकहरूले मूल्य घटेको अवस्थामा पनि सुनलाई आफ्नो विदेशी मुद्रा सञ्चितिको महत्त्वपूर्ण हिस्सा बनाइरहेको देखिन्छ ।

चाँदीको मूल्यमा किन झन् बढी गिरावट ?

सुनसँगै चाँदीको मूल्यमा पनि ठूलो गिरावट आएको छ । तर चाँदीको गिरावट सुनको तुलनामा अझ तीव्र देखिएको छ । यसको प्रमुख कारण चाँदी बहुमूल्य धातु हुनुका साथै औद्योगिक उत्पादनमा समेत ठूलो मात्रामा प्रयोग हुनु हो ।

अन्तर्राष्ट्रिय बजारमा हाल चाँदीको मूल्य प्रतिऔंस करिब ४२ डलरमा झरेको छ । सन् २०२६ को जनवरीमा प्रतिऔंस १२१.६ डलरसम्म पुगेको चाँदीको मूल्य त्यसयता करिब ६५ प्रतिशत घटिसकेको छ ।

विशेषगरी सौर्य ऊर्जा उत्पादनमा प्रयोग हुने ‘फोटोभोल्टिक सेल’मा चाँदीको खपत घटाउने प्रयास भइरहेको छ । चाँदीको मूल्य अत्यधिक बढेपछि उत्पादकहरूले यसको प्रयोग कम गर्ने प्रविधि अपनाउन थालेका छन् । कतिपयले तामाजस्ता विकल्प प्रयोग गर्ने प्रयाससमेत गरिरहेका छन् ।

रोयटर्सका अनुसार मेटल्स फोकस र सिल्भर इन्स्टिच्युटले गरेको अध्ययनले सन् २०२६ मा विश्वको कुल चाँदीको माग अघिल्लो वर्षको तुलनामा ५ प्रतिशत घटेर १ अर्ब ८ करोड औंसमा सीमित हुने अनुमान छ ।

यस अवधिमा औद्योगिक माग ३ प्रतिशत घट्ने, चाँदीका गरगहनाको माग २२ प्रतिशत र चाँदीका भाँडाकुँडाको माग १७ प्रतिशत घट्ने अनुमान छ ।

अनलाइनखबर डटकमको आर्थिक ब्युरोमा कार्यरत नेपाल धितोपत्र बजार विषयमा रिपोर्टिङ गर्छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
20h ago
सुनचाँदीको मूल्य घटेर कतिसम्म आइपुग्ला ? यस्तो छ अन्तर्राष्ट्रिय विज्ञको ताजा प्रक्षेपण

सुनचाँदीको मूल्य घटेर कतिसम्म आइपुग्ला ? यस्तो छ अन्तर्राष्ट्रिय विज्ञको ताजा प्रक्षेपण

काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १४ महिनायताकै न्यून बिन्दुमा पुगेपछि अब गिरावट कहाँ थामिएला भन्ने प्रश्न...

#सुनचाँदी #सुन #कतिसम्म
Compare →
Arthasansar
1d ago
सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

सुनचाँदीको मूल्य घट्ने क्रम जारी, तोलाको कति पुग्यो ?

नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । अघिल्लो दिन पनि घटेको सुनचाँदीको मूल्य आज पनि घटेर कारोबार भएको...

#सुनचाँदी #सुन
Compare →
Hamro Patro News
5h ago
सुनको मूल्य एकैदिन १२ हजारभन्दा बढीले घट्यो, चाँदी पनि सस्तियो

सुनको मूल्य एकैदिन १२ हजारभन्दा बढीले घट्यो, चाँदी पनि सस्तियो

काठमाडौँ । नेपाली बजारमा सुनचाँदीको मूल्यमा उल्लेख्य गिरावट आएको छ। शुक्रबार सुन प्रतितोला १२ हजार २०० रुपैयाँले घट्दा चाँदीको मूल्य पनि २२५ रुपैयाँले ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्...

#सुनचाँदी #सुन
Compare →
Nagarik News
1d ago
तीन हजार तीन सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

तीन हजार तीन सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

नेपाली सुनचाँदी बजारमा बिहीबार पनि सुन र चाँदी दुबैको मूल्य घटेको छ।

#सुनचाँदी #सुन
Compare →

Related Stories

National (Nepal)
Build #2612